विश्वकप क्रिकेट : आज श्रीलंकाले दक्षिण अफ्रिकाको सामना गर्ने

आजको खबर   |    प्रकाशित : २०७६ असार १३ गते ५:३०

एजेन्सी । इंग्ल्याण्डमा जारी विश्वकपको ३५ औं म्याच अन्तर्गत आज श्रीलंकाले दक्षिण अफ्रिकाको सामना गर्दैछ । चेष्टर–ले–स्ट्रिटको रिभरसाइड ग्राउण्डमा हुने खेल नेपाली समयअनुसार दिउसो ३ः१५ मा सुरु हुनेछ।

आज हुने खेलमा श्रीलंकाले दक्षिण अफ्रिकालाई जित्नै पर्ने देखिएको छ। जारी विश्वकपमा श्रीलंका सेमिफाइनलमा स्थान बनाउन संघर्षरत रहेको छ भने दक्षिण अफ्रिका यसअघि नै उपाधि होडबाट बाहिरिने निश्चित भइसकेको छ । दक्षिण अफ्रिकासँग पराजित भए श्रीलंकाको सेमिफाइनलमा पुग्ने सम्भावना अत्यन्तै कम हुनेछ ।

हालसम्म ६ खेल खेलेको श्रीलंकाले दुई जित र दुई हारको नतिजा निकालेको छ । श्रीलंकाको दुई खेल वर्षाका कारण रद्द भएको थियो । सात खेल खेलिसकेको दक्षिण अफ्रिकाले भने एक जित र पाँच हारको नतिजा निकालेको छ । दक्षिण अफ्रिकाको पनि एक खेल वर्षाका कारण रद्द भएको थियो ।

यी दुई टोलीबीच हालसम्म खेलिएको एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिताको नतिजालाई हेर्ने हो भने दक्षिण अफ्रिकालाई बलियो देखाउँछ । यी दुई टोलीबीच हालसम्म ७६ एकदिवसीय खेल भएको छ । ४३ खेलमा दक्षिण अफ्रिका विजयी भएको छ भने श्रीलंकाले ३१ खेलको नतिजालाई आफ्नो पक्षमा पारेको छ । एक खेल बराबरी र एक खेल अनिर्णित रूपमा सकिएको छ ।

यसैगरी यसअघिका विश्वकपमा खेलिएको खेलको नतिजाले पनि श्रीलंकाको तुलनामा दक्षिण अफ्रिकालाई नै केही बलियो देखाउँछ । यी दुई टोलीबीच हालसम्म विश्वकपमा पाँच खेल खेलिएको छ । तीन खेलमा दक्षिण अफ्रिका विजयी भएको छ भने श्रीलंकाले एक खेलमात्र जित्न सकेको छ । एक खेल भने बराबरीमा सकिएको छ ।

श्रीलंका सन् १९७५ को पहिलो संस्करण र दक्षिण अफ्रिका सन् १९९२ को पाँचौं संस्करणदेखि विश्वकपमा सहभागी हुँदै आएका टोली हुन् । श्रीलंका सन् १९९६ को विश्वकप विजेता टोली हो भने दक्षिण अफ्रिका विश्वकपमा सेमिफाइनलभन्दा अगाडि बढ्न सकेको छैन ।

२०७६ असार १३ गते ५:३० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर