सिरिन्ज आक्रमणः सन्तोष कार्की पक्राउ परेसँगै उठेका गम्भीर र डरलाग्दा प्रश्न

आजको खबर   |    प्रकाशित : २०७६ असार १३ गते ५:५२

काठमाडौं। पछिल्लो केही समययता काठमाडौंको ढल्कु र पकनाजोल क्षेत्रको घटनाले एकाएक सडक सदन र सामाजिक सन्जाल तात्यो। त्यो घटना हो, रातिको करिब एउटै समयमा महिलामाथि हुने श्रृखलावद्ध शंकास्पद सिरिञ्ज आक्रमण।

कुनै एकजना व्यक्ति मोटरसाइकलमा आउने अनि धारिलो वस्तुले शरीरमा घोचेर भाग्ने गरेको उजुरीहरु प्रहरीकोमा एकाएक आए। त्यो आक्रमण रोग सार्ने नियतले गरिएको थियो अथवा अन्य कुनै कारण अझैसम्म पुष्टि भएको भने छैन। रोग सार्ने नियतले आक्रमण गरेको हुनसक्ने आशंकामा पीडित महिलाहरुलाई एचआईभीविरुद्धको एआरटी औषधि चलाइएको छ भने हेपाटइटिसविरुद्ध भ्याक्सिन पनि दिइएको छ।

त्यो आक्रमण कसले र कुन नियतले गर्याे भन्ने कुराले यतिबेला सामाजिक सञ्जालहरुमा अनेक टिकाटिप्पणीहरु भइरहेका छन्। यसैबीच आक्रमणमा संलग्न रहेको आरोपमा प्रहरीले सन्तोष कार्कीलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर टेकुको हिरासतमा भएका कार्कीले ढल्कु र पकनाजोल क्षेत्रको घटनामा आफ्नो संलग्नता स्वीकार गरेका छन् ।

तर उनले प्रहरीलाई बयान दिने क्रममा आफूले सिरिन्ज हानेको नभई ढलानको काँटीले घोचेको कुरा बताएका छन् । कार्कीले सिरिञ्ज नै आक्रमण गरेका हुन या अरु नै केही बस्तु हो भन्नेबारे पनि प्रहरीले अनुसन्धान थालेको छ। प्रहरीका अनुसार उनले किन सिरिञ्ज आक्रमण गरे भन्नेबारे केही नखुलेको र अनुसन्धान प्रक्रिया अगाडि बढिरहेको छ।

प्रहरी स्रोतका अनुसार कार्कीले रमाइलोको लागि यसरी आक्रमण गरेका हुन्। प्रहरीलाई दिएको बयानमा उनले यसै भनेको प्रहरी स्रोत बताउँछ । यदि कार्कीले रमाइलोकै लागि यस्तो गरेका हुन् भने के उनी मानसिक रोगी हुन् ? भन्ने प्रश्न पनि यतिबेला उठेको छ । उनी अरुलाई दुःख दिएर खुसी हुने ‘साइको’ हुन् त ? किनकि ‘साइको’हरुको अपराधको शैली यस्तै हुन्छ । उनीहरु केही कुरामा समानता हुने व्यक्तिहरुमाथि उस्तै समय पारेर उस्तै किसिमको आक्रमण पटक पटक गरिरहन्छन् ।

यही बीचमा अर्को गम्भीर प्रश्न उठेको छ – के सिरिन्ज आक्रमणकारी सन्तोष कार्की मात्र हुन् त ? किनकि उता बनेपामा पनि यस्तै प्रकारका घटना सार्वजनिक भएका छन् तर आक्रमणकारी महिला भएको पीडितले दावी गरेका छन् । उपत्यकामा भएका घटनामा पनि पीडितले मोटरसाइकलमा २ जना आएको बताएका छन् । यसको अर्थ हुन्छ यसरी आक्रमण गर्ने गिरोह नै छ ।

यदि आक्रमणकारीको गिरोह नै भए किन कार्कीले आफूले मात्र काँटीले हानेको बयान दिए ? उनी यसरी आक्रमण गरेर रमाइलो मान्ने ‘साइको’ नै हुन् भने के अरु आक्रमणकारी पनि साइको नै हुन् त ? के मोटरसाइकलमा आउने अर्का व्यक्ति र बनेपामा सिरिन्ज हान्ने महिला पनि कार्कीकै समूहका हुन् ? वा ती महिलाले यी घटनाबारे सुनेपछि आफू पनि यस्तै गर्न लागेकी हुन् ? ती महिला पनि साइको नै हुन् ?

प्रहरीले आक्रमणकारी भनेर सन्तोष कार्कीलाई पक्राउ त गर्यो तर यी र यस्ता धेरै प्रश्नको जवाफ आएको छैन । यी प्रश्नको जवाफ नआउँदासम्म आम नागरिक आश्वस्त हुन सक्ने अवस्था छैन । आक्रमणका घटनामा फरक फरक व्यक्तिहरु अगाडि आउनुले यो घटना निकै गम्भीर हुन सक्ने आशंका बढेको छ । भोलिका दिनमा अरु आक्रमणकारीहरु पनि नआउलान् भनेर आश्वस्त हुन सक्ने अवस्था छेन । कार्कीमाथि थप अनुसन्धान गर्दा यी प्रश्नको जवाफ आउला त ? आम नागरिकले पर्खिरहेका छन् ।

२०७६ असार १३ गते ५:५२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर