नेपाली फिल्मकर्मीलाई दिनुपर्ने अवार्ड भारतीयलाई दिँदै सरकार, एक अर्ब खर्च हुने
आजको खबर | प्रकाशित : २०७६ असार १४ गते ६:५६

काठमाडौं। राष्ट्रपतिबाट प्रदान गरिने चलचित्र जगतको राष्ट्रिय अवार्ड नेपालमा आयोजना नभएको ३ वर्ष भइसक्यो । यही बेला नेपाल सरकार आफैं आयोजक बनेर भारतीय निजी तहको फिल्म अवार्ड समारोह काठमाण्डुमा आयोजना गर्न र त्यसको सम्पूर्ण खर्च बेर्होन तत्पर रहेको खबर भने आफैंमा अनौठो देखिएको छ ।
भारतको निजी क्षेत्रबाट सञ्चालन हुने इन्डिया फिल्म अवार्ड आइफाको २० औं संस्करण आयोजना गर्न सरकारले आर्थिक र अन्य सौजन्य सहयोग गरेर झण्डै एक अर्ब रुपैयाँ खर्च गर्ने भएपछि यसको औचित्यमाथि प्रश्न उब्जिएको हो ।
सरकारको सहमतिमा नेपाल पर्यटन बोर्ड र काठमाण्डु महानगरपालिकाले आइफा सम्मेलनलाई सिधै ४४ करोड दिने भएका छन् भने बाँकी अहिले दाबी गरिएअनुसार ५ सयभन्दा बढी भारतीय कलाकारको आवजावत टिकट, होटल बसाइ समेत सौजन्य सहयोग बटुलिनेछ ।
‘आइफा अवर्डलाई स्थान र सुरक्षा दिनु उचित हो । तर, नेपाल सरकार आयोजक बन्न १ अर्ब लगानी गर्नु दलालीको पराकाष्ठा हो र ५० डिग्रीको तातोमा काम गर्ने युवाहरुको रेमिट्यान्स र गरिब जनताको करको दुरुपयोग हो,’ अभिनेता नवल खड्काले सामाजिक सञ्जालमा लेखेका छन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।