राष्ट्रप्रति केन्द्रित परराष्ट्रनीति अबको आवश्यकता : अध्यक्ष दाहाल

आजको खबर   |    प्रकाशित : २०७६ असार १५ गते १:२४

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल राष्ट्रप्रति मुलुकको परराष्ट्रनीति केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्।

परराष्ट्र मन्त्रालय र परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले शनिबार राजधानीमा आयोजना गरेको ‘परराष्ट्रनीति सम्बन्धमा राष्ट्रिय संवाद’ विषयको छलफल कार्यक्रममा उनले भारत र चीनलगायत विश्वका सबै देशसँग सन्तुलित सम्बन्ध कायम गर्नुपर्ने बताए।

उनले नेपालले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्न अन्तर्राष्ट्रिय सहायता आवश्यक पर्ने बताउँदै सबैभन्दा पहिले नेपालको राष्ट्रिय हित र स्वार्थलाई सर्वोपरि मानेर परराष्ट्रनीति एवं कूटनीति सञ्चालन गर्नुपर्ने अध्यक्ष प्रचण्डले बताए।

छिमेकी देश चीन र भारतसँग सुमधुर सम्बन्ध कायम गर्नुपर्नेमा जोड दिँदै उहाँले एकका विरुद्ध अर्कालाई कदापि प्रयोग गर्न हुँदैन भने। मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय हितको रक्षा गर्दै सार्वभौमिक समानताका आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्नुपर्ने बताए।

‘अबको परराष्ट्रनीति सबै राजनीतिक दलको साझा नीति हुनुपर्ने र त्यसमा सबै राजनीतिक शक्तिको मतैक्यता हुनुपर्छ, विगतमा जस्तो एकातिर फर्कने र अर्कातिर ढल्कने हुनुहुन्न’, नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डताजस्ता विषय परराष्ट्रनीतिका अपरिवर्तनीय पक्षलाई बिर्सन नहुने अभिमत प्रकट गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले भने।

पूर्वउपप्रधानमन्त्री कमल थापाले चीन र भारतसँगको समदुरीको सम्बन्ध परिवर्तित सन्दर्भमा अब पुरानो भएकाले त्यसमा आमूल परिवर्तन जरुरी भएको बताए। उनले राष्ट्रिय हित र स्वार्थ प्रवद्र्धनमा नै देशको परराष्ट्रनीति परिलक्षित हुनुपर्ने विचार व्यक्त गर्दै चीन र भारतसँग व्यापार र पारवहन नीतिमा पनि संशोधन आवश्यक भएको बताए।

पूर्वपरराष्ट्रमन्त्री डा प्रकाशशरण महतले सरकारका सकारात्मक कामकारवाहीको विपक्षी दलले सधैँ सराहना गर्ने बताउँदै गलत कार्यको विरोध गर्ने विपक्षीको धर्म निर्वाह गरिरहने स्पष्ट गरे। उनले कूटनीतिको प्रभावकारी सञ्चालनबाटै नेपालको राष्ट्रियहित र स्वार्थ प्रवद्र्धनमा मद्दत पुग्ने विचार व्यक्त गर्दै अन्तर्राष्ट्रिय मञ्चहरुमा आफ्ना हक अधिकार सुनिश्चित गर्र्नेतर्फ परराष्ट्रनीति केन्द्रित हुनुपर्ने बताए।

संवाद कार्यक्रमका सभापति एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले निकट भविष्यमा नै सरकारले नेपालको छवि बाह्य जगत्मा परिचित गराउन अन्तर्राष्ट्रियस्तरको सगरमाथा संवाद कार्यक्रम आयोजना गर्ने र त्यसलाई शृङ्खलाबद्धरुपमा अगाडि बढाइने जानकारी दिँदै नेपालको शान्ति प्रक्रियाको सफलता, नेपालको राजनीतिक पङ्क्तिमा ४१ प्रतिशत महिलाको सहभागिताजस्ता विषय उक्त संवाद कार्यक्रममा समावेश गरिने बताए।

२०७६ असार १५ गते १:२४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर