ट्रम्प र किमबीच दुई कोरियाको सीमामा ऐतिहासिक भेट

आजको खबर   |    प्रकाशित : २०७६ असार १६ गते ०:२४

सियोल (बीबीसी) । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भेट गर्ने इच्छा प्रकट गरेको भोलिपल्टै आइतबार उत्तर कोरियाली नेतासँग दुई कोरियाबीचको असैनिकीकृत क्षेत्र भनिने सिमानामा दुई नेताको भेट भएको छ । जहाँ दुई नेताले आपसमा हात मिलाएको क्षणलाई ऐतिहासिक भनिएको छ ।

जी–२० शिखर सम्मेलनको लागि जापानको ओसाका र त्यो सकेर दक्षिण कोरियाको राजधानी सोल पुगेका ट्रम्पले आइतवार उत्तर कोरियाली नेता किमलाई कोरियाली सिमाना पार गरेर नै भेट्न पुगेका हुन् । उनी उत्तर कोरियाली भूमिमा पाइला राख्ने पहिलो सत्तासीन अमेरिकी राष्ट्रपति बन्न पुगेका छन् । दुई नेताहरूबीचको एक वर्ष र केही बढीको समयको अन्तरालमा भएको यो तेस्रो आमनेसामने भेट हो ।

उनीहरूबीचको भेट सन् १९५३ को कोरियाली युद्धपछि विभाजित कोरियाली प्रायद्वीपको त्यस्तो क्षेत्रमा भएको छ जुन युद्धका कारण प्राय तनावग्रस्त रहँदै आएको थियो ।

ट्रम्पले सामाजिक सञ्जाल ट्विटरमा सन्देश लेखेपछि हतारहतार आयोजना गरिएको भेटका क्रममा दुई नेताले दुई कोरियाबीचको सिमा रेखामा आपसमा हात मिलाए । त्यसपश्चात ट्रम्प केही बेरका लागि उत्तर कोरियाली भूमिमा नेता किमसँगै उभिए जुन क्षणलाई दुई देशबीचको कूटनीतिको सांकेतिक कोसेढुंगा मानिएको छ । सन् १९५३ मा दुई कोरियाबीच हतियार बिसाउने सम्झौता गरिएको रेखासम्म कैयौँ अमेरिकी राष्ट्रपतिहरूले भ्रमण गरिसकेका छन् । ती सबै भ्रमणका बेला दक्षिण कोरियालाई अमेरिकाको समर्थनप्राप्त छ भन्ने स्पष्ट सन्देश गएको हुन्थ्यो ।

तर यसपटक ट्रम्पले त्यो सीमा क्षेत्रको भ्रमणलाई हेर्ने दृष्टिकोणमा नै केही फेरबदल ल्याइदिए । उनले दुरबिनहरू र बमप्रतिरोधक ज्याकेटको सट्टा आफूले सधै पहिरिने जस्तो सुट लगाएर त्यहाँ पुगिदिए। किमसँगको उनको भेट र उत्तर कोरियाली भूमिमा उनले राखेको पाइलाले नयाँ इतिहास रचिदियो । ‘यो ठूलो सम्मान हो । थुप्रै प्रगतिहरू हासिल गरिएको छ ।

यो वास्तवमैँ ठूलो मित्रता भएको छ,’ उत्तर कोरियाली नेताका बारेमा ट्रम्पले भने, ‘यो विश्वकै लागि ठूलो दिन हो,’ भेटपछि मुस्कुराएका नेता किमले यस्तो प्रतिक्रिया दिए, ‘मलाई विश्वास छ कि यो विगतको दुर्भाग्यपूर्ण इतिहासलाई नष्ट गर्ने र नयाँ भविष्यका लागि प्रस्थान गर्ने अभिव्यक्ति हो ।’ दुई नेताहरूले हात मिलाएपछि दक्षिण कोरियाली राष्ट्रपति मुन जे–इन पनि उनीहरू सँगै देखिएका थिए ।

त्यसपछि किम दक्षिण कोरियाली भूमिमा आए, र ट्रम्पसँगै उभिएर पत्रकारहरू सामु विरल प्रतिक्रिया दिँदै आफूहरूबीचको भेट उनी र ट्रम्पबीचको ‘गजब’को सम्बन्धको प्रतीक भएको बताए ।

ट्रम्पले भेट ‘साच्चै नै ऐतिहासिक’ क्षण भएको बताउँदै उनी दुई कोरियाबीचको ‘सीमा पार गर्न पाउँदा गौरवान्वित भएको’ बताए । सोलस्थित बीबीसी सम्वादाता लरा बिकर आफ्नो विश्लेषणमा लेख्छिन्, ‘धेरै मानिसहरूले आजका तस्बिरहरू हेर्दैछन् र आफ्नै आँखालाई विश्वास गरिरहेका छैनन् । त्यसमा म पनि पर्दछु ।’ सिमानामा हात मिलाएको क्षण जत्तिनै अनौठो लागेपनि अमेरिका र कोरियाबीच अझै कार्यगत तहमा वार्ताहरू हुन नसकेको उनी औंल्याउछिन् । अझै पनि दुवै देशले परमाणु अस्त्र निरस्त्रीकरणको मुद्दालाई गहन ढंगले हेर्ने इच्छा देखाएका छैनन् । उत्तर कोरियासँग परमाणु अस्त्र छ ।

त्यसलाई नष्ट गर्ने तर्फ प्रगति हुन सकेको छैन । तथापि बिकर आइतवारको ऐतिहासिक ट्रम्प–किम हातमिलाईको क्षणलाई असाधारण मान्दछिन् । त्यसले दुई नेताबीच व्यक्तिगत रूपमा मेलमिलाप हुन सक्ने देखिन्छ । तर त्यसले आउने दिनमा के कस्तो फल दिने हो त्यो अझै प्रष्ट छैन । त्यो आजको ऐतिहासिक भेटको वास्तविक परीक्षा हुनेछ ।

पर्दा पछाडि र बन्द कोठामा हुने कूटनीतिका लागि कुनै समय खर्च नगरिएको हुनाले आइतवारको भेटलाई धेरैले फगत एउटा फोटो खिच्ने अवसर हुने अनुमान गरेका थिए । तर यो नाटकीय भेटघाटलाई परमाणु अस्त्र निरस्त्रीकरण प्रति दुवै पक्षको प्रतिबद्धताका अथ्र्याइने छ ।

उत्तर कोरियासँगका वार्ता र उसलाई विवादास्पद परमाणु अस्त्र कार्यक्रम परित्याग गर्न मनाउने प्रयास गत वर्ष सिंगापुरमा ट्रम्प र किमबीच भएको ऐतिहासिक बैठकको बेला उत्कर्षमा पुगेको थियो । त्यतिबेला दुवै पक्षले कोरियाली प्रायद्वीपको ‘पूर्ण निरस्त्रीकरण’को लागि प्रतिबद्धता जनाएका थिए । तर उनीहरूले त्यसको अर्थ के हुनेछ भनेर प्रष्ट पार्न सकेनन् ।

गत फेब्रुअरीमा भियतनामको हनोइमा भएको अर्को शिखर बैठकमा त्यस विषयमा थप प्रगति हुने आशा गरिएको थियो । तर त्यतिबेला उत्तर कोरियाले परमाणु कार्यक्रम बन्द गर्ने र त्यस्को बदलामा ऊ माथि लगाइएका प्रतिबन्धहरू हटाउने गरी कुनै सहमति जुट्न सकेन । हनोइ वार्ता विना कुनै सहमति टुंगिएकोले उत्तर कोरियामाथिका प्रतिबन्धहरू फुकुवा हुने गति वा रफ्तारका विषयमा कुनै टुंगो लागेन । त्यसपछि दुईपक्षीय वार्ताहरू अवरुद्ध रहेका छन्। तथापि ट्रम्प र किमले हालै आपसमा पत्रहरूको आदानप्रदान भने गरेका छन् ।

अंग्रेजीमा डिमिलिटराइज्ड् जोन वा डीएमजेड् भनिने दुई कोरियाबीचको सीमा क्षेत्रको असैनिकीकृत क्षेत्र करिब ४ किलोमिटर चौडा र २५० मिटर लामो छ । सन् १९५३ मा दुई कोरियाबीचको युद्धको समाप्तिपछि त्यसले नै दुई कोरियालाई विभाजन गरेको छ । असैनिकीकृत शब्दको अर्थमा जाने हो भने त्यहाँ कुनै सैनिक वा सैन्य सामग्री राखिनु हुँदैन । तर वास्तविकता यो हो कि यो नै विश्वकै सम्भवत: सबैभन्दा धेरै सैन्य क्रियाकलाप हुने सीमा क्षेत्रहरू मध्येको पर्दछ । पान्मुन्जोम गाउँमा रहेको संयुक्त सुरक्षा क्षेत्र सैन्य सीमा रेखा नजिकै पर्दछ । यही क्षेत्रमा दुई कोरियाबीचका वार्ताहरू हुने गरेका छन् ।

प्राविधिक रूपमा अहिले पनि युद्धकै अवस्थामा रहेका दुई कोरियाबीच सम्बन्ध सुधार भएको अवस्थामा यो क्षेत्रमा पर्यटकहरू पनि जान सक्छन् । पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले एक ताका यसलाई ‘विश्वकै सबैभन्दा डरलाग्दो ठाउँ’ भनेका थिए ।

२०७६ असार १६ गते ०:२४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर