चीनमा आँधीमा परी छ जनाको मृत्यु, दश हजार प्रभावित

आजको खबर   |    प्रकाशित : २०७६ असार २० गते ७:३९

बेईजिङ । चीनमा आएको आँधीले बिहीबारसम्म झण्डै दश हजार जना प्रभावित भएका छन् । देशको उत्तरी लिओनिङ प्रान्तमा बुधबार आएको आँधीका कारण नौ हजार नौ सय जना प्रभावित भएको अधिकारीले जानकारी दिएका हुन् ।

आँधीमा परी कम्तीमा छ जनाको मृत्यु भएको र अरु १९० भन्दाबढी घाइते भएको समाचारमा जनाइएको छ । स्थानीय कैयुना सहरमा प्रतिसेकेण्ड २३ मिटरको गतिमा स्थानीय समयअनुसार बुधबार बेलुका ५.१५ मा आँधी आएको थियो ।

प्रभावित क्षेत्रमा प्रहरी, अग्नि नियन्त्रक, स्वास्थ्यकर्मीलगायत विभिन्न क्षेत्रका गरी आठ सय भन्दा बढी उद्धारकर्मी खटिएका छन् । घटनास्थलमा खोजी तथा उद्धारकार्य अहिले पनि जारी रहेको स्थानीय अधिकारीले जानकारी दिएका छन् ।

उद्धारकर्मी विभिन्न दश ओटा समूह बनाएर खटिएको र उनीहरुले घटनास्थलमा मान्छेको खोजी तथा उद्धार गर्नुका साथै घाइतेको उपचार गर्ने, विद्युत लाइन जोड्ने, सडक खुलाउनेलगायतका काम गरिरहेका छन् । धेरै ठाउँमा अझै पनि सडक, विद्युतलगायतका सेवा अवरुद्ध रहेको प्रभावित क्षेत्रमा खटिएकाले जनाएका छन् ।

आँधीका कारण औद्योगिक क्षेत्रमा रहेका एक दर्जन भन्दा बढी कारखाना भवन क्षतीग्रस्त भएका छन् । प्रकोपमा परी अरु ४३ सय घर भत्किएका छन् भने एक सय हेक्टर क्षेत्रफलमा रहेको बालीनाली पनि नष्ट भएको अधिकारीले जनाएका छन् ।

भत्किएका घरबाट झण्डै २१० जनालाई उद्धार गरिएको छ भने प्रभावित क्षेत्रबाट १६ सय जनालाई सुरक्षित स्थानमा लगिएको छ । उद्धार गरिएकामध्ये ६३ जनालाई अस्पताल भर्ना गरिएको स्थानीय सरकारले जनाएको छ ।

२०७६ असार २० गते ७:३९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर