तराई मधेशको विकासमा सरकारको उच्च प्राथमिकता – उपप्रधान तथा रक्षामन्त्री पोखरेल

आजको खबर   |    प्रकाशित : २०७६ असार २१ गते १:५३

परासी । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले केपी ओली नेतृत्वको सरकारले तराई मधेशमा विकासको लहर शुरुआत गरेको बताएका छन्।

तराई मधेशको विकासका लागि सरकारले महत्वाकाङ्क्षी योजनाहरू सञ्चालन गरिरहेको उनले बताए। नवलपरासी उद्योग वाणिज्य सङ्घको आज परासीमा आयोजित ३७ औँ वार्षिक साधारणसभामा उपप्रधानमन्त्री पोखरेलले तराई मधेशको विकासमा सरकारले उच्च प्राथमिकता दिएको बताएका हुन्।

उनले भने, ‘लामो समयदेखि थाँती हुलाकी सडक बनाउन एकैपटक चार अर्ब बढी बजेट विनियोजन गर्नु, पूर्वपश्चिम राजमार्गदेखि भारतीय सीमा क्षेत्रसम्मको व्यापारिक मार्ग, जनता आवास कार्यक्रम, तराईका २० जिल्लाका सदरमुकाम विकास आयोजनाजस्ता कार्यक्रम ओली सरकारले शुरु गर्याे, अनि विकासमा मधेशलाई विभेद् गरियो भन्न मिल्छ ? तराई, पहाड र हिमालको समुचित विकास हुनुपर्छ।’

सरकारले एक वर्षमा विकासको जग तयार पारेको उनले बताए। ‘अझै पनि केही कानून बनाउन बाँकी छ, अब यही आधारलाई टेकेर सरकारले गरेका प्रतिबद्धता कार्यान्वयन गर्छौँ, संविधानमा लेखेर मात्र हुँदैन, त्यससँग सम्बन्धित कानून, नीति र संरचना बन्न जरुरी छ’, उपप्रधानमन्त्री पोखरेलले भने।

उनले सार्वजनिक, सहकारी र निजी क्षेत्रको सहकार्यमा उद्योग स्थापना हुनुपर्नेमा जोड दिए। सरकारको नीतिअनुसार स्वदेशी वा विदेशी लगानीकर्तालाई उद्योग स्थापनाका लागि सरकारले सहजीकरण गर्ने बताउँदै उनले भने, ‘वर्तमान सरकारले प्रत्येक प्रदेशमा औद्योगिक क्षेत्र र प्रत्येक पालिकामा औद्योगिक ग्राम निर्माण गर्ने योजना अघि सारेको छ।’

प्रदेश नं ५ का भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले प्रदेश सरकाले लगानीको वातावरण बनाउँदै उद्योग स्थापनामा प्रोत्साहन गर्ने नीति अघि सारेको बताए। सांसद देवेन्द्रराज कँडेलले लगानीको वातावरण बनाउन आग्रह गरे।

उद्योग वाणिज्य सङ्घका जिल्ला अध्यक्ष केशव भण्डारीले महेशपुर भन्सारको पूर्ण कार्यान्वयन, पर्यटनको विकास, कर कार्यालयको स्थापना, कृषिमा व्यवसायीकरणलगायतका मागहरू राखे।

२०७६ असार २१ गते १:५३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर