विश्वकप क्रिकेटः लिग चरणका अन्तिम खेल आज, पहिलो हुने दाउमा भारत र अस्ट्रेलिया

आजको खबर   |    प्रकाशित : २०७६ असार २१ गते ४:०९

एजेन्सी । आईसीसी विश्वकप क्रिकेटअन्तर्गत आज लिग चरणका अन्तिम दुई खेल हुदैंछन्। आज हुने् अन्तिम दुई खेलमध्ये पहिलो खेल भारत र श्रीलंकाबिच हुनेछ। उक्त खेल नेपाली समयअनुसार दिउसो ३ः१५ मा हुनेछ। लिड्सस्थित हेडिङ्ले मैदानमा हुने खेलमा विश्वकपबाट बाहिरिसकेको र सेमिफाईनलमा प्रवेश गरेको टोलीबिच प्रतिस्पर्धा हुनेछ।

यस्तै दोस्रो खेल अस्ट्रेलिया र दक्षिण अफ्रिकाबिच हुनेछ। उक्त खेल म्यान्चेष्टरको ओल्ड ट्राफोर्डमा नेपाली समयअनुसार साँझ ६ः१५ देखि सुरु हुनेछ। यसअघि नै सेमिफाइनलमा पुग्ने चारवटै टोलीको टुंगो लागिसकेकाले यी दुवै खेलको नतिजाले खासै ठूलो असर पार्दैन। तर, सेमिफाइनल समीकरणमा भने असर पार्न सक्छ। आठ खेल खेलेको अस्ट्रेलिया १४ अंकसहित तालिकाको पहिलो स्थानमा छ। अस्ट्रेलियाले सात जित र एक हारको नतिजा निकालेको छ।

भारत भने १३ अंकसहित तालिकाको दोस्रो स्थानमा आसीन छ। भारतले ६ जित र एक हारको नतिजा निकालेको छ। भारतको एक खेल भने वर्षाका कारण रद्द भएको थियो। हाल अस्ट्रेलियाको नेट रनरेट एक र भारतको नेट रनरेट ०।८११ छ। अस्ट्रेलिया र भारत दुवै आआफ्नो खेलमा विजयी भएमा हालको समीकरणमा कुनै फरक पर्ने छैन।

तर, अस्ट्रेलिया आफ्नो खेलमा पराजित भएमा र भारतले श्रीलंकालाई पराजित गरेमा सेमिफाइनल समीकरण परिवर्तन हुन सक्छ। यस्तो अवस्थामा भारत अंकतालिकाको पहिलो स्थानमा उक्लनेछ भने अस्ट्रेलिया दोस्रो स्थानमा झर्नेछ। यसैगरी दुवै खेल वर्षाका कारण रद्द भए वा बराबरीमा सकिएमा पनि समीकरण यथावत् रहनेछ। तर, अस्ट्रेलियाको खेल बराबरीमा सकिएमा र अर्को खेलमा भारतले जित हात पारेमा भने दुवै टोलीको समान १५/१५ हुनेछ। यस्तो अवस्थामा नेट रनरेटका आधारमा लिग टुंगो लाग्नेछ।

प्रतियोगिताको नियमअनुसार सेमिफाइनल (पहिलो क्वालिफायर) मा अंक तालिकाको पहिलो स्थानमा रहने टोलीले तालिकाको चौथो स्थानमा रहने टोलीसँग प्रतिस्पर्धा गर्नु पर्नेछ। यसैगरी अर्को सेमिफाइनल (दोस्रो क्वालिफायर) मा अंकतालिकाको दोस्रो स्थानमा रहने टोलीले तेस्रो स्थानको टोलीसँग भिडन्त गर्नु पर्नेछ। अंक तालिकाको तेस्रो स्थानमा इंग्ल्याण्ड र चौथो स्थानमा न्युजिल्याण्ड रहेको छ। शनिबारको खेलमा प्रतिस्पर्धा गर्ने अन्य दुई टोली श्रीलंका र दक्षिण अफ्रिका भने यसअघि नै उपाधि होडबाट बाहिरिइसकेका छन्।

२०७६ असार २१ गते ४:०९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर