आज देशभर विभिन्न कार्यक्रमगरी सातौँ राष्ट्रिय विज्ञान दिवस मनाइँदै

आजको खबर   |    प्रकाशित : २०७६ असोज १ गते ४:१५

काठमाडौँ । ‘विज्ञान, प्रविधि र नवप्रवर्तनः सामाजिक आर्थिक रुपान्तरण’ को नारासहित बुधबार सातौँ राष्ट्रिय विज्ञान दिवस मनाइँदैछ। प्रदेश र स्थानीय तहमा समेत यही भदौ २६ गतेदेखि शुरु भएको दिवसको सप्ताहअन्तर्गत विभिन्न कार्यक्रम भइरहेको छ भने असोज १ गते मूल समारोह समितिको कार्यक्रम हुँदैछ।

सप्ताहअन्तर्गत हाजिरीजवाफ, निबन्ध र कविता प्रतियोगिता, नवप्रवर्तनात्मक कार्यक्रम, संवाद, कला र आविष्कार प्रदर्शनी आदि गतिविधि भइरहेका छन्। दिवसका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलेको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ।

कार्यक्रममा कक्षा १२ मा विज्ञान विषयमा उत्कृत अङ्क ल्याउने सात प्रदेशका सामुदायिक र निजी विद्यालयका एक–एक गरी १४ विद्यार्थीलाई पुरस्कृत गरिनेछ। यसैगरी विज्ञान विषयमा कलम चलाउने दुई पत्रकार र नयाँ अनुसन्धान गर्ने संस्थालाई पुरस्कृत गरिने कार्यक्रम छ। सोही दिन नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले कुलपति नवप्रवर्तन पुरस्कारको घोषणा गर्ने मन्त्रालयका सचिव डा. सञ्जय शर्माले बताए ।

दिवसका अवसरमा विपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जभेटरी, विज्ञान शिक्षक समाज, रोबोटिक्स एसोसिएशन लगायतले पनि विभिन्न प्रदर्शनी गर्नेछन् । साताव्यापी कार्यक्रम असोज ५ गतेसम्म चल्नेछ। नेपाल सरकारले विज्ञान र प्रविधिको उपयोग र जनचेतना फैलाउने लक्ष्यका साथ २०६९ मङ्सिर ८ गते निर्णय गरी हरेक असोज १ का लागि दिवस मनाउने तय गरेको थियो।

नेपाल सरकारले राष्ट्रिय विज्ञान नीति पनि जारी गर्ने तयारी पनि गरेको छ। दिवसले विज्ञान र प्रविधिको उपयोगको विस्तारबारे जनचेतना फैलाउने, वैज्ञानिक खोज तथा अनुसन्धानमा संलग्न नवप्रतिभालाई प्रोत्साहित गर्ने, विज्ञान प्रविधि अध्ययन अध्यापनमा विद्यार्थी तथा शिक्षकलाई आकर्षित गर्ने र युवा जनशक्तिलाई स्वदेशमा नै रहेर रोजगारीको वातावरण सिर्जना गरी प्रतिभा पलायनको प्रवृत्तिलाई न्यूनीकरण गर्ने लक्ष्य लिएको छ। रासस

२०७६ असोज १ गते ४:१५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर