संघीयता सफल भए त्यसको जस सबैले पाउँछन्, असफल भए गाली खाने मैले हो : प्रचण्ड

आजको खबर   |    प्रकाशित : २०७६ असोज ९ गते ७:३६

काठमाडौं। नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीयताको विरोधमा नकारात्मक प्रचार गर्दा सबैभन्दा दुखी आफू हुने गरेको बताएका छन। उनले संघीयता सफल भयो भने त्यसको जस सबैले पाउने तर संघीयता असफल भयो भने त्यसको प्रहार सबैभन्दा धेरै आफूमाथि हुने बताए। बिहीबार रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकाले आयोजना गरेको लगानी सम्मेलनलाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले संघीयतालाई सफल बनाउने गरी काम गर्न स्थानीय तहलाई आग्रहसमेत गरे। ‘सिंहदरबारको अधिकार प्रदेश र स्थानीय तहमा पुर्याउने काम त्यति सजिलै भएको होइन्,’ प्रचण्डले भने, ‘यसका लागि हजारौंको बलिदानी भएको छ।

 

अहिले संघीयताका विषयमा सजिलै नकारात्मक टिप्पणी गर्दा मलाइ बढी चिन्ता हुन्छ।’ प्रचण्डले संघीयता सफल भयो भने त्यसको जस सबैले पाउने र संघीयता असफल भयो भने त्यसको बढी प्रहार आफूमाथि हुने आफूलाई लागेको बताए। ‘संघीयता सफल भयो भने सबै सफल भएको देखिन्छ। तर संघीयता असफल भयो भने त्यसको सबैभन्दा पहिलो प्रहार ममाथि हुन्छ जस्तो लाग्छ,’ उनले भने, ‘त्यसकारण संघीयतालाई सफल बनाउन सुशासन र भ्रष्टाचार नियन्त्रण गरी जनताको हितमा सबै स्थानीय तहले काम गर्नुपर्छ।’

 

संघीयता असफल भयो भने संघीयता ल्याउन लड्नेमाथि आलोचना केन्द्रित हुने भन्दै सबै स्थानीय तहले राम्रोसँग काम गरिरहेका छन् भन्ने सन्देश दिने गरी काम गर्न प्रचण्डले आग्रह गरे। उनले सबै स्थानीय तहले राम्रो काम गर्न प्रतिश्पर्धा गर्नुपर्ने बताए। त्यसो भयो भने मात्र संघीय लोकतान्त्रिक गणतन्त्रका लागि वलिदानी गरेको पुष्टि हुने उनको भनाइ थियो। तर त्यसो नभएर आफ्नो स्वार्थमा केन्द्रित हुँदा वर्तमान व्यवस्था विरोधीलाई बल पुग्ने र हजारौंको वलिदानी खेर जाने उनको भनाइ थियो। ‘यो परिवर्तन ००७ साल, ०३६ साल र ०४६ सालको जस्तो होइन,’ प्रचण्डले भने, ‘यो व्यवस्था नै परिवर्तन गरेर ल्याइएको गुणात्मक परिवर्तन भएको व्यवस्था हो। साँढे दुई सय वर्षदेखिको फोहोर फाल्न समय लाग्छ। यत्रो फोहार फ्याल्न डेढ वर्षमा सम्भव हुने कुरा होइन।’

 

‘एकथरी मानिस यो बीचमा धेरै काम भइसक्नु पर्ने भन्दै नकारात्मकता फैलाउने काम गरिरहेका छन्। झण्डै साढे दुई सय वर्षदेखि निरंकुशताले जर्जर बनाएको नेपाली समाजलाई डेढ वर्षमा परिर्वन गर्न सकिन्छ भन्नु कल्पनामात्र हुन्छ,’ उनले भने, ‘यत्रो फोहोर थुप्रिएको छ, त्यसलाई फेर्न केही समय लाग्छ।’ उनले सबै मिलेर ल्याएको व्यवस्था र बनाएको कानुनको समीक्षा र छलफल गर्न सकिने भन्दै तर निरंकुशतालाई नै सहयोग पुग्ने गरी आलोचना गर्ने समय भइनसकेको जनाए। ‘ यो संविधान एउटा पार्टी विशेषले मात्र ल्याएको होइन। अहिलेको सत्ता पक्ष र प्रतिपक्षको सहमतिबाट ल्याइएको हो,’ उनले भने, ‘संविधान कार्यन्वयनको प्रक्रिया त अहिले विपक्षी दलकै नेतृत्वले सरकारले सुरु गरेको हो। तीन चरणको चुनाव पनि अहिलेको प्रतिपक्षको नेतृत्वकै सरकारले गराएको हो।’

२०७६ असोज ९ गते ७:३६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर