सुकेटार विमानस्थलमा तीन महीनापछि उडान शुरु

आजको खबर   |    प्रकाशित : २०७६ असोज १० गते ६:१५

ताप्लेजुङ। हिमाली जिल्ला ताप्लेजुङको एक मात्र सुकेटार विमानस्थलमा तीन महीनापछि उडान शुरु भएको छ। असार ४ गते यता उडान नभएको विमानस्थलमा बिहीबारदेखि उडान शुरु भएको हो।

यसअघि मौसम खराबीका कारण उडान नभएको विमानस्थलमा मौसममा सुधारसँगै उडान शुरु भए पनि यात्रु अभावमा जहाज रित्तै फर्किएको छ। काठमाडौँबाट नौ जना यात्रु लिएर आएको नेपाल वायुसेवा निगमको जहाज सुकेटारबाट यात्रु नपाएपछि रित्तै फर्किएको हो। यसअघि असार ४ गते पनि जहाज ताप्लेजुङबाट रित्तै फर्किएको थियो।

लामो समयसम्म उडान गर्न नसकेकाले यात्रु नपाएको स्थानीयको भनाइ छ। कहिले जहाज बिग्रिएर, कहिले मौसम खराबी लगायतका कारण नियमित उडान हुन नसक्दा काठमाडौँ–ताप्लेजुङ उडान भरपर्दोसमेत हुन नसकेको स्थानीयले बताए।

सुकेटार विमानस्थलमा नेपाल वायुसेवा निगमको विमानले साताको सोमबार, बुधबार र शनिबार ताप्लेजुङ–काठमाडौँ उडान गर्ने नियमित कार्यतालिका छ। नियमित उडान भने हुन सकिरहेको छैन।

ताप्लेजुङ स्टेशन इन्चार्ज राजु कार्कीका अनुसार काठमाडौँबाट ताप्लेजुङका लागि धेरैले अग्रिम टिकट लिएका छन्। तर ताप्लेजुङबाट काठमाडौँका फाट्टफुट्ट मात्रै यात्रु आउछन्। उडान शुरु भएपछि भने यात्रु अभाव नहुनेमा आफू विश्वस्त रहेको कार्कीले बताए। मौसम र जहाजमा समस्या नआए नियमित उडान हुने उनको भनाइ छ।

२०७६ असोज १० गते ६:१५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर