लमजुङको भुजुङ पर्यटन महोत्सव सम्पन्न

आजको खबर   |    प्रकाशित : २०७६ असोज १६ गते १:५०

लमजुङ । ‘भुजुङ पर्यटन महोत्सवमा सहभागी बनौँ, नेपाल भ्रमण वर्ष २०२० सफल पारौँ’ भन्ने मूल नाराका साथ भुजुङ पर्यटन महोत्सव बुधबार सम्पन्न भएको छ।

क्व्होलासोथर गाउँपालिका–४ भुजुङमा सञ्चालित सो तीनदिने महोत्सवमा सांस्कृतिक झाँकी, स्थानीय हस्तकला सामग्री र स्थानीयस्तरमा उत्पादित कृषिजन्य वस्तु प्रदर्शनी, स्थानीय खानाका परिकारको चमेनागृह सञ्चालन, राष्ट्रिय तथा स्थानीय कलाकारहरुद्वारा लोकदोहोरी गीत प्रस्तुतलगायत मुख्य आकर्षणको रुपमा रहेको थियो।

नेपाल भ्रमण वर्ष २०२० लाई टेवा पु(याउँदै गाउँमा धेरैभन्दा धेरै सङ्ख्यामा पर्यटन ल्याउनका लागि महोत्सवको आयोजना गरिएको महोत्सव मूल समारोह समितिका अध्यक्ष तुलबहादुर गुरुङले बताए ।

उनले भने, “राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा यो पर्यटकीय गाउँको प्रचारप्रसार गर्न तथा नेपाल सरकारले अघि सारेको भ्रमण वर्षलाई सहयोग पुर्याउनका लागि पहिलोपटक महोत्सव गरिएको छ।”

यस भुजुङ गाउँमा विसं २०६४ बाट घरवास (होमस्टे) समेत सञ्चालनमा आएको छ । अहिले २२ घरवास सञ्चालनमा रहेका छन् । आगामी पाँच वर्षभित्र ५० वटा घरवास सञ्चालन गर्ने लक्ष्य लिएको भुजुङ ग्रामीण व्यवस्थापन समितिले जनाएको छ।

यस गाउँमा ९० प्रतिशत गुरुङ र बाँकी दलितहरुको बसोवास छ । ५०० घरधुरी रहेको यस गाउँमा करीब तीन हजार जनसङ्ख्या रहेको छ । भुजुङ गाउँको पश्चिमतर्फ पसगाउँ र सिङदीगाउँ, दक्षिणमा तामुगाउँ र पूर्वमा दक्षिण एशियाकै नमूना घलेगाउँ, घनपोखरागाउँ रहेको छ । त्यस्तै उत्तरतर्फ मिदिमखोलाको शिर, घना वनजङ्गल र लमजुङ हिमाल रहेको छ।

भौगौलिक, प्राकृतिक र सांस्कृतिक सम्पदाले भरिपूर्ण यो गाउँ बेँसीशहरदेखि करीब ३२ किलोमिटर टाढा रहेको छ । बेँसीशहरबाट ग्रामीण कच्ची सडक पार गर्दै सवारी साधनले साँढे तीन घण्टामा त्यहाँ पुग्न सकिन्छ। रासस

२०७६ असोज १६ गते १:५० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर