ट्रम्पले विपक्षी सांसदलाई अश्लील गाली गर्दै थर्काए, भने–‘डेमोक्र्याटहरु बेइमान र देशद्रोही हुन्’

आजको खबर   |    प्रकाशित : २०७६ असोज १६ गते ८:२१

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्र्याट सांसदहरुलाई अश्लील भाषा नै प्रयोग गरी थर्काएका छन् । ट्रम्पले युक्रेनसँग गरेको कुराकानी र त्यससँग सम्बन्धित कागजातहरु उपलब्ध गराउन संसदीय समितिले राष्ट्रपति कार्यालय ह्वाइट हाउसलाई आदेश दिने तयारी थालेपछि ट्रम्प आक्रामक भएका हुन् ।

यही विषयलाई लिएर विपक्षी सांसदहरुले ट्रम्पविरुद्ध महाअभियोग लगाउने तयारी गरिरहेका छन् । समितिले महाअभियोगकै विषयमा अनुसन्धान गरिरहेको छ । महाअभियोग लगाउने विषयमा तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको अगुवाईमा अनुसन्धान भइरहेको छ ।

ट्रम्पमाथि आफ्ना राजनीतिक प्रतिस्पर्धीको छवि धमिल्याउनका लागि युक्रेनका राष्ट्रपतिसँग सहयोग मागेको आरोप छ । ट्रम्पले गएको जुलाई २५ मा युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई टेलिफोन गरेर पूर्व उपराष्ट्रपति जो बाइडेन र उनका छोरा हन्टर बाइडेनमाथि भ्रमष्टाचार मुद्दामा छानबिन गर्न आग्रह गरेका थिए ।

जो बाइडेन आउँदो वर्ष अमेरिकामा हुने राष्ट्रपति चुनावका लागि डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार बन्ने होडमा सबैभन्दा अघि छन् । ट्रम्पले आफ्ना सम्भावित प्रतिस्पर्धीको राजनीतिक छवि कमजोर बनाउने कुत्सित मनसायसहित युक्रेनका राष्ट्रपतिसँग अवैध आग्रह गरेको आरोप लगाउँदै डेमोक्र्याटिकको बहुमत रहेको तल्लो सदनले महाअभियोग लगाउने सम्बन्धमा अनुसन्धान थालेको हो ।

रिपब्लिकनका तर्फबाट तीन वर्षअघि राष्ट्रपतिमा निर्वाचित भएका ट्रम्पले असभ्य भाषा प्रयोग गरेर आफूमाथि महाअभियोग लगाउने बारे अनुसन्धान थालेका डेमोक्र्याटहरु बेइमान र देशद्रोही रहेको आरोप लगाएका छन् । डेमोक्र्याटले भने अनुसन्धान प्रक्रियाको बचाउ गर्दै सबै प्रक्रिया निष्पक्ष तथा पारदर्शी हुने उल्लेख गरेका छन्।

२०७६ असोज १६ गते ८:२१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर