चन्दा मागेर अन्तरराष्ट्रिय खेलमा सहभागी हुँदै तेक्वान्दो खेलाडी

आजको खबर   |    प्रकाशित : २०७६ असोज १७ गते ७:५६

नवलपरासी। गोठीचौर गाउँपालिकाका मङ्गलराज कामीले सल्यानमा तेक्वान्दो महासङ्घले आयोजना गरेको खेलमा स्वर्ण जिते। उनी आगामी कात्तिक ६ देखि १२ सम्म थाइल्याण्डमा हुने नवौँ डिरक तेक्वान्दो आन्तरराष्ट्रिय प्रतियोगिता २०१९ मा छनोट भए।

तर जानको लागि पैसा थिएन, यसै त दुर्गमको बसाइँ दलित र विपन्न परिवारका मङ्गलराज कसरी जाने चिन्तामा थिए। उनका बाबु काले कामीले गाउँपालिकामा सहयोगको लागि अपिल गरे तर पहिला गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाए पनि अहिले अन्तिममा आएर सहयोग गर्न नसकिने जानकारी दिएपछि उनमा निरासा छायो। छोराको प्रतिभा हुँदा पनि पैसाको कारणले छोराले खेल्ल नपाउने भयो भनेर उनी चिन्तित भए।

यो खबर गोठीचौर गाउँपालिकाका समाजसेवी गणेशबहादुर बुढासम्म पुग्यो। खबर पाएपछि समाजसेवी बुढाले जुम्ला चन्दननाथ नगरपालिका–५ का वडाध्यक्ष अर्जुनसिंह काठायतसँग सल्लाह गरी सबैसँग एक÷दुई हजार गर्दै सहयोग सङ्कलन गरेर मङ्गललाई चाहिने रु एक लाख सहयोग रकम सङ्कलन गरी खेलाडी मङ्गलराजलाई हस्तान्तरण गरे। आफू जाने रकम पाएपछि १४ वर्षे मङ्गलराजले सबैलाई धन्यवाद दिएका छन्। मङ्गलराजका बुबाको पनि सपना पूरा भएको छ।

नागरिक समाजका अध्यक्ष राजबहादुर महतले सरकारले गर्ने दायित्व एक समाजसेवीले पूरा गरेको बताए। उनले भने, “एउटा गाउँपालिकाको इच्छा पूरा भएको छ, एउटा जिल्लाको इच्छा पूरा भएको छ भने सिङ्गो देशको इच्छा पूरा भएको छ। अबका दिनमा यस्ता खेललाई प्रोत्साहन र सहयोग गर्न अक्षयकोषको स्थापना गर्नुपर्छ ।”

सहयोग अभियानकर्मी दनबहादुर बुढाले गाउँघरमा यस्तै समस्याको समाधान होस् भनी देश सङ्घीयता ल्याएको र स्थानीय सरकारको स्थापना भएको बताए। सरकारले आफूले गर्नुपर्ने दायित्व भुलेको उनको भनाइ छ। खेल क्षेत्रको विकासका लागि स्थानीय सरकारले योजना बनाउन नसकेको उनले बताए।

सहयोग रकम सङ्कलनमा सहयोगी बनेका चन्ननाथ नगरपालिका–५ का वडाध्यक्ष अर्जुनसिंह कठायतले खेल क्षेत्रलाई स्थानीय सरकारको प्रमुख प्रथामिकतामा राख्नुपर्ने र यसका लागि जनप्रतिनिधिलाई पनि खेल क्षेत्रको महत्वको जानकारी गराउनुपर्ने बताए।

मङ्गलराज आगामी कात्तिक ६ गतेदेखि हुने नवौँ डिरक तेक्वान्दो आन्तरराष्ट्रिय प्रतियोगिता २०१९ मा ३४ किलो अन्तर्गत खेलमा सहभागी हुनेछन् भने उक्त प्रतियोगितामा ३२ राष्ट्रको सहभागिता रहनेछ।

२०७६ असोज १७ गते ७:५६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर