१० फुटबल खेलाडी जसले कम उमेरमै सन्यास लिए

आजको खबर   |    प्रकाशित : २०७६ असोज २३ गते २:४०

एजेन्सी । म्यानचेस्टर युनाइटेडका पूर्व मिडफिल्डर एन्डरसनले भर्खरैमात्र ३१ वर्षको उमेरमा नै व्यावसायिक फुटबलबाट सन्यास लिए । फुुटबलको इतिहासमा उनी मात्र यस्ता खेलाडी होइनन् जसले कम उमेरमा सन्यास लिए । विश्व फुटबल जगतमा समर्थकको मन जित्दै छोटो समयमा समर्थकलाई निराश बनाएर फुटबलबाट सन्यास लिएका धेरै खेलाडीहरु छन् । जसले देश तथा क्लबका लागि उत्कृष्ट फुटबल खेल प्रदर्शन गरे । साथै देश तथा क्लबलाई महत्वपूर्ण उपाधि दिलाउन महत्वपूर्ण योगदान गरे । विश्व फुटबलबाट छोटो समयमा सन्यास लिने दश खेलाडीहरुको अन्तर्राष्ट्रिय पत्रिका ‘९० एम’ ले चर्चा गरेको छ ।

१) हिडतोशी नकाटाः

एएस रोमा, पार्मा, फिओरेन्टिना र बोल्टोन वान्डरर क्लवका लागि खेलेका नकाटाले देशको लागि ७७ अन्तर्राष्ट्रिय खेल खेलेका छन् भने क्लबको लागि ३८२ खेल खेलेका छन् । आफ्नो करिअरमा कूल ५३ गोल गरेका उनले ५ ट्रफी जितेका छन् । नकाटालाई जापानको उत्कृष्ट फुटबल खेलाडीको रुपमा गनिन्छ । जापानी खेलाडी नकाटा राष्ट्रिय खेलमा मात्र सीमित भएनन् । उनी एएस रोमा र पार्माका लागि विशेष खेलाडी थिए । देश अनि क्लब दुबैको लागि उनी महत्वपूर्ण मिडफिल्डर थिए । उनले २९ वर्षको उमेरमा नै व्यावसायिक फुटबलबाट सन्यास लिँदा सबै समर्थकहरु निराश भएका थिए । उनले १९९५ मा बेलमरे हिरटुस्काबाट व्यावसायिक फुटबलको सुरुवात गरेर २००६ मा बेलमरेबाट नै अन्त्य गरेका थिए ।

२) प्याट्रिक क्लुभर्टः

नेदरल्याण्डका यी खेलाडी अयाक्स, बार्सिलोना, एसी मिलान, न्युक्यासल युनाइटेड, पीएसभी र भ्यालेन्सियाका लागि खेले । उनले देशको लागि ७९ अन्तर्राष्ट्रिय र क्लवको लागि ४६८ खेल खेले । कूल २०५ गोल गरेका उनले करिअरमा ९ ट्रफी जिते । क्लुभर्ट युवा अवस्थाबाट नै उत्कृष्ट थिए । सन् १९९५ को च्याम्पियन्स लिगमा उनले अयाक्सलाई उपाधि दिलाउन महत्वपूर्ण योगदान गरेका थिए । अयाक्सलाई च्याम्पियन्स लिग जिताएपछि भने उनी बार्सिलोनामा आएका थिए । बार्सिलोनामा पनि उनले राम्रो प्रदर्शन गरेका थिए । बार्सिलोनाका लागि उनले ६ वर्षमा १२२ गोल गरेका थिए । पछिल्लो समयमा उनको प्रदर्शन राम्रो नभएपछि सन् २००८ मा उनले व्यावसायिक फुटबलबाट सन्यास लिएका थिए । त्यतिबेला उनी जम्मा ३१ वर्षका थिए ।

३) इम्मानुअल पेटिटः

मोनाको, आर्सनल, बार्सिलोना र चेल्सीमा आबद्ध फ्रान्सका यी फुटबलरले देशको लागि ६३ र क्लवको लागि ५२२ खेल खेले । करिअरमा कूल २० गोल गरेका उनले ८ ट्रफी जितेका थिए । पेटिटले फ्रान्स र इङ्ल्यान्डको क्लबमा राम्रो प्रदर्शन गरेका थिए । यसैगरी फ्रान्सलाई सन् १९९८ को विश्वकपको उपाधि दिलाउन उनले महत्वपूर्ण भूमिका खेलेका थिए । उनी विशेषगरी मोनाको र आर्सनलका लागि महत्वपूर्ण खेलाडी थिए । फ्रेन्च मिडफिल्डर पेटिटले ३३ वर्षको उमेरमा नै सन्यास लिएका थिए ।

४) योर्गेन क्लिन्समानः

इन्टर मिलान, एएस मोनाको, टोटेनहाम, वायर्न म्युनिख र साम्पडोरियाका लागि खेलेका जर्मनीका यी फुटबलरले देशको लागि ८२ र क्लको लागि ६२० खेल खेले । करिअरमा कूल २८४ गोल गरेका उनले ७ ट्रफी जितेका छन् । क्लिन्समान उनको समयका उत्कृष्ट स्ट्राइकर रुपमा चिनिएका थिए । सन् १९९५ मा उनी बालोन डी’ओरको लागि रनरअप पनि भएका थिए । क्लन्समानले ३३ वर्षको उमेरमा नै फुटबलबाट सन्यास लिएका थिए । पछि उनी प्रशिक्षकको रुपमा काम गर्न थाले । जर्मनीको राष्ट्रिय टिम र वायर्न म्युनिखमा प्रशिक्षकको रुपमा काम गरिसकेका उनी हाल अमेरिकाको राष्ट्रिय टिमको प्रशिक्षकको रुपमा कार्यरत छन् ।

५) डिडियर डेसच्याम्प्सः मार्सियल, युभेन्टस, चेल्सी, भ्यालेन्सिया र नान्टेसका लागि खेलेका इटलीका यी खेलाडीले देशको लागि १०३ र क्लबको लागि ५५६ खेल खेलेका छन् । करिअरमा कूल २१ गोल गरेका उनले १६ ट्रफी जितेका छन् । डेसच्याम्प्सले खेलाडी र प्रशिक्षक दुबैको रुपमा फ्रान्सलाई विश्वकप जिताइसकेका छन् । डेसच्याम्प्सले ३२ वर्षको उमेरमा नै व्यावसायिक फुटबलबाट सन्यास लिएका थिए । सन्यास लिएपछि भने उनी फ्रान्सको प्रशिक्षकको रुपमा काम गरेका थिए ।

६) जस्ट फोन्टेइनः

नाइस र स्टेड रेइमका लागि खेलेका फ्रान्सका यी खेलाडीले देशको लागि २१ र क्लबको लागि २८३ खेल खेलेका छन् । कूल २५९ गोल गरेका उनले ८ ट्रफी जितेका छन् । फोन्टेइनले सन् १९६२ मा फुटबलबाट सन्यास लिँदा समर्थकहरु चकित भएका थिए । उनले सन्यास लिँदा उनी जम्मा २९ वर्षका थिए । उनले सन् १९५८ को विश्वकपमा १३ गोल गरेका थिए । एउटामात्र विश्वकपमा १३ गोल आजसम्म कुनै पनि अर्का खेलाडीले गर्न सकेका छैनन् ।

७) केभिन कीगनः

स्कन्टहोर्प युनाइटेड, लिभरपुल, ह्यामबर्गर एसभी, साउथ एम्पटन, न्युक्यासल युनाइटेड र ब्ल्याक टाउन सिटीका लागि खेलेका इङल्याण्डका यी खेलाडीले देशको लागि ६३ र क्लबको लागि ८३२ खेल खेलेका छन् । करिअरमा कूल २९६ गोल गरेका उनले १० ट्रफी जितेका छन् । उनले ३३ वर्षको उमेरमा नै फुटबलबाट सन्यास लिएका थिए । उनले दुई पटक बालोन डी’ओर जितेका थिए । कीगन पनि अरु खेलाडीहरु झैं फुटबलबाट सन्यास लिएपछि प्रशिक्षकको पाटो सम्हालेका थिए ।

८) फ्रान्क रिजकार्डः

स्पोर्टिङ सीपी, अयाक्स र एसी मिलानका लागि खेलेका नेदरल्याण्डका यी खेलाडीले देशको लागि ७३ र क्लवको लागि खेलेको ५४० खेल खेलेका छन् । कूल ९ गोल गरेका उनले २३ ट्रफी जितेका छन् । रिजकार्ड उनको समयका उत्कृष्ट खेलाडी हुन् । उनी मैदानमा मिडफिल्डर र डिफेन्डर दुबै रुपमा प्रस्तुत हुन्थे । उनी अयाक्स र एसी मिलान जस्ता क्लबका लागि विशेष थिए । उनले ३२ वर्षको उमेरमा नै व्यावसायिक फुटबलबाट सन्यास लिएका थिए ।

९) मार्कोभान बास्टेनः

अयाक्स र एसी मिलानका लागि खेलेका नेदरल्याण्डका यी खेलाडीले देशको लागि ५८ र क्लबको लागि ३७३ खेल खेलेका छन् । करिअरमा कूल २७७ गोल गरेका उनले १८ ट्रफी जितेका छन् । भान बास्टेनले ३ बालोन डी’ओर जितेका थिए । तर उनले ३१ वर्षको उमेरमा नै व्यावसायिक फुटबलबाट सन्यास लिए । उनी विश्वका उत्कृष्ट स्ट्राइकरमा गनिन्छन् । भान बास्टेनले आफ्नो करियरमा जम्मा २ क्लबमा मात्र अनुबन्ध भए । उनी आयाक्स र एसी मिलानमा अनुबन्धन भएका थिए ।

१०) एरिक कान्टोनाः अक्सेरे, मार्सेइल, नाइम्स, लिड्स युनाइटेड र म्यानचेस्टर युनाइटेडका लागि खेलेका फ्रान्सका यी खेलाडीले देशको लागि ४५ र क्लबको लागि ३६९ खेल खेलेका छन् । करिअरमा कूल १५१ गोल गरेका उनले १७ ट्रफी जितेका छन् । कान्टोना फ्रान्सका फर्वाड हुन् । नब्बेको दशकमा म्यानचेस्टर युनाइटेडलाई चुलीमा पुर्याउने श्रेय कान्टोनालाई नै जान्छ । कान्टोनालाई म्यानचेस्टर युनाइटेडले युनाइटेडको उत्कृष्ट खेलाडीको सूचीको शीर्ष स्थानमा राखेको छ । ३० वर्षको उमेरमा नै व्यावसायिक फुटबलबाट सन्यास लिएर उनी सिने जगतमा प्रवेश गरेका थिए ।

२०७६ असोज २३ गते २:४० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर