भूपरिवेष्टित नेपाललाई भू–जडित बनाउन चीनले सहयोग गर्ने सीको घोषणा

आजको खबर   |    प्रकाशित : २०७६ असोज २६ गते १:१४

काठमाडौं। नेपालको दुईदिने राजकीय भ्रमणमा आएका चीनका राष्ट्रपति सी जिन्पिङले नेपाललाई ‘भूपरिवेष्‍टित देशबाट भू–जडित देश’ बन्न सघाउने बताएका छन्।

शनिवार साँझ काठमाडौंमा उनको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको रात्रिभोजअघि सम्बोधन गर्दै सीले यस्तो धारणा राखेका हुन्।

उनले भने, ‘हामी चीन–नेपाल सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन सुरु गर्नेछौँ। अरनिको राजमार्गको सञ्चालनलाई सुनिश्चित बनाइ त्यसलाई विभिन्न चरणमा स्तरोन्नति गर्नेछौँ। केरुङदेखि काठमाडौंसम्मको सुरुङ मार्गको परियोजनालाई अगाडि बढाउन हामी सक्रिय हुनेछौँ।’

‘बढीभन्दा बढी नाकाहरू खोली हिमाल वारपार बहुआयामिक सञ्जालको निर्माण गर्नेछौँ र नेपालको भूपरिवेष्टित देशबाट भू–जडित देश बन्ने सपना साकार तुल्याउन मद्दत गर्नेछौँ।’

उनले नेपाल र चीनबीच कुनै समस्या नभएको र मित्रता मात्र कायम रहेको बताए।

नेपालसँग मिलेर आफूहरूले मैत्रीपूर्ण रणनीतिक साझेदारी स्थापना गर्ने निर्णय गरेको सीले जानकारी दिए।

उनले भने, ‘वर्तमान अवस्थामा आत्मरक्षावाद, एकलवाद र प्रभुत्ववाद धेरै व्याप्त छ, हामीले बहुलवाद र आर्थिक भूमण्डलीकरणलाई समर्थन गर्नुपर्छ। जलवायु परिवर्तनप्रति नेपाली पक्षको विशेष चासोलाई चिनियाँ पक्षले राम्ररी बुझेको छ। जलवायु परिवर्तन सम्बन्धी वार्ताहरूमा नेपाली पक्षको उपयुक्त मागलाई हामी पनि समर्थन गर्दछौँ।’

नेपाली पक्षका साथ हामी जलवायु परिवर्तनको सम्बोधन प्रक्रियालाई धेरै पक्षबाट अगाडि बढाइ साझा गृहस्थल पृथ्वी विशेषगरि सगरमाथा हिमालय क्षेत्रको रक्षा गर्न सदा तत्पर रहने उनको भनाई छ।

यसपटकको भ्रमणमा नेपाल र चीनको साझा खाका बनाउन सकेको भन्दै उनले प्रसन्नता व्यक्त गरे।

उनले संयुक्त प्रयासबाट नेपाल र चीनले द्विपक्षीय भविष्य तय गर्न आह्वान गरे।

त्यसअघि बोल्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल र चीनको सम्बन्ध ‘सागरजस्तै गहिरो र सगरमाथा जस्तै उच्च रहेको’ बताएकी थिइन्।

उनले भूपरिवेष्टित नेपाललाई जोडिन चीनले महत्त्वपूर्ण भूमिका खेल्नसक्ने भएकाले सहयोग गर्न आह्वान गरिन्। उनले लुम्बिनीलाई विश्व शान्ति केन्द्र बनाउने प्रयासमा चीनको सहयोग आवश्यक रहेको बताइन्।

भण्डारीले भनिन्, ‘लुम्बिनीलाई विश्व शान्ति केन्द्र बनाउने हाम्रो प्रयासमा मित्रराष्ट्र चीनको महत्त्वपूर्ण सहयोगको अपेक्षा गरेका छौँ।’

२०७६ असोज २६ गते १:१४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर