नयाँ सभामुख नेकपाबाटै, कसकाे छ संभावना?

आजको खबर   |    प्रकाशित : २०७६ असोज २८ गते ७:०९

काठमाडौं। संसद सचिवालयकी महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको अभियोगमा कृष्णबहादुर महराले राजीनामा दिएपछि खाली भएको सभामुख पदका लागि नेकपाभित्र नेताहरुबीच दौडधुप सुरु भएको छ।

संविधानमा सभामुख र उपसभामुख फरक दल र लिंगको हुनुपर्ने उल्लख भएपनि सत्तारुढ दल नेकपाले सभामुख पद अन्य दललाई नदिने रणनीति बनाएको छ। रिक्त रहेको सभामुखको पदमा नेकपाले आफ्नै पार्टीबाट उम्मेद्वार खडा गर्ने तयारी गरिरहेको छ।

कानुनविद्हरुले नेकपाले सभामुख दाबी गर्न नमिल्ने तर्क गरेपनि नेकपाले भने आफ्नै दलबाट उम्मेद्वार खडा गर्ने तयारी गरेको स्रोतले जनाएको छ।

पूर्वसभामुखसमेत रहेका नेकपा संसदीय दलका नेता सुवास नेम्वाङले सभामुखमा दाबी गर्न नेकपालाई केहीले पनि नरोक्ने बताएका थिए। उपसभामुखले एमालेबाट उम्मेद्वारी दिएको र अब सभामुखमा नेकपाका तर्फबाट उम्मेद्वारी हुने भन्दै नेम्वाङले एउटै दलको उम्मेद्वार भन्न नमिल्ने तर्क गरेका थिए।

कानुनविद्हरुले नेकपाले सभामुख दाबी गर्न नमिल्ने तर्क गरेपनि नेकपाले भने आफ्नै दलबाट उम्मेद्वार खडा गर्ने तयारी गरेको स्रोतले जनाएको छ।

कृष्णबहादुर महरा तत्कालीन माओवादी केन्द्रबाट र उपसभामुख शिवमाया तुम्बाहाम्फेले तत्कालीन नेकपा एमालेबाट उम्मेद्वारी दिएका थिए। एमाले र माओवादी मिलेर नेकपा गठन भइसकेको अवस्थामा उपसभामुखलाई अब नेकपाको भनेर ब्याख्या गर्न नमिल्ने भन्दै नेकपाले सभामुखमा आफ्नै उम्मेद्वार खडा गर्ने तयारी गरेको हो।

तर संविधानमा भने सभामुख र उपसभामुख फरक दल र फरक लिंगको हुनुपर्ने प्रावधान छ। महरा र तुम्बाहाम्फेलाई उम्मेद्वार दलहरुबीच एकता भई एउटै पार्टी बनिसकेको अवस्थामा दुई मध्ये एकजनाले संविधानको मर्म अनुसार पद छोड्नुपर्ने तर्क प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले गर्दै आएको थियो।

सत्तारुढ दलले भने दुवैको उम्मेद्वारी दर्ता हुँदा अलग दलमा आवद्ध रहेको जिकिर गर्दै राजीनामा दिन नपर्ने अडान राख्दै आएको थियो। यो विषयमा उत्पन्न विवाद सर्वोच्च अदालतमा विचाराधीन छ।

महराले सभामुखबाट राजीनामा दिएपछि सो पदमा फेरि पनि नेकपाले दाबी गर्ने तयारी गरेपछि विपक्षी दल कांग्रेस चिढिएको छ । अधिनायकवादतर्फ उन्मुख सरकारले राज्यका सबै अंग आफ्नो नियन्त्रणमा राख्नका लागि हरसम्भव प्रयास गर्ने भएकाले संविधानविपरीत गएर नेकपाले सभामुखमा दाबी गर्नु अनौठो नभएको कांग्रेस नेताहरू बताउँछन्।

नेकपाले सभामुख पद अन्य दललाई नदिने रणनीति बनाएपछि अहिले नेकपाभित्र सभामुख बन्न नेताहरुले लविङ गर्न थालेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली सुभास नेम्वाङलाई सभामुख बनाउन चाहन्छन्। नेम्वाङको नाममा अर्का अध्यक्ष प्रचण्ड पनि सकारात्मक छन्। नेम्वाङ सभामुख भए सदनको प्रभावकारिता बढ्ने र सरकारबारे पनि जनस्तरमा आलोचना नहुने ओलीको विश्वास छ ।

प्रचण्डमाथि तत्कालीन माओवादी केन्द्रभित्रबाटै सभामुख बनाउनुपर्ने दवाब छ । पूर्वमाओवादी केन्द्रबाट देव गुरुङ, अग्नि सापकोटा र ओनसरी घर्ती लबिङमा छन्। नेकपाबाट अहिले उपसभामुख डा। शिवमाया तुम्वाहाम्फे छिन्।

२०७६ असोज २८ गते ७:०९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर