छिमेकी राष्ट्रसँगको सम्बन्ध थप सुदृढ बनाउन सफल : महासचिव पौडेल

आजको खबर   |    प्रकाशित : २०७६ कार्तिक १ गते ०:५५

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले वर्तमान सरकार छिमेकी राष्ट्रसँगको सम्बन्ध थप सुदृढ बनाउन सफल भएको बताएका छन्।

उनले नेपाल–भारत तथा नेपाल र चीन दुई छिमेकी राष्ट्रसँगको सम्बन्धलाई सरकारले गुणात्मक रुपमा अगाडि बढाएको बताए।

रुपन्देही उद्योग सङ्घको ४१औँ साधारणसभा तथा २१औँ अधिवेशनको आज बुटवलमा उद्घाटन गर्दै महासचिव पौडेलले सरकारले नेपाल र नेपालीको हित तथा नेपालको विकासमा चीन र भारतको दह्रो साथ समर्थन जुटाएको बताए।

उनले चिनियाँ राष्ट्रपतिको गृह नगर सियान शहर र बुटवल उपमहानगरपालिकाबीच भएको भगिनी सम्बन्ध र चीनसँगको सम्बन्धले बुटवलको विकासमा समेत सहयोग पुर्याउने बताए।

महासचिव पौडेलले निजी क्षेत्रको सहकार्य र लगानीबिना समृद्ध राष्ट्र निर्माण सम्भव नभएको भन्दै उनले उत्साहका साथ ढुक्क भएर लगानी गर्न उद्योगी व्यवसायीलाई आग्रह गरे।

महासचिव पौडेलले उद्योगी व्यवसायीका समस्या समाधान गर्नका लागि सरकार लागि परेको र देशको अर्थतन्त्रलाई बलियो बनाउन लगानी बढाउन निजी क्षेत्रलाई सरकारले अभिपे्ररित गर्ने बताए।

उनले हरेक वर्ष जोखिमपूर्ण बनेको बुटवल–पाल्पाको सिद्वबाबाको सडकलाई सुरक्षित बनाउन सुरुङ मार्गका लागि सरकारले बजेटको व्यवस्था गरेको उल्लेख गर्दै चालू आवमा नै सुरुङ मार्गको काम शुरु हुने जानकारी दिए।

बहुचर्चित कालीगण्डकी तीनाउ डाइभर्सन परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) निर्माणको काम भइरहेको बताउँदै उनले यस सम्बन्धमा देखिएका सबैखाले समस्या समाधान गरेर काम अघि बढाइने स्पष्ट पारे।

रुपन्देहीलाई व्यवस्थित औद्योगिक क्षेत्र भएको जिल्लाको रुपमा अगाडि बढाउन खोजिएको बताउँदै नेता पौडेलले सरकारले घोषणा गरेको मोतिपुर औद्योगिक क्षेत्रलाई आधुनिक र व्यवस्थित औद्योगिक क्षेत्र बनाइने आश्वासन दिए।

कार्यक्रममा प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले प्रदेशमा लगानी मैत्री बाताबरण बनेकाले लगानी गर्न उद्योगि व्यवसायीलाई आह्वान गरे।

उनले प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्यका लागि तयार रहेको उनको भनाइ थियो। उनले प्रदेशको स्थायी राजधानी नतोकिँदा बजेट कार्यान्वयनमा समस्या भएको बताए।

नेपाल उद्योग परिसङ्घका अध्यक्ष सतिसकुमार मौरले नागरिक अधिकार प्राप्त भए पनि अधिकार कार्यान्वयनका लागि आर्थिक समृद्धि आवश्यक रहेको र आर्थिक समृद्धिका लागि औद्योगिक क्रान्ति गर्न तीनै तहका सरकार गम्भीर बन्नुपर्ने बताए।

सो अवसरमा सङ्घका अध्यक्ष गणेशप्रसाद अधिकारीले मुलुकको औद्योगिक विकासका लागि निजी क्षेत्रबाट प्रयास भए पनि औद्योगिक वातावरण निर्माण गर्न आग्रह गरे।

यस्तै नेता पौडेलले आजै बुटवलमा एक अर्को कार्यक्रममा पाल्पा–नुवाकोट पुस्तकको लोकापर्ण गरे। पाल्पाको ऐतिहासिक नुवाकोटगढीको ऐतिहासिकता झल्काउने उद्देश्यले इतिहासकार निर्मल श्रेष्ठले लेखेको पुस्तकको महासचिव पौडेलले लोकार्पण गरेको हो।

उक्त पुस्तकमा नुवाकोटगढीको ऐतिहासिक एवम पाल्पाको प्राचीन चिनारीलाई समावेश गरिएको लेखक श्रेष्ठले जानकारी गराए।

लोकापर्ण कार्यक्रममा बोल्दै महासचिव पौडेलले नुवाकोट र जितगढिको धेरै महत्व रहेको बताए। उनले नुवाकोटगढीले विरताको र स्वधानिताको गहकिलो पाठ अहिले सिकाएको बताए।

उक्त पुस्तकमाथि प्रा डा सूर्यबहादुर जिसी र प्रगतिशिल लेखक सङ्घ रुपन्देहीका अध्यक्ष दलबहादुर गुरुङले टिप्पणी गरेका थिए। नुवाकोट विकास समितिका अध्यक्ष माधव नेपालले नुवाकोटको समग्र विकासको थालनी भएको बताए।रासस

२०७६ कार्तिक १ गते ०:५५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर