कानूनी शासनमा कसैले उन्मुक्ति पाउँदैनन् : मन्त्री बाँस्कोटा

आजको खबर   |    प्रकाशित : २०७६ कार्तिक ३ गते १:०९

काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वर्तमान कानूनी शासनभित्र कसैले उन्मुक्ति पाउन नसक्ने बताएका छन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभ्रेपलाञ्चोक जिल्ला कमिटिका पदाधिकारीलाई सपथ दिलाउन आज बनेपामा आयोजित कार्यक्रममा उनले कानूनी शासनभित्र कसैले उन्मुक्ति नपाउने र कानून सबैलाई बाराबरी लाग्ने बताए।

पार्टीका केन्द्रीय सदस्य एवम जिल्ला इन्चार्जसमेत रहेका मन्त्री बाँस्कोटाले भने, “कानून सबैका निम्ति बराबर हो, विधिमा चलेको वर्तमान सरकार सुशासनको पहरेदार बनिरहेको छ, बनिरहन्छ ।” विधिको शासन स्थापित गर्न सरकार दत्तचित्त रहेकोमा कसैलाई शङ्का नगर्न उनले आग्रह गरे।

मन्त्री बाँस्कोटाले प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले प्रशासनलाई चुनौती दिने गल्ती गरिरहेको दाबी गरे। “एकातिर सुशासन स्थापनाको माग गर्ने, अर्कोतिर २२ जनालाई जिउँदै भट्टामा हाल्ने आरोप खेपेका मान्छेलाई गिरफ्तार गर्दा राज्यसंयन्त्र प्रयोग गरेर दुःख दियो, सुशासन खोइ भनेर प्रश्न गर्ने तपाईहरुको नैतिकता कहाँ गयो ?” उनले प्रश्न गरे। सुशासनमाथि आक्रमण नगर्न उहाँले चेतावनीसमेत दिए।

मन्त्री बाँस्काटाले गलत विषय समाजमा स्थापित नहुने भएकाले भ्रममा नपर्न काङ्ग्रेसलाई सुझाव दिए। उनले भने, “यो कम्यूनिष्ट पार्टीले निर्माण गरेको सरकार हो सत्ता होइन, त्यसैले यहाँ कानूनी राज चल्छ, यो कानूनी राजभित्र कसैले उन्मुक्ति पाउँदैनन्।”

केही समयअघि सभामुखको घटना आउँदा रमाउने र कानूनी राज ठीक लाग्यो भन्ने काङ्ग्रेस २२ जनाको जीवनलीला समाप्त पार्नेलाई गिरफ्तार गर्दा कानूनी शासन भएन, दमन गरियो, भन्ने लोकतान्त्रिक संस्कार कुन हो भन्दै उनले प्रश्न गरे।

“वर्तमान सरकार, भ्रष्टाचार र अपराधविरुद्ध निर्मम हुन्छ, कोही कसैलाई पनि छुट दिनेछैन” उनले भने। सरकारले बदला र प्रतिशोधको भावनामा राजनीति नगरेकाले न्याय, समानताको स्थान र विधिको शासनप्रति ढुक्क हुन उनले आग्रह गरे। मन्त्री बाँस्कोटाले रेलको प्रसङ्ग कोट्याउँदै छिमेकी देशहरुले ३१ प्रतिशतसम्म ऋण लिएर काम गर्ने गरेको बताए। उनले भने, “हामीले अहिलेसम्म ऋण लिएका छैनौँ, तर हाम्रो क्षमता ३४ प्रतिशतसम्म लिनसक्ने छ।”

मन्त्री बाँस्कोटाले उत्पादनको संघर्ष समाजवादतर्फ जाने बाटो भएको बताए। “सामाजिक र आर्थिक रुपान्तरणबिना समाजवाद स्थापना हुन सक्दैन, समाजवादमा न्याय प्रणाली वितरणको पनि संघर्ष हुन्छ” उनले भने।

पार्टी र सरकार नङ र मासु भएर चल्नुपर्ने भएकाले पार्टीको लडाइँको मोर्चा तिखार्दै उच्च मनोवलका साथ उत्पादनको संघर्षमा लाग्न उनले नेताकार्यतासँग आग्रह गरे।

२०७६ कार्तिक ३ गते १:०९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर