न्यूयोर्कबाट सिधै सिड्नीसम्म उड्यो विमान

आजको खबर   |    प्रकाशित : २०७६ कार्तिक ४ गते ०:५४

न्यूयोर्क (एजेन्सी) । अस्ट्रेलियाली वायुसेवा क्वान्टसले हालसम्मकै सबैभन्दा लामो समयको परीक्षण व्यापारिक उडान पूरा गरेको छ । बोइङ ७८७ –९ विमान ४९ यात्रु बोकेर न्यूयोर्कबाट १९ घण्टा १६ मिनेटमा १६ हजार दुई सय किलोमिटर पार गरेर सिड्नी पुगेको हो । लगातार लामो उडान गर्दा विमानचालकहरू, चालकदलका सदस्यहरू र यात्रुहरूलाई कस्तो प्रभाव पार्छ भनेर अध्ययनका लागि उक्त उडान गरिएको थियो । अर्को महिना लन्डनदेखि सिड्नीसम्म सीधा उडान गर्ने उक्त कम्पनीको योजना रहेको छ ।

सन् २०१९ को अन्त्यसम्म यी हवाई मार्गहरुमा व्यापारिक उडानहरू गर्ने या नगर्ने भन्ने निर्णय लिइसक्ने क्वान्टसले बताएको छ । क्वान्टसले उडान गर्ने निर्णय गरेको खण्डमा सन् २०२२ देखि ती हवाई मार्गमा उडान सुरु हुने छ । समाचार संस्था रोयटर्सका अनुसार हालसम्म कुनै पनि व्यापारिक यात्रु र माल बोकेर यति लामो हवाई मार्गमा उडान गरेको छैन । उडान गर्दै बीचमा इन्धन हाल्न नपरोस भनेर क्वान्टसले सकेसम्म धेरै इन्धन हालेर उडेको थियो भने यात्रुका झोला र अन्य सामान बोकेको थिएन ।

विमानमा यात्रा गरेपछि हुने थकान कम गर्न जहाजमा चढेपछि यात्रुहरूले उनीहरूको घडी सिड्नीको समयसँग मिलाएका थिए । पूर्वी अस्ट्रेलियामा रात नपर्दासम्म उनीहरूलाई सुत्न दिइएको थिएन । त्यसको छ घण्टापछि उनीहरूलाई धेरै कर्बोहाइड्रेड भएको खाना खुवाइएको थियो र उनीहरूलाई सुत्न प्रेरित गर्नका लागि जहाजभित्रको बत्ती मधुरो बनाइएको थियो ।

विमानभित्र चालकको मस्तिष्कको सतर्कता र फरक समय भएका धेरै ठाउँहरू पार गर्दा शरीरमा पर्ने प्रभाव बारे पनि परीक्षण गरिएको थियो । ‘उड्डयन क्षेत्रमा यस प्रकारको महत्पूर्ण परीक्षण पहिलो पटक भएको छ,’ क्वान्टस समूहका प्रमुख कार्यकारी अधिकृत एलन जोएसले भने, ‘आशा गरौँ यो परीक्षणले पृथ्वीको एउटा भागबाट अर्को भागमा गर्ने यात्रालाई छिटो बनाउनेछ ।’

पछिल्ला वर्षहरूमा लगातार लामो उडानलाई लिएर उड्डयन बजारमा तीव्र प्रतिस्पधा चलिरहेको छ र धेरै वायुसेवाहरूले हवाई मार्ग बढाएका छन् । सिङ्गापुर एअरलाइन्सले गतवर्ष सिङ्गापुरबाट न्यूयोर्कसम्मको झण्डै १९ घण्टा लामो सीधा उडान सुरू गरेको थियो र हाल यो नै विश्वकै सबैभन्दा लामो नियमित व्यापरिक उडान हो । यस्तै क्वान्टसले गतवर्ष पर्थदेखि लन्डनसम्मको १७ घण्टा लामो भने कतार एअरवेजले अकल्याण्ड र दोहाबीचको १७.५ घण्टा लामो उडान गर्दै आएको छ ।

२०७६ कार्तिक ४ गते ०:५४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर