चिलीमा गहिरिँदो सङ्कटः प्रदर्शनबिच लुटेराहरूले आगो लगाइदिँदा पाँच जनाको मृत्यु

आजको खबर   |    प्रकाशित : २०७६ कार्तिक ४ गते ७:५०

बीबीसी । चिलीको राजधानी स्यान्टिएगोमा विरोध प्रदर्शनको लहर चलिरहेका बेला लुटेराहरूले राजधानी नजिकैको एउटा कपडा कारखानामा आगो लगाइदिँदा पाँचजनाको मृत्यु भएको छ।

मुख्य सहरहरूमा रात्रिकालीन कर्फ्यू लगाइएको छ भने प्रदर्शनकारीविरुद्ध सेना र प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेका छन्। मेट्रो रेलको भाडादर वृद्धि भएसँगै सुरु भएको विरोध प्रदर्शनहरूमा अहिले महँगो जीवनयापन र असमानतासम्म प्रतिविम्बित भएका छन्।

अवस्था बिग्रँदै गएपछि बढाइएको भाडा दर स्थगित गरिएको छ। राष्ट्रपति सेबास्टियन पीनेराले सरकारको प्रतिक्रियाको बचाउ गरेका छन्।

अधिकारीहरूसँगको आपत्कालीन बैठकपछि बोल्दै उनले भने, ‘मलाई लाग्छ कि प्रजातन्त्रमा केवल अधिकार मात्रै हुँदैन। प्रजातन्त्रले प्रदान गर्ने सबै साधन प्रयोग गरेर आफ्नो बचाउ गर्नु पनि प्रजातन्त्र हो।’

शुक्रवार उनले देशका पाँचवटा क्षेत्रमा सङ्कटकाल घोषणा गरेपनि देशभर प्रदर्शन जारी छ। उक्त सङ्कटकाल अन्तर्गत मानिसहरूलाई भेला हुन र आवतजावत गर्न रोक लगाइएको छ।

अगस्टो पिनोसेको तानाशाही शासन सकिएपछि सन् १९९० मा चिलीमा प्रजातन्त्रमा पुनर्स्थापना भएयता पहिलोपटक हजारौँ सैनिक र पानीका ट्याङ्करहरू राजधानी र अन्य सहरका सडकहरूमा पठाइएका छन्।

आइतवार लुटपाट र आगजनी निरन्तर भयो र प्रदर्शनकारीहरूले थप बस जलाए, मेट्रो स्टेसनहरूमा तोडफोड गरे र दङ्गा प्रहरीसँग झडप गरे। राजधानी स्यान्टिएगोमा सबैजसो सार्वजनिक यातायात बन्द छन्, अन्तर्राष्ट्रिय विमानस्थलबाहेकका उडानहरू रद्द भए र पसलहरू बन्द रहे।

शनिवार दुईवटा सुपरमार्केटमा भएका हमलामा तीनजना मानिसहरूको ज्यान गयो। देशभर १४ सय मानिसहरू थुनामा रहेका छन् भने अधिकारीहरूका अनुसार प्रहरीसँगको झडपपछि दुईजना मानिसहरू गोली लागेर घाइते भएका छन्।

सार्वजनिक यातायातको भाडादरमा वृद्धि भएको विषयबाट उठेको उक्त अशान्तिमा शुक्रवारयता ८ जनाको ज्यान गइसकेको छ।

२०७६ कार्तिक ४ गते ७:५० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर