जन्मदिन विशेषः ‘क्याप्टेन कूल’ पारसको ‘धोनीपथ’

आजको खबर   |    प्रकाशित : २०७६ कार्तिक ७ गते ८:०७

दामोदर नेपाल

काठमाडौं। सन् २०१६ को जनवरीमा कप्तान पदबाट राजीनामा दिँदै गर्दा भारतका सबैभन्दा सफल कप्तान महेन्द्र सिंह धोनीले यसको कारण खुलाएनन् । तर, २०१९ को विश्वकपसम्म आइपुग्दा उनले राजीनामा दिनुको कारण विस्तारै खुल्दै गयो । धोनी चाहन्थे आफू मैदानमा रहँदै भारतले अर्को कप्तान पाओस् ताकि नयाँ कप्तानले आफूबाट धेरै कुरा सिक्न सकुन् र विश्वकपसम्म पुग्दा कप्तानीका सबै रणनीति सिकुन् ।

धोनीले यो कुरा विश्वकपमा आइपुगेपछि मात्रै खुलासा गरे । धोनीले अझै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छैनन् र अझै पनि मैदानमा उनी नयाँ कप्तान विराट कोहलीलाई केही न केही सिकाइरहेका हुन्छन् । विकेटकिपर धोनी स्टम्पपछाडि रहेर कोहलीलाई भनेका कुराहरु बेलाबेलामा स्टम्पको माइकमार्फत बाहिर पनि सुनिन्छन् ।

अहिले नेपालमा त्यही भएको छ । नेपालका सबैभन्दा सफल कप्तान पारस खड्काले राजीनामा दिएका छन् । राजीनामा दिएलगत्तै उनले राजीनामा दिनुको कारण खुलाएनन् । उनले यत्ति भने ‘क्यानको नयाँ नेतृत्व आएको छ । नेपाल क्रिकेट संघमाथि आइसीसीले लगाएको प्रतिबन्ध पनि फुकुवा भएको छ । यो बेलामा क्यानले नयाँ कप्तान छानेर अघि बढ्न सजिलो होस् भनेर राजीनामा दिएको हुँ ।’ पारसले कप्तानबाट राजीनामा दिए तर लगत्तै भने ‘जिम्मेवारी मात्र छाडेको हुँ क्रिकेटबाट सन्यास लिएको होइन । म अझै क्रिकेट खेल्छु ।’

सन् २००९ मा पारस विनोद दासलाई प्रतिस्थापन गर्दै नेपाली क्रिकेटको कप्तान भएका थिए । पारसकै शब्दमा भन्ने हो भने त्यतिबेला उनलाई कप्तान बन्नको लागि तयार रहन भनिएको थिएन । आफू कप्तान बन्ने कुनै पूर्वसंकेत थिएन । एक्कासी कप्तानको जिम्मेवारी दिइयो । सम्भवतः त्यतिबेला एक्कासी आएको जिम्मेवारी पूरा गर्न सुरुवाती चरणमा उनलाई कठिन भयो । यही कारण हुन सक्छ उनी आफू मैदानमा छँदै नयाँ कप्तान तयार गर्न चाहन्छन् ताकि आफूले मैदान छाड्दाको दिन नयाँ कप्तानलाई एक्कासी आएको जिम्मेवारीले थिचिएको महसुस नहोस् । अर्थात सारमा भन्नुपर्दा पारसले धोनीको बाटो लिएका छन् ।

पारस र धोनीबीच कप्तानी छाड्ने विषयमा मात्र समानता छैन । यी दुईबीच धेरै कुरामा समानता छ । यतिमात्र होइन समयले पनि यी दुईबीच निकै दुर्लभ संयोग बनाइदिएको छ । धोनी निकै कूल छन् र उनलाई क्याप्टेन कूल भनेर चिनिन्छ । पारस पनि उस्तै छन् – जस्तोसुकै परिस्थितिमा कूल रहेर कठिन परिस्थितिलाई अनुकूल बनाउने । धोनीले कैयौं पटक कठिन परिस्थितिमा आफ्नो रणनीतिकै दममा खेल उल्ट्याइदिएका छन् । पारसले पनि यस्तो धेरै पटक गरिसके । धोनी टिमका अन्य खेलाडीले साथ नदिँदा पनि एक्लै खेल जिताउन सक्षम छन् । पारसले पनि धेरै पटक एक्लै खेल जिताएका छन् ।

समयले पनि यी दुईबीच दुर्लभ संयोग बनाइदिएको छ । आज पारसले आफ्नो ३२ औं जन्मदिन मनाउँदै गर्दा उता भारतमा महेन्द्र सिंह धोनीको भविष्यको फैसला हुँदैछ । बीसीसीआइका नवनियुक्त अध्यक्ष सौरभ गांगुलीले धोनीको भविष्यका विषयमा छनोटकर्ताहरुसँग छलफल गर्दैछन् । यतिमात्र होइन यी दुवैले अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेको वर्ष पनि एउटै छ । दुवैले सन् २००४ मा राष्ट्रिय टिममा डेब्यू गरेका थिए ।

पारसको करिअरलाई नै हेर्दा पनि उनको कप्तानीमा नेपालको उतारचढावले उनलाई सफल कप्तान बन्न कति समय लाग्यो भन्ने बुझ्न सकिन्छ । पारस २००९ मा कप्तान बन्दा नेपाल डिभिजन ५ मा थियो । त्यसपछि १ वर्षको अवधिसम्म नेपाली क्रिकेटमा खासै उल्लेख्य प्रगति देखिएन । सम्भवतः पारसले कप्तानी सिक्दै थिए । उनी कप्तान भएको एक वर्षपछि नेपाली क्रिकेटले क्रमशः फड्को मार्दै २०१४ मा टि–२० विश्वकपसम्मको यात्रा तय गर्यो । टिम उनको नेतृत्वमा धेरै अगाडि बढ्यो तर पारस यो आफूले गरेको ठान्दैनन् । ‘प्रशिक्षक र खेलाडीको सामूहिक प्रयासले यो सम्भव भयो’ उनी भन्छन् ।

पारस नेपालका सबैभन्दा सफल कप्तान मात्र होइनन्, सबैभन्दा सफल खेलाडी पनि हुन् । उनी राष्ट्रिय टिमका भरपर्दा अलराउन्डर र मिडियम फास्ट बलर तथा अफ स्पिन बलर पनि हुन् । यद्यपि पछिल्लो समय उनले बलिङ कम गर्ने गरेका छन् । नेपालले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २३ वर्ष नाघिसक्यो । तर, ठूलो सफलता भने उनकै कप्तानीमा हासिल गर्यो । १० वर्षअघि पारसले कप्तानी सम्हाल्दा डिभिजन ५ मा रहेको टिम अहिले एकदिवसीय क्रिकेट खेल्ने राष्ट्र बनिसकेको छ ।

सन् २००४ मा मलेसियाविरुद्धको खेलबाट अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेका पारसको कप्तानीमा नेपाली टिमले थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि पनि जितिसकेको छ । नेपालले सन् २०१३ को नोभेम्बरमा सम्पन्न खेलमा हङकङलाई अन्तिम बलमा पराजित गर्दै आइसीसी विश्व टि—२० को स्थान बनाएको थियो । त्यसयता नेपाली टिमको सबैभन्दा भरपर्दा खेलाडीको रुपमा खेल्दै आएका पारसले यसै महिना विश्व रेकर्ड समेत बनाए । टि–२० अन्तर्राष्ट्रियमा लक्ष्य पच्छ्याउँदै शतक प्रहार गर्ने पारस एकमात्र कप्तान हुन् ।

कप्तानबाट राजीनामा दिँदै गर्दा पारसले क्रिकेट संघप्रति पनि ठूलो अपेक्षा देखाएका छन् । उनले भनेका छन् ‘अब नेपाली क्रिकेटलाई माथि लैजानका लागि खेलाडीको मेहनतले मात्रै पुग्दैन । अब आशा गरौँ, जो जो व्यक्तिहरु जिम्मेवारीका लागि तयार भएर आउनु भएको छ उहाँहरुले आफ्नो जिम्मेवारी पूरा गर्नुहुने छ ।’

२०७६ कार्तिक ७ गते ८:०७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर