नेकपाबाट कास्की–२ मा विद्या उम्मेदवार हुने पक्का

आजको खबर   |    प्रकाशित : २०७६ कार्तिक ९ गते १:०५

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट आगामी मंसिर १४ गते हुने उप निर्वाचनमा कास्की –२ बाट विद्या भट्टराई उम्मेदवार हुने लगभग पक्का भएको छ। तत्काली मन्त्री तथा सांसद रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि कास्की–२ मा उप निर्वाचन हुन लागेको छ।

रवीन्द्रको स्थानमा उनको दल नेकपाले उनकै श्रीमती विद्यालाई उम्मेदवार बनाउन लागेको हो।

नेकपा कास्की जिल्ला कमिटीले विद्याको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको नेकपा कास्कीले जनाएको छ। उनको मात्र नाम सिफारिस भएकाले उनी उम्मेदवार हुने पक्का भएको हो। शुक्रबार बसेको जिल्ला कमिटीको बैठकले उनको मात्र नाम सिफारिस गर्न सहमति गरेको हो ।

उपनिर्वाचनमा एकमात्र प्रतिनिधिसभा सदस्यका लागि कास्की २ मा चुनाव हुने भएपछि सबै दलहरुको ध्यान त्यतै केन्द्रित भएको छ। अझ तत्काली मन्त्री अधिकारीको निधनपछि रिक्त भएको स्थान भएकाले पनि सो निर्वाचन क्षेत्र चर्चाको केन्द्रमा छ।

नेकपा र काँग्रेसबीच प्रतिस्पर्धा हुने मानिए पनि साझा पार्टीले काँग्रेस छाडेर आएकी मोडल रजनी केसीलाई उम्मेदवार घोषणा गरेपछि त्यहाँ त्रिपक्षी प्रतिस्पर्धा हुने देखिएको छ। काँग्रेसले भने हालसम्म उम्मेदवार टुंगो लगाएको छैन।

कास्की जिल्ला कार्यसमितिले १६ जनाको नाम केन्द्रीय कार्यसमितिमा पठाएपछि केन्द्रले विधान विपरित धेरै नाम पठाएको भन्दै फेरि तीनजनाको मात्र नाम सिफारिस गर्न जिल्ला कार्यसमितिलाई निर्देशन दिएको छ। काँग्रेसले यही कात्तिक १४ गते बस्ने केन्द्रीय समिति बैठकबाट उम्मेदवारको टुंगो लगाउने जनाएको छ।

२०७६ कार्तिक ९ गते १:०५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर