सुकुटे बस दुर्घटनाका घाईतेलाई भेट्न धुलिखेल पुगे देउवा, ‘उपचारमा कमी नहोस्’

आजको खबर   |    प्रकाशित : २०७६ कार्तिक १८ गते ८:४२

काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सुकुटे बस दुर्घटनाका घाइतेहरुलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

उनले आज विहान धुलिखेल अस्पतालमा उपचाररत घाइतेहरुलाई भेटेर उपचारमा आफ्नो पार्टीको तर्फबाट पूर्ण सहयोग रहने बताउदै नआत्तिन आग्रह गरे ।

घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले अस्पतालका चिकित्सकलाई समेत उपचारमा कुनै कमी हुन नदिन आग्रह गरे ।

सो अस्पतालमा सुकुटे दुर्घटनाका करिब ४० जना घाइते उपचाररत छन् । सभापति देउवासँगै पूर्वमन्त्री एवं काङ्ग्रेसका नेता मोहनबहादुर बस्नेतलगायत स्थानीय नेताहरु अस्पताल पुगेका थिए ।

अरनिको राजमार्गअन्तर्गत सुकुटेमा आइतबार भएको बस दुर्घटनामा १७ जनाको मृत्यु भएको थियो भने दर्जनौँ यात्रु घाइते भएका थिए।

दोलखाको मुडे देउरालीबाट काठमाडौँका लागि छुटेको बा२ख ७२४५ नम्बरको यात्रुबाहक बस सुनकोशी नदीमा खस्दा उक्त दुर्घटना भएको थियो। रासस

२०७६ कार्तिक १८ गते ८:४२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर