जमुवाका घर हात्तीले भत्कायो
आजको खबर | प्रकाशित : २०७६ कार्तिक १९ गते ३:०४

सप्तरी । कञ्चनरुप नगरपालिका–६ जमुवामा सोमबार हात्तीको समूहले स्थानीयवासी धनेश्वर चौधरीको भान्साघर भत्काएको छ।
कोशीटप्पु वन्यजन्तु आरक्षबाट आएका तीन जङ्गली हात्तीले फुसको भान्सा घर भत्काई त्यहाँ रहेको अन्नपात खाएको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ।
हात्तीले घर भत्काउँदा र अन्नपात खाँदा रु २५ हजार मूल्य बराबरको क्षति भएको चौधरीले बताए । प्रहरी र स्थानीयवासीले हात्तीलाई जङ्गलतर्फ लखेटेका छन् ।
शनिबार राति र आइतबार बिहान अग्नीसाइर कृष्णसवरण गाउँपालिका वडा नं ६ मोहनपुरस्थित १० घर हात्तीले भत्काएको थियो ।
आरक्षबाट आएका चार हात्तीले १० घर भत्काएको स्थानीयवासी दुखी यादवले बताए । यादवसहित हात्तीले कमानसिंह मगर, मञ्जु कार्की, रोमा परियारलगायतका घर भत्काएको थियो।
हात्तीको समूहले कोदोबारी, केराबारीसमेत नष्ट गरेको स्थानीयवासीले बताएका छन् । हात्तीको आक्रमणमा परी वर्षेनी मान्छेको ज्यान जानुका साथै सयौँ बिघामा लगाएको अन्नबाली नष्ट पार्दा समेत कुनै निकायले रोकथामका लागि पहल नगरेको स्थानीयवासीको गुनासो छ। रासस