प्रचण्ड–मोदी भेटवार्ता : धार्मिक पर्यटनदेखि सीमा समस्यासम्म छलफल

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २४ गते १:५१

नयाँ दिल्ली। भारत भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शनिबार भेटवार्ता गरेका छन्। भेटमा पछिल्लो समयमा भएका दुई प्रधानमन्त्रीका भ्रमण, बिम्स्टेक सम्मेलन, दुई देशका आपसी हित र विकास निर्माणको सम्भावना बारे छलफल भएको थियो।

नेपालमा हाइड्रो इनर्जीको विकास, हुलाकी मार्गको निर्माण, रेलवे निर्माण, जलमार्ग, कृषिमा आधारित उद्योग र पर्यटन क्षेत्रको विकासको बिषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ।

धार्मिक पर्यटनका लागि नेपाल र भारतमा भएका शक्तिपीठहरुको एक वृहत्तर सर्किट बनाउने बिषयमा र एभरेष्टको पानीलाई मिनरल वाटरको रुपमा विश्वभरी लैजान सहकार्य गर्ने बारेमा पनि छलफल भएको थियो। त्यसैगरी नेपाल भारत सीमामा रहेका समस्याहरुको समाधानका सम्बन्धमा छलफल भएको थियो। सीमा क्षेत्रमा भन्सारहरुको स्तरउन्नतीको बिषयमा पनि चर्चा भएको प्रचण्डको सचिवालयले जनाएको छ।

दुई देशको आपसी हित कसरी सुदृढ गर्ने भन्ने बिषयमा छलफल गर्दै पछिल्लो चरणमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको सन्दर्भमा भएका सकारात्मक समझदारीहरु र सहमतिहरुलाई प्रभावकारी रुपले कार्यान्वयन गर्ने बारेमा छलफल भएको थियो।

यसका साथै अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएर आएका बेलामा केही सहमति खास गरी कास्की जिल्लामा पोलिटेक्निकल इस्टिच्युट स्थापनामा भारत सरकारले सहयोग गर्ने भन्ने बिषयमा पनि ठोसरुपमा कुराकानी भएको थियो। दुबै नेताहरुबीच झण्डै एक घण्टा छलफल भएको थियो।

यसैबीच अध्यक्ष प्रचण्डको भारतीय विदेश मन्त्री सुषमा स्वराजसँग पनि भेटवार्ता गरेका छन्। भेटका आवसरमा कम्युनिष्ट पार्टीहरुको एकतासँग सम्बन्धित र दुई तिहाईको सरकार बनेपछि नेपाल भारत सम्बन्धमा भएका विकासका प्रयास बारे छलफल भएको थियो।

यसैगरी भारतीय काँग्रेसका नेता तथा पूर्व प्रधानमन्त्री मनमोहन सिंहसँग शनिबार दिँउँसो प्रचण्डले भेटवार्ता गरेका थिए। भेटमा मनमोहन सिंह प्रधानमन्त्री ुभएका बेलामा भएका समझदारी, छलफल र नेपालमा शान्ति प्रक्रियालाई अगाडि बढाउन उनको नेतृत्वको सरकारबाट भएको सहयोगप्रति अध्यक्ष प्रचण्डले धन्यवाद दिएका थिए।

२०७५ भदौ २४ गते १:५१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर