टि २० विश्वकप : पहिलो चरणको छनोटमा नेपालका प्रतिद्वन्द्वी यस्ता

आजको खबर   |    प्रकाशित : २०७५ असोज १ गते १३:४९

काठमाडौं । सन् २०२० मा अस्ट्रेलियामा हुने टी-२० विश्वकप छनोटको यात्रा नेपालले असोज दोस्रो हप्ताबाट सुरु गर्दै छ। मलेसियामा असोज १७ देखि २६ गतेसम्म हुने प्रतियोगितामा नेपाल सहभागी हुनेछ।

पहिलो चरणको छनोटमा नेपालसहित ७ टिमले भाग लिँदैछन्। एसियाको पूर्वी राष्ट्रबीच हुने प्रतिस्पर्धामा नेपाल, सिंगापुर, मलेसिया, भुटान, चीन, म्यानमार र थाइल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ। राउन्ड रोबिनको आधारमा हुने प्रतिस्पर्धाबाट ३ टीम दोस्रो चरणको छनोटमा छानिनेछन्।

पहिलो चरणमा नेपाललाई सहज देखिएको छ। पहिलो चरणमा नेपालले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धा गर्दैछ। यस्तै ७ मध्ये ३ टिम दोस्रो चरणमा पुग्ने भएकाले पनि नेपाललाई सहज हुने पक्का छ।

यसअघि एसियाको पश्चिम क्षेत्रीय छनोटबाट ३ टिमले दोस्रो चरणमा स्थान पक्का गरिसकेका छन्। एसिया पश्चिम क्षेत्रबाट यूएई, कतार र कुवेतले अन्तिम दोस्रो चरणमा स्थान बनाएका थिए।

नेपालको खेल तालिका यसप्रकार छ
असोज १७– नेपाल भर्सेस म्यानमार– किनरारा ओभल
असोज २०– नेपाल भर्सेस मलेसिया– किनरारा ओभल
असोज २१– नेपाल भर्सेस थाइल्यान्ड– किनरारा ओभल
असोज २३ – नेपाल भर्सेस भुटान– बायुमास ओभल
असोज २४– नेपाल भर्सेस चीन– किनरारा ओभल
असोज २६– नेपाल भर्सेस सिंगापुर– किनरारा ओभल

दोस्रो चरणमा यूएई, कतार र कुवेतसँगै पूर्व क्षेत्रबाट छनोट हुने ३ टिमसहित ६ टिमबीच प्रतिस्पर्धा हुनेछ। दोस्रो चरणको छनोटको मिति अहिलेसम्म सार्वजनिक भएको छैन। नेपाललाई पहिलो चरणभन्दा दोस्रो चरणमा असहज हुन सक्छ। किनकी एसियाका ६ टिम मध्ये २ टिमले मात्र अन्तिम चरणको छनोटका लागि प्रतिस्पर्धा गर्न पाउनेछन्।

अन्तिम चरणको छनोटमा विभिन्न महादेशबाट ८ टिम पुग्नेछन्। जहाँ एसिया, अफ्रिका र अमेरिका क्षेत्रबाट २–२ टिम पुग्नेछन्। यस्तै एसिया प्यासेफिक र युरोपका लागि १–१ कोटा छुट्याइएको छ।
सन् ‍२०१८ को डिसेम्बर सम्ममा आइसिसीको शीर्ष १० वरीयता भित्र नपर्ने ६ टिमले पनि अन्तिम चरणको छनोट खेल्नु पर्नेछ।

यसरी विभिन्न छनोट पार गरेका ८ टिम र वरियातामा नपरेका ६ टिम गरी १४ टिमबीच अन्तिम चरणको छनोट हुनेछ। अन्तिम चरणको छनोटबाट ६ टिम अस्ट्रेलियामा २०२० मा हुने टी–२० विश्वकपमा छानिनेछन्।

छनोट पार गरेका ६ टिम र शीर्ष वरीयताका १० टिम गरी १६ टिमबीच २०२० को टी–२० विश्वकपमा प्रतिस्पर्धा हुनेछ।

२०७५ असोज १ गते १३:४९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर