बुढेसकालमा वामदेवको बालहठ र पार्टी गर्भमै भ्रुण हत्याको संभावना (टिप्पणी)

आजको खबर   |    प्रकाशित : २०७५ असोज २४ गते ५:०६

मदन कोइराला

काठमाडौं। २०७४ मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बर्दियाबाट पराजित बाम गठबन्धनका शीर्ष नेता वामदेव गौतमको सांसद बन्ने रहरले राजनीतिमा नयाँ तरङ्ग ल्याएको छ। सामाजिक सञ्जाल देखि मिडिया हुँदै जनजनले वामदेवको यो हठ र नेकपाको लोकतान्त्रिक पद्धतिमाथिको उपहास भन्दै तीखो निन्दा र चर्चा गरिरहेको छ।

वामदेवलाई सांसद बनाउन भन्दै काठमाडौँ निर्वाचन क्षेत्र नम्बर सातबाट विजय भएका तत्कालीन बाम गठबन्धन एवं अहिलेको नेकपाका उम्मेद्वार रामवीर मानन्धरले मङ्गलबार पत्रकार सम्मेलन गरेर राजीनामाको घोषणा गरे। रामवीरको राजीनामा घोषणासँगै काठमाडौँ क्षेत्र नम्बर सातमा उपनिर्वाचन हुने पक्का भएको छ। यो सँगै दुईतिहाइको सरकार नेतृत्व गरेको नेकपा थप आलोचनामा घेरिएको छ। विजयी सांसदलाई वली चढाएर पराजित सांसदका लागि स्थान सुरक्षित गरिदिने यो तयारीलाई अलोकतान्त्रिक र जनमतको उपहास भनेर तीब्र आलोचना सुरु भएको छ।

पराजितको दाग

एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल हुँदासमेत गौतम बर्दियामा नेपाली काङ्ग्रेसका उम्मेद्वार सञ्जय गौतमसँग पराजित भएका थिए। प्रतिनिधिसभा निर्वाचनमा नेकपाका शीर्षमध्येका नेता गौतम र नारायणकाजी श्रेष्ठ पराजित भएका थिए। श्रेष्ठलाई नचाहिएको सांसद पद वामदेवका लागि किन टड्कारो पर्यो ? यो प्रश्नको उत्तर भित्र धेरै कथा, जालझेल र नेकपा पार्टी नेतृत्वको अन्तरसङ्घर्षको त्यान्द्रो गाँसिएको प्रष्टै बुझ्न सकिन्छ।

ओलीलाई धक्का दिने रणनीति अन्तर्गत प्रचण्ड र वामदेवबीचको तालमेलमा यदी यो सबै हुँदैछ भने काठमाडौँ सातको चुनावी परिणामलाई नै उल्ट्याएर वामदेवको सांसद बन्ने चाहना पार्टी गर्भमै तुहिने निश्चित छ। ७० काटेका वामदेवको सांसद अवतार लिने लालसालाई सुम्सुम्याउँदै गर्भमै त्यसको भ्रुणहत्या गर्न पार्टी भित्रकै सुँडेनीहरुले हात छिराउन के बेर?

अहिले वामदेव गौतमका लागि खाली गरिएको काठमाडौँ निर्वाचन क्षेत्र नम्बर सातमा बामपन्थी गठबन्धनका तर्फबाट मानन्धरले काङ्ग्रेसको समर्थन पाएका राप्रपाका उम्मेद्वार विक्रमबहादुर थापालाई झण्डै दोब्बर मतले पराजित गरेका थिए। मानन्धरले १८ हजार १ सय २ मत ल्याउँदा थापाले १० हजार ७९ मत प्राप्त गरेका थिए। विवेकशील साझाकी अनुपा श्रेष्ठले ५ हजार ३ सय ७६ मत ल्याएकी थिइन् भने सङ्घीय समाजवादी फोरमका ज्ञानेन्द्र मोहन श्रेष्ठले १ हजार ७ सय १८ र नयाँ शक्तिका ईश्वर रिजालले ७ सय २८ मत ल्याएका थिए। मत परिणामको यो अंक गणितलाई केलाउँदै अब हुने उपनिर्वाचनको परिणाम के आउला ? भन्ने नापतौल सुरु भएको छ।

काङ्ग्रेसको समेत समर्थन पाएका राप्रपाका उम्मेदवारलाई झण्डै दोब्बर मतले पराजित गरेका मानन्धर सो क्षेत्रबाट दुई पटक निर्वाचित भइसकेका छन्। काठमाडौँ सातलाई बामपन्थीको गढ नै मानिन्छ। काठमाडौँ सातमा बालाजु, क्षेत्रपाटी, वनस्थली, खुसिवु, इचंगुलगायतका क्षेत्र पर्छन्।

अन्य क्षेत्रभन्दा काठमाडौँ सात तुलनात्मक वामदेवकालागि सहज ठानेर उनका लागि यो ठाउँ पक्का गर्ने प्रपञ्च रचिएको देखिन्छ। तर काठमाडौँ महानगरका मेयर विद्ययासुन्दरको झण्डै एकबर्षे कार्यकाल र ओली सरकारको सात महिने कामप्रति जनता पटक्कै खुसी छैनन्। चुनावमा गरिएका प्रतिवद्धता अनुसार महानगरपालिकाले र केन्द्र सरकारले आधारभुत कामहरु समेत गर्न सकेको देखिएन।

चुनावी नतिजाका सुरुवाति महिनामा जसरी उत्साह थियो त्यो उत्साहको पारो अहिले निराशामा रूपान्तरित भएको छ। यही अवस्थामा काठमाडौँ सातबाट वामदेवले जित्नेमा नेकपाकै नेताहरु ढुक्क छैनन्। त्यसमाथि नेकपाबाट वामदेवले एकमुष्ठ उत्साह र समर्थन पाउन मुस्किल छ। किनकी नेकपा भित्रकै पनि तत्कालीन एमालेकै नेताहरु वामदेवलाई पुनः सांसद बनाउने यो प्रपञ्चबाट खुसी छैनन्। निर्वाचित सांसदलाई राजीनामा गर्न लगाएर उपनिर्वाचन गराउनु जनताको अपमान हुने भन्दै नेता ईश्वर पोखरेलले आफ्नो असंलग्न धार प्रकट गरिसकेका छन्।

पार्टी भित्रै संकट

बर्दियाबाट पराजित भएपछि वामदेवलाई विकास निर्माणसँग सम्बन्धित एक प्राधिकरण गठन गरेर त्यसको नेतृत्व दिने चर्चा थियो। उमेरले ७० काटेका वामदेव भुमिकाशून्य भएको भन्दै छट्पटीमा थिए। तुलनात्मक प्रचण्डप्रति नरम मानिएका वामदेवलाई सांसद बनाउने चार्चा सुरु भएसँगै प्रचण्डको सक्रियता बढेको हो।

वामदेवलाई सांसद बनाउन डोल्पालाई रोजिएको थियो। तर स्थानीय मतादाताले चर्को विरोध गरेपछि विकल्प खोज्दै जाँदा अहिले कामठाडौं सातको टुंगो लागेको हो। वामदेवका लागि ठाउँ तयार पार्न ओली भन्दा बढी प्रचण्ड सक्रिय रहेको तथ्यहरुलाई आधार मान्ने हो भने त्यस भित्र गाहिरो रणनीतिक अर्थ लुकेको छ। चतुर राजनीति र सत्तापलटका लागि माहिर मानिएका प्रचण्डको कार्यकारी प्रमुखको पद हत्याउने चाहनाका अगाडि ओली यतिबेला अग्लो पर्खाल बनेर उभिएका छन्। कतै वामदेवको काँध चढेर अग्ला ओलीलाई होँच्याएर पर्खाल नाघ्ने प्रचण्डको सुझबुझपूर्ण तयारी त हैनरु यो प्रश्न सर्वथा स्वाभाविक छ।

ओली सरकार पाँच वर्ष चल्ने अवस्थामा प्रचण्डका लागि प्रधानमन्त्री हुने मौका दुर्लभ छ। गौतमलाई सांसदका रुपमा स्थापित गर्नुको पछाडि रणनीतिक कारणहरु लुकेका हुनसक्ने अनुमान स्वाभाविक छ। वामदेवलाई भावी प्रधानमन्त्रीका रुपमा तयार गर्न लागिएको चर्चा पनि छ। जे होस्, यदि वामदेव र प्रचण्डको तालमेलमा ओलीलाई होच्याउने योजना सत्य हो भने भर्खरै टुसाउँदै गएको नेकपाको एकतामा गहिरो दरार पैदा हुने पक्का छ। ओलीलाई धक्का दिने रणनीति अन्तर्गत प्रचण्ड र वामदेवबीचको तालमेलमा यदी यो सबै हुँदैछ भने काठमाडौँ सातको चुनावी परिणामलाई नै उल्ट्याएर वामदेवको सांसद बन्ने चाहना पार्टी गर्भमै तुहिने निश्चित छ। ७० काटेका वामदेवको सांसद अवतार लिने लालसालाई सुम्सुम्याउँदै गर्भमै त्यसको भ्रुणहत्या गर्न पार्टी भित्रकै सुँडेनीहरुले हात छिराउन के बेर ?

सम्बन्धित भिडियोः

२०७५ असोज २४ गते ५:०६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर