आईसीसीको वरियतामा पारस, बसन्त र सोमपाल: शरद र सन्दीप अटाएनन्
आजको खबर | प्रकाशित : २०७५ कार्तिक २६ गते १५:०१

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले सोमबार जारी गरेको नयाँ वरियतामा नेपालका खेलाडीहरु टी ट्वान्टी अन्तर्राष्ट्रियमामात्र समावेस भएका छन् ।
टी ट्वान्टी ब्याट्सम्यानको वरियतामा समावेस हुने नेपालका एकमात्र खेलाडी नेपालका कप्तान पारस खड्का हुन् । उनी २६५ प्वाइन्टका साथ ९३ औं नम्बरमा छन् । ब्याटिंगमा पाकिस्तानका बाबर आजम ८५८ प्वाइन्टका साथ पहिलो नम्बरमा छन्।
ताजा वरियतामा नेपालका सोमपाल कामी भने दोहोरो वरियतामा समावेस हुने एकमात्र खेलाडी हुन् । उनी टी ट्वान्टी अलराउण्डर र बलरको वरियतामा समावेस छन् । सोमपाल अलउाण्डरको ६४ औं नम्बरमा रहँदा बलरको ९४ नम्बरमा छन्।
आईसीसीले जारी गरेको वरियताअनुसार विश्वको नम्बर वन अलराउण्डरको सूचीमा अस्ट्रेलियाका ग्लेन म्याक्सवेल छन् । उनी ३४५ प्वाइन्टका साथ पहिलो नम्बरमा रहेको आईसीसीले जारी गरेको सूचीमा जनाइएको छ ।
यस्तै वरियतामा समावेस हुने नेपालका अर्का खेलाडी हुन् स्पीनर बसन्त रेग्मी। उनी बलरको ७५ औं नम्बरमा छन् । नम्बर वनमा अफगानिस्तानका राशिद खान छन्।
यसअघि नेपालका ब्याट्सम्यान शरद भेषवाकर र बलर सन्दीप लामिछाने पनि आईसीसीको वरियतामा समावेस थिए। तर, पछिल्लो वरियतामा भने उनीहरु पर्न सकेनन्। नेपालले एक दिवसीयको मान्यता पाए पनि टीम र खेलाडी भने एक दिवसीयको वरियतामा समावेस गरिएको छैन। यस्तै टी ट्वान्टीको वरियतामा खेलाडी समावेस भए पनि टिम भने समावेस छैन।
खेलाडीको प्रदर्शनका आधारमा क्रिकेटको सर्वोच्च संस्था आईसीसीले विश्वभरीका खेलाडीको वरियता निर्धारण गर्दै आएको छ।