जुम्लाको विमानस्थल बन्द गरिने
आजको खबर | प्रकाशित : २०७५ कार्तिक ६ गते १४:५४
जुम्ला । जिल्ला सदरमुकाम खलङ्गास्थित विमानस्थलको स्तरोन्नति गरिने भएपछि एक महीनाका लागि उडान बन्द हुने भएको छ।
विमानस्थल प्रमुख कैलाश शर्माका अनुसार अहिले पनि जहाज अवतरण हुनुभन्दा अघिपछि स्तरोन्नति भइरहेको छ। स्तरोन्नति छिटो सिध्याउन बिहीबारदेखि उडान बन्द गर्ने निर्णय गरिएको उनले बताए।
यहाँ तारा, सीता, समिट र नेपाल वायुसेवा निगमको जहाजले उडान भर्ने गरेका छन्। विमानस्थलको धावनमार्ग र ह्याङ्गरतर्फ पहिला गरिएको कालोपत्र उप्किसकेकाले स्तरोन्नति गर्न लागिएको हो।
दशैँतिहारमा जहाज बन्द नगर्नुपर्ने भए पनि मौसमको अनुकूलताले बन्द गर्नुपरेको प्रमुख शर्माले जानकारी दिए। चापका समयमा विमानस्थल बन्द भएकामा दुःख व्यक्त गर्दै स्थानीयवासीले छिटो काम सक्न माग गरेका छन्।
स्तरोन्नतिका लागि चाहिने कामदार र निर्माण सामग्री आइसकेकाले स्तरोन्नतिमा ढिला नहुुने बताइएको छ। मङ्सिर–पुसमा चिसोले कालोपत्र गर्न नसकिने भएकाले कात्तिकभित्रै काम सक्ने गरी तयारी भइरहेको छ।