१ करोड २३ लाख भ्रष्टाचार गरी फरार खड्का १८ वर्षपछि पक्राउ
आजको खबर | प्रकाशित : २०७५ कार्तिक ८ गते १५:४४
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले भ्रष्टाचार मुद्दामा दोषी ठहर भाई फरार रहेका एक व्यक्तिलाई बिहीबार पक्राउ गरी सार्वजनिक गरेको छ ।
अख्तियार दुरुपयोग गरी भ्रष्टाचार गरेको मुद्दामा पुनरावेदन अदालतले २०५७ साल पुस २१ गते ललितपुर जिल्ला धापाखेल गाविस ९ का रामकुमार खड्कालाई एक करोड २३ लाख ५३ हजार आठ सय ८० जरिवाना र एक वर्ष कैदको फैसला गरेको थियो ।
तर अदालतको फैसला लगत्तै खड्का फरार थिए । ब्यूरोले खड्कालाई ललितपुरको धापाखेलबाट पक्राउ गरेको ब्यूरोका प्रहरी नायब उपरीक्षक निरञ्जनदत्त भट्टले जानकारी दिए ।
खड्कालाई बिहीबारै फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय डिल्लीबजार पठाएको छ ।
यस्तो थियो भ्रष्टाचार काण्ड
दिपक ट्रेड कन्सर्नसँग आयात प्रतित रामकुमार खड्काको नामबाट रकम दुई लाख १५ हजार ६०० अमेरिकी डलर र त्यही ट्रेड कन्र्सनसँग रामकुमार खड्काकै नामबाट रकम दुई लाख ९५ हजार ६०० अमेरिकी डलर राष्ट्रिय वाणिज्य बैंकको एलसी नियमअनुसार नदेखिएपछि खड्का दोषी पाइएका थिए ।
यस्तै बैंकका कर्मचारीले दस्तखत गर्नुपर्नेमा आफैँले दस्तखत गरेको पाइएको थियो । खड्कालाई विहीबार नै डिल्लीबजार कारागार चलान गरिएको छ ।