करारमा कर्मचारी भर्नासम्बन्धी विधेयक पारित

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर १० गते १४:५२

जनकपुरधाम । प्रदेश नं २ को सार्वजनिक प्रशासनका लागि करारमा कर्मचारी भर्नासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक–२०७५ आज बहुमतले पारित भएको छ। मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभामा पेश गरेको सो विधेयकमाथि नेकपाका प्रदेशसभा सदस्य सुन्दरबहादुर विश्वकर्माले संशोधन प्रस्ताव दर्ता गराएका थिए।

सभामुख सरोजकुमार यादवले सो विधेयकलाई निर्णयणार्थ प्रस्तुत गर्दा विधेयक बहुमतले पारित भएको थियो। विधेयकको पक्षमा सत्ताधारी दल सङ्घीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टी नेपाल र नेपाली काङ्गे्रस तथा विपक्षमा नेकपाका प्रदेशसभा सदस्य रहेका थिए।

सो अवसरमा मुख्यमन्त्री राउतले प्रदेशमा सार्वजनिक प्रशासनका लागि करारमा कर्मचारी भर्ना गर्नु रहर नभई बाध्यता भएको बताउँदै कर्मचारीको अभावका कारण नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको अवस्था शून्य रहेको बताए।

सङ्घीय सरकारले अवकाशको चरणमा रहेका कर्मचारीलाई पठाउने गरेका कारण अन्योलको स्थिति कायम रहेको बताउँदै उनले सङ्घीय सरकारले प्रदेशमा आउन चाहने कर्मचारीलाई नपठाउने र आउन नचाहनेलाई पठाएर सङ्घीयताको मर्ममाथि प्रहार गरिरहेको धारणा व्यक्त गरे।

मुख्यमन्त्री राउतले कर्मचारी समायोजन सम्बन्धी विधेयक अध्यादेश मार्फत ल्याउने सङ्घीय सरकारको प्रक्रिया असंवैधानिक रहेको आरोप लगाउँदै प्रदेशमा करारमा कर्मचारी भर्ना गर्दा योग्य तथा सक्षम व्यक्तिलाई भर्ना गरिने प्रतिवद्धता व्यक्त गरे।

२०७५ मंसिर १० गते १४:५२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर