सिरहाको कल्याणपुरमा धुमधामका साथ मनाइयो विवाह पञ्चमी
आजको खबर | प्रकाशित : २०७५ मंसिर २७ गते ८:१५
गंगा कामती
सिरहा। सिरहास्थित कल्याणपुर नगरपालिकाको राममन्दिरमा विवाह पञ्चमी पर्व भव्यताका साथ मनाइएको छ।
बुधबार बिहानै भगवान रामको विवाह भएको दिनको अवसर पारेर विशेष भक्ति संगीत कार्यक्रम आयोजना गरी राममन्दिरमा विवाह पञ्चमी पर्व मनाइएको हो।
विवाह पञ्चमीको अवसरमा सो मन्दिरमा भगवान राम र सीताको विवाहको महिमासहितको सांस्कृतिक कार्यक्रम पनि आयोजना गरियो।
विवाह पञ्चमीमा राम र सीताले विवाह गरेको र सो विवाहमा गएका जन्तीहरुको झल्को पनि दिइएको थियो । बिवाह पञ्चमीको जनती चतरीबाट कल्याणपुर लगेर विवाह पञ्चमी धुमधामसँग मनाइएको थियो ।
भगवान रामको विवाहलाई यहाँ उत्सवको रुपमा मनाइएको कल्याणपुर नगरपालिकाका मेयर सूर्यनाथ मण्डलले जानकारी दिए। विवाह पञ्चमीको अवसर पारेर भक्तजनहरुले भगवान रामको स्मरण गर्दै राम मन्दिरमा पूजाआजा गरेका थिए।
त्रेता युगमा राजर्षि जनकको प्रतिज्ञालाई मर्यादा पुरुषोत्तम रामले पूरा गरेपछि जनककी छोरी सीतासँग विवाह भएको दिनलाई विवाह पञ्चमीको रुपमा मनाउने गरिएको जनविश्वास रहि आएको छ। यही विश्वास र संस्कृतिलाई निरन्तरता दिँदै जनकपुरस्थित जानकी मन्दिरमा भव्य रुपमा विवाह पञ्चमी मनाउने गरिन्छ।