नेपाल टेलिकमले ५७ जिल्लामा अप्टिकल फाइबर नेटवर्क विस्तार गर्दै

आजको खबर   |    प्रकाशित : २०७५ असार २८ गते ७:३४

काठमाडौँ । नेपाल टेलिकमले आफ्नो सेवाको स्तरोन्नति गर्दै सेवाको गुणस्तर वृद्धि गर्न अप्टिकल फाइबर नेटवर्क विस्तारलाई तीव्रताका साथ अघि बढाएको छ।

कम्पनीले आगामी असार मसान्तसम्म चार सय किमी एडिएसएस अप्टिकल फाइबर जडान गर्ने लक्ष्य राखेकामा गत वैशाख मसान्तसम्ममा ३७५ किमी जडान भइसकेको छ।

आगामी आर्थिक वर्ष २०७५/७६ को प्रथम चौमासिकमा बाँकी ४५० किमी थप जडान गरी कुल एक हजार किलोमिटर अप्टिकल फाइबर नेटवर्क तयार गर्ने लक्ष्य रहेको टेलिकमले जनाएको छ।

हालसम्म वसन्तपुर–तिरतिरे–पिलुवा–चैनपुर–तुम्लिङटार–खाँदबारी, हिले–भोजपुर, डडेलधुरा–दिपायल, दिपायल–सिलगढी–साँफेबगर–मंगलसेन र लमही–तुलसीपुर नेटवर्कमा फाइबर जडान भइसकेको छ।

त्यसैगरी तामाकोशी पुल–खिम्ती–मन्थली–सिन्धुलीबीचको ११५।८० किमीमध्ये ९० किमी सम्पन्न भएको छ भने बेनी–जोमसोमबीचको ११३।४४ किमीमध्ये ९५ किमीमा अप्टिकल फाइबर जडान भइसकेको छ।

अप्टिकल फाइबर नेटवर्कमार्फत पहाडी जिल्लाका सदरमुकाम र विभिन्न जिल्लाका नगरपालिका तथा शहरोन्मुख क्षेत्र आबद्ध हुने टेलिकमले जनाएको छ।

हालसम्म टेलिकमले ५७ जिल्लामा अप्टिकल फाइबर नेटवर्क विस्तार गरिसकेको छ भने चालु आयोजना सम्पन्न हुँदा ६४ जिल्ला सदरमुकाममा अप्टिकल फाइबर नेटवर्क विस्तार हुने बताइएको छ।

२०७५ असार २८ गते ७:३४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर