ओली सरकारमाथि पशुपति शमशेर राणाको यस्तो आरोप
आजको खबर | प्रकाशित : २०७५ साउन १४ गते १४:१६

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शमशेर राणाले सरकारले जनतालाई थप पीडा दिने काम मात्रै गरेको आरोप लगाएका छन्।
अध्यक्ष राणाले चर्को मूल्यवृद्धि, कर थोपरेर तीनवटै तहको सरकारले जनतालाई थप पीडा दिएपछि सरकारविरुद्ध आन्दोलनको कार्यक्रम घोषणा गर्नु परेको पनि स्पष्ट पारे।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै २०४७ सालयताकै शक्तिशाली सरकार बनेपनि यसले आफ्नो अस्तित्व रहने गरी दायित्व बहन गर्न नसकेको आरोप पनि लगाए।
अध्यक्ष राणाले सरकार अधिनायकवादतर्फ उन्मुख रहेको दावी पनि गरे। राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले आगामी १६ गते बुधबार महंगी नियन्त्रण गर्न माग गर्दै सरकारविरुद्ध काठमाडौंको माईतीघर मण्डलामा विरोध प्रर्दशन कार्यक्रम आयोजना गरेको छ।
अध्यक्ष राणाले महंगी विरोधी पार्टीको सो आन्दोलनको कार्यक्रममा सहभागी हुन पनि सबैलाई आह्वान गरे।