क्षतिपूर्तिको माग गर्दै काठमाडौँका सडक विस्तार पीडितद्वारा आन्दोलनको घोषणा
आजको खबर | प्रकाशित : २०७५ साउन १४ गते १४:२१

काठमाडौँ । सरकारसँग उचित क्षतिपूर्तिको माग गर्दै आएको काठमाडौं उपत्यका सडक विस्तार पीडित संघर्ष समितिले १५ दिने आन्दोलनको कार्यक्रम घोषणा गरेको छ।
समितिले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफूहरुलाई उचित क्षतिपूर्ति दिन सरकारलाई दवाव दिने उद्देश्यले पहिलो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको हो।
घोषित कार्यक्रम अनुसार यही श्रावण २८ गतेसम्म सहरी विकास मन्त्रालय, प्रदेश ३ को सरकार र सडक विस्तारसँग सम्बन्धित सबै सरकारी निकायलाई आफूहरुको माग सम्बोधन गर्न माग गर्दै ज्ञापन पत्र बुझाउने तय गरिएको छ।
उपत्यकाका विभिन्न स्थानमा क्षतिपूर्तिको व्यवस्था गरेर मात्रै सडक विस्तारको काम अघि बढाउन खवरदारी गर्नेलगायतका आन्दोलनको कार्यक्रम पनि राखिएको छ।
संघर्ष समितिका अध्यक्ष सुमन सायमीले राज्यले सडक विस्तारको नाममा धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पूरातात्विक महत्वका सम्पदाहरुको क्षति र नष्ट गरेको बारे जानकारी गराउँदै त्यसको संरक्षणका लागि विश्व हिन्दु महासंघ लगायतका धार्मिक संघ, संस्थाहरुलाई पनि आग्रह गर्न लागिएको जानकारी दिए।
समितिले पहिलो चरणको आन्दोलनबाट आफूहरुको माग सम्बोधन नभए सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिएको छ। सरकारले उचित क्षतिपूर्तिको व्यवस्था नगरी काठमाडौं उपत्यका भित्र सडक विस्तारको कामलाई अघि बढाएपछि पीडितहरुले विरोधमा धर्ना, (यालीलगायतका कार्यक्रम संचालन गर्दै आएका थिए।