झापाको मेचीनगरमा यो कस्तो नियम ? एउटै नम्बरको गाडीले छुट्टाछुट्टै कर रकम तिर्नुपर्छ !

आजको खबर   |    प्रकाशित : २०७५ साउन १८ गते ७:२४

पार्थ मण्डल- भद्रपुर । सुन्दा पनि अचम्म लाग्छ ! एउटै नगरपालिकाभित्र एउटै नम्बरको गाडीले छुट्टाछुट्टै कर रकम तिर्नुपर्छ । तर, यस्तै भइरहेको छ– झापाको मेचीनगर नगरपालिकाभित्रको सडक खण्डमा ।

मेचीनगर नगरपालिकाले चालूआर्थिक बर्षमा २०७५/०७६मा पूर्वाधार उपभोग सेवा शुल्क असुल्नका लागि ठेक्का लगाएको छ । ठेक्का लागेपछि नगरपालिकाले तोकेको दररेटमा ठेकेदारले सवारीसाधनबाट कर रकम असुल्नु पर्ने हुन्छ । तर, नगरपालिकाले तोकेको दर रेट एउटै भए पनि सवारीधनीले फरक–फरक रकममा कर तिर्न बाध्य बनेका छन् । घटना विवरण अनुसार मेचीनगर नगरपालिका–७स्थित सौरभ टी इस्टेट प्रा.(लि)का मे१ख १४३२ नम्बरको मिनी ट्रकले मेचीनगरको दुई वटा सडक खण्डमा छुट्टाछुट्टै कर रकम तिरेको रसिद फेला परेको छ ।

साउन १४ गते आफ्नै बगानको चियापत्ती लोड गरिएको मे१ख १४३२ नम्बर मिनी ट्रकले मेचीनगर इँटाभट्टास्थित गोकुल मार्गमा ८० रुपैयाँ सवारी कर तिरेको थियो । सोही दिन धुलावारी चोकदेखि भद्रपुरतर्फको सडकखण्डमा त्यही नम्बरको मिनी ट्रकसँग ५६ रुपैयाँ कर लिइयो । मेचीनगर नगरपालिकाभित्रै ५देखि ७ किलोमिटरको दुरीमा एउटै ट्रकले २४ रुपैयाँ अत्तिरिक्त कर रकम तिर्नु परेको थियो । नगरपालिकाले इँट्टाभट्टा सडकखण्ड अन्तरगतको गोकुल मार्गको ठेक्का लिजा स्टोरलाई दिएको छ भने धुलावारी चोकदेखि भद्रपुरतर्फको ठेक्का दर्पण निर्माण सेवालाई दिएको रसिदमै उल्लेख गरिएको छ । सौरभ टी इस्टेट प्रा.(लि)का कर्मचारी अभिषेक प्रधानका अनुसार यस भन्दा अघिल्लो बर्ष टी इस्टेटको मिनी ट्रकले मेचीनगरभित्र जहाँ कुदाउँदा पनि एउटै दररेट तिर्दै आएको थियो ।

अहिले नयाँ ठेक्का लागेपछि ठेकेदारले मिनी ट्रकको साटो फुल ट्रक भन्दै २४ रुपैयाँ बढी रकम असुल्न थालेको छ । ‘कम्पनीका चालकले ठेकेदारसँग पटक–पटक यस बारेमा कुरा गर्दा समेत ठेकेदारले खटाएका कर्मचारीले मानेनन्, उल्टै नगरपालिकासंग कुरा गर्नु भन्दै तर्किए’– उनले भने– ‘मिनी ट्रक र ट्रक एउटै हो भनी पहिला ट्राफिकसंग बुझ्ने अनि नगरपालिकामा गुनासो राख्छौ । मेचीनगर नगरपालिकाले पूर्वाधार उपभोग सेवा शुल्कमा लगाएको ठेक्काको दररेट नगरभरि एउटै कायम गरेको मेचीनगर नगरपालिका राजश्व शाखाका कर्मचारी प्रेम पराजुलीले बताए । उनले भने– ‘मिनी बस र मिनी ट्रकको राजश्व एउटै हुनुपर्छ, यो भन्दा बढी लिन पाइँदैन ।’

रसिद छपाइमै त्रुटी- प्रत्येक स्थानीय तहले आन्तरिक शुल्क बापत आ–आफनो कर असुल्ने नीति नियम बनाएको हुन्छ । सोही नीति नियमलाई टेकेर मेचीनगर नगरपालिकाले पनि कर संकलनका लागि दररेट कायम गरी रसिद छाप्छन् । तर, नगरपालिकाले पूर्वाधार उपभोग सेवा शुल्कका लागि छापेको रसिद त्रुटीपूर्ण भेटिएको छ । त्रुटीपूर्ण रसिद छपाईका कारण सवारीधनीले तिर्नुपर्नेभन्दा बढी कर रकम तिर्न बाध्य बनेका छन् ।

मेचीनगर नगरपालिकाको पूर्वाधार उपभोग सेवा शुल्कमा सवारीसाधनको शीर्षक छुट्याएर दररेट तोकिए पनि मिनी बस बाहेक अन्य मिनी सवारीसाधन नै उल्लेख गरिएको छैन । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहदेव रायमाझीले भने– मिनी बस लगायतका शीर्षक अलग–अलग हुनुपर्छ, यो कसरी भयो, यसबारेमा बुझ्ने छौं । त्यस्तै नगरपालिकाका राजश्व शाखाका कर्मचारी प्रेम पराजुलीले रसिद छपाइमा त्रुटी भएकोले अहिलेको समस्या बल्झिएको बताए । ‘रसिदमा प्रत्येक सवारीसाधनको शीर्षक छुट्याइएको छैन भने त्रुटी भएको रसिदहरु सच्याउने छौं– उनले भने ।

२०७५ साउन १८ गते ७:२४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर