सर्पले डसे तत्काल के गर्ने ? विज्ञले दिए यस्तो सुझाव

आजको खबर   |    प्रकाशित : २०७५ साउन २३ गते ६:४१

चितवन । सर्पले डसेमा परम्परागत विधि प्रयोग नगर्न विशेषज्ञले सुझाव दिएका छन् ।

उनीहरुले सर्पले डसेको अङ्गलाई नचलाई जतिसक्दो छिटो अस्पताल पुर्याउनु नै उत्तम उपाय भएको बताएका छन् । वर्षात्को मौसम भएकाले सर्प बढी मात्रामा बाहिर निस्कने गर्दछ । खेतबारी र झाडीमा काम गर्नुपर्ने भएकाले पनि सर्पले डस्ने जोखिम यो मौसममा बढी हुने गर्दछ ।

भरतपुर अस्पतालमा सर्पदंशको उपचार र अनुसन्धान गरिरहेका प्रा डा विजयप्रसाद पौडेल सर्पले डसेमा परम्परागत विधिबाट उपचार गर्नाले धेरैको अकालमा ज्यान जाने गरेको बताउँछन् । जतिसक्दो छिटो सर्पदंशको उपचार हुने ठाउँमा पुर्याउन सकेमा बचाउन सकिने उनको भनाइ छ ।

उनका अनुसार सर्पले टोकेको अङ्गलाई चलाइरहनु हुँदैन । खुट्टामा विषालु सर्पले डसेको भए बिरामीलाई हिँडाएर अस्पताल लग्नु हुँदैन । शरीरको जुन भागमा सर्पले डसेको छ, त्यो भागलाई नचलाइ, स्थिर गरी बिरामीलाई अस्पतालसम्म पुर्याउनुपर्छ । सर्पले डसेको अङ्ग मुटुभन्दा माथि लग्नु हुँदैन । डसेको भागलाई बढी चलाउँदा विष फैलिने क्रम बढ्छ ।

यसैगरी विषालु वा विषहीन जुनसुकै सर्पले डस्दा परम्परागत विधिअनुसार विष निक्लियोस् भनेर डसेको ठाउँमा चिरेर रगत बगाउने चलन छ । कहिलेकाहीँ मुखले चुसेर रगत झिक्ने पनि गरिन्छ । यस्तो गर्दा विष बाहिर निस्किँदैन तर अझ छिटो शरीरमा फैलिनुका साथै विभिन्न प्रकारको संक्रमणको जोखिममा समेत वृद्घि हुन्छ ।

सर्पदंश भएको ठाउँमा आगोले डाम्नु, चुस्ने वा काट्नेजस्ता प्रक्रिया अपनाउनु गलत भएको उनको भनाइ छ । चिकित्सकका अनुसार मुखले चुस्दा रगतको नली खुल्ला हुन्छ र विष चाँडै फैलिन्छ ।

विज्ञहरुका अनुसार सर्पले डसेको बिरामी उत्तेजित हुने गर्दछन् । यसले शरीरमा रगतको सञ्चार बढ्छ र यसले विष फैलाउँछ । बिरामीको डर घटाउने उपाय गर्नुपर्छ । साथै उनीहरुमा हृदयघातसमेत हुनसक्ने भएकाले बिरामीलाई सान्त्वना दिएर शान्त राख्नु पर्दछ । रासस

२०७५ साउन २३ गते ६:४१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर