झापाका बाढीपीडित किसानका लागि आएको ९ करोड फिर्ता

आजको खबर   |    प्रकाशित : २०७५ साउन २४ गते ९:४४

विष्णुप्रसाद पोखरेल / दमक । झापामा गतबर्ष आएको बाढीले किसानहरुको करौडौ क्षति भएपछि राहतका लागि भनेर जिल्ला कृषि बिकास कार्यालय मार्फत आएको कार्यक्रमहरुको नौ करोड रुपैयाँ फिर्ता भएको पाइएको छ ।

यसमा उत्पादन बृद्धि र माटो सुधारका लागि आएको बजेट सबैभन्दा बढी फिर्ता भएको पाइएको हो । जिल्ला कृषि बिकास कार्यालय झापाका प्रमुख प्रकाशकुमार डाँगीका अनुसार गतबर्ष बाढीबाट प्रभावित किसानहरुलाइ लक्षित गरेर कृषि बिकास रणनीति अनुगमन तथा समन्वय शीर्षकमा १२ करोड १४ लाख रुपैयाँ बिभिन्न शीर्षकसहित बजेट आएको थियो । तीन करोड रुपैयाँ खर्च भए पनि बाँकी रकम खर्च हुन नसकेर फिर्ता भएको उनले बताए ।

डाँगीका अनुसार रसायनिक मल वितरणका लागि आएको दुई करोड ७९ लाख रुपैयाँ, प्राङ्गारिक मलका लागि आएको दुई करोड ३० लाख रुपैयाँ, ‘सोयल कन्डिस्नर’ का लागि आएको एक करोड ७५ लाख रुपैयाँ लगायतको रकम फिर्ता गएको हो । बजेट आए पनि मल वितरण तत्काल रोक्न भनेर माथिबाट नै आदेश आएपछि त्यो रोकिएको बताइएको छ । कतिपय काम कसरी गर्ने भनेर स्पष्ट नपठाइएका कारण र कतिपय सम्बन्धित बिभागबाट नै काम रोक्न भनेपछि रोकिएको जानकारी दिए ।

किसानहरुका लागि केही कार्यक्रमहरु गरिएको डाँगीले बताए । तीन करोडभन्दा बढीको लगानीमा बाढी प्रभावित क्षेत्रमा बिभिन्न कार्यक्रमहरुको आयोजना गरिएको उनले जानकारी दिएका छन् । बाढी प्रभावित झापा, बाह्रदशी, कमल लगायतका गाउँपालिकासहित बिभिन्न स्थानीय तहहरुमा अन्न भण्डार गर्नका लागि किसानहरुलाई एक हजार सिडवीन वितरण गरिएको बताइएको छ ।

त्यसैगरी किसानहरुका लागि १२ हजार ‘हर्मेटिक ब्याग’ वितरण भएको जनाइएको छ । हर्मेटिक ब्यागलाई सुपर ग्रेन ब्याग पनि भनिन्छ । यो ब्याग बजारमा पाइने सामान्य किसिमको प्लास्टिक ब्याग जस्तै देखिए पनि त्यसभन्दा नितान्त फरक किसिमले तयार पारिएको बताइएको छ । यसको प्रयोग अनाज तथा बीऊहरु भण्डारण गर्नका लागि मात्र गरिन्छ । यो १० वर्षभन्दा बढी टिक्छ ।

त्यसैगरी यसै कार्यक्रम अन्तर्गत झापा जिल्लाभर आठ वटा हाइटेक नर्सरी निर्माण गर्न किसानहरुलाई अनुदान उफलब्ध गराइएको कृषि बिकास कार्यालय झापाका प्रमुख डाँगीले बताए । उनका अनुसार मेचीनगरमा दुईवटा, भद्रपुरमा दुईवटा, अर्जुनधारा, शिवसताक्षी र बिर्तामाड नगरपालिकामा एक–एक वटा र बुद्धशान्ति गाउँपालिकामा एउटा हाइटेक नर्सरी बनाइएको छ । जिल्लामा एकैसाथ एकबर्ष यति धेरै हाइटेक नर्सरी स्थपना भएको पहिलो भएको बताइन्छ ।

खोलानालाले पुरीएको खेत सुधार कार्यक्रमका लागि बजेट आए पनि यो किसानले सेवा नलिएको पाइएको छ । प्रतिहेक्टर पाँच हजारमात्र अनुदान रहेकाले किसानलाई यो अनुदानले आकर्षित गर्न नसकेको डाँगी बताउँछन् । किसानहरुको सयौ हेक्टर जमिन बालुवामा परिणत भएको छ । कृषि बजार सेड मर्मतका लागि आएको बजेट समेत प्रयोग हुन नपाएको जनाइन्छ । गहुको बीऊ वितरण कार्यक्रममा रहे पनि त्यो समेत वितरण नगरिएका कारण बजेट फिर्ता गएको बताइएको छ ।

२०७५ साउन २४ गते ९:४४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर