सिपिएलको दोस्रो खेलमा सन्दिपको दमदार प्रदर्शन, प्याट्रिओट्सको पहिलो जीत

आजको खबर   |    प्रकाशित : २०७५ साउन २७ गते ५:१५

काठमाडौं। जारी क्यारेबियन प्रिमियर लिगमा नेपाली क्रिकेटर सन्दिप लामिछानेले पहिलेभन्दा अझै दमदार प्रदर्शन गरेका छन् । उनको प्रदर्शन उत्कृष्ट हुँदै जाँदा दोस्रो खेलमा उनको टिम सेन्ट किट्स एण्ड नेभिस पेट्रिओट्सले ४२ रनको विशाल जीत हात पारेको छ । दोस्रो खेलमा मात्रै ३ ओभर बलिङ गरेका सन्दिपले १७ रन दिँदै १ विकेट लिएका छन् । उनका तीन ओभरमध्ये एक ओभर विकेट मेडन समेत थियो ।

सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सका लागि सुरुवाती दुई ओभरमा उत्कृष्ट बलिङ गर्दै ३ रन मात्र खर्चिएका सन्दीपले पूरा ४ ओभर बलिङ गर्न भने पाएनन् । उनले आफ्नो पहिलो ओभरमै ट्रिनबागो नाइट राइडर्सका क्रिस लिनलाई आउट गर्दै विकेट मेडन राखेका थिए । आफ्नो दोस्रो ओभरमा पनि सन्दिपले उत्कृष्ट बलिङ गर्दै ३ रन मात्र दिए ।

तर सन्दिपले आफ्नो तेस्रो ओभर बलिङ गर्न खेलको अन्तिमसम्म कुर्नपर्यो । जतिबेला एसकेएन प्याट्रिओट्स जित नजिक पुगिसकेको थियो । २०औँ बलिङ गरेका सन्दीपले १४ रन खर्चे । कूल ३ ओभर बलिङ गर्दा सन्दीपले १ मेडन राख्दै १७ रन खर्चेर १ विकेट लिए । उक्त खेल एनकेएस प्याट्रिओट्सले ४२ रनले जित्यो । उसको यो पहिलो जित हो ।

प्याट्रिओट्सले दिएको २०४ रनको लक्ष्य पछ्याएको ट्रिनबागोले २० ओभरमा ८ विकेट गुमाएर १६१ रन मात्र बनाउन सक्यो । ट्रिनबागोका लागि केभिन कुपरले नटआउट रहँदै सर्वाधिक ४२ रन बनाए भने डरेन ब्राभोले ४१ तथा कोलिन मुनरोले ३५ रन जोडे । सन्दिपले सीपीएलमा डेब्यु गर्दे पहिलो खेल गुएना अमेजन वारियरविरूद्ध ४ ओभर बलिङ गर्दै १२ रन खर्चेर २ विकेट लिएका थिए ।

सिपिएलमा खेल्दै गर्दा सन्दिपले अन्तर्राष्ट्रिय स्तरका बलरहरुलाई चुनौती दिइसकेका छन् । संसारकै उत्कृष्ट खेलाडीहरु खेलिरहेको सिपिएलको यो सिजनमा सन्दिप सबैभन्दा किफायती बलर हुन् । उनी उत्कृष्ट इकानोमी रेटका बलरहरुको सूचीमा शीर्ष स्थानमा कायम छन् । उनको इकोनोमी ४.१४ रन प्रतिओभर मात्र छ । सन्दिप सबैभन्दा धेरै विकेट लिने खेलाडीको सूचीमा चौथो नम्बरमा छन् र उत्कृष्ट औसत भएका बलरहरुको सूचीमा तेस्रो स्थानमा छन् । उनले औसतमा प्रत्येक ९.६६ रन दिँदा एक विकेट लिएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेटका उत्कृष्ट बलरहरुलाई चुनौती दिँदै यसरी शीर्ष स्थानमा रहनु सन्दिपको ठूलो सफलता हो । यसबाहेक उनले आज बिहान भएको खेलमा अर्को कोसेढुङगा पार गरेका छन् । ठूला अन्तर्राष्ट्रिय स्तरका टि–२० लिगको अन्तिम ओभरमा बलिङ गर्दै सन्दिपले अर्को कोसेढुङगा पार गरेका हुन् । टि–२० को अन्तिम ओभरलाई निकै खतरनाक ओभर मानिन्छ र यो ओभरमा निकै दक्ष र अनुभवी बलरलाई मात्र बलिङ गराइन्छ ।

नेपाली किशोरले ‘डेथ ओभर’ विशेषज्ञको रुपमा अन्तिम ओभर बलिङ गर्न पाउनु नेपाली क्रिकेटका लागि ठूलो सफलता हो ।

२०७५ साउन २७ गते ५:१५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर