दक्षिण एशियाकै पहिलो डिजिटल रेष्टुरेण्ट नेपालमा, जहाँ रोबोटले दिन्छन् खाना
आजको खबर | प्रकाशित : २०७५ भदौ ११ गते १२:०५

काठमाडौं। राजधानी काठमाडौंको एक रेष्टुरेण्टमा रोबोटले खाना सर्भ गर्छन् भन्दा हामीलाई अचम्म लाग्न सक्छ तर यो सत्य हो । यहाँको एक रेष्टेरेण्टमा रोबोटले काम गछृन् । विशेष त के भने यी रोबोटहरु नेपाली र अंग्रेजी दुवै भाषा बोल्न सक्छन् । यी रोबोटहरु नेपालमै बनेका हुन् । यी रोबोटलाई ६ युवाको समूहले बनाएको हो ।
आर्टिफिशियल इन्टेलिजेन्समा काम गर्ने यी रोबोटले खानाको अर्डर लिने, खाना सर्भ गर्नुका साथै नेपाली वा अंग्रेजी बोल्ने ग्राहकसँग कुराकानी पनि गर्न सक्छन् । अहिले रेष्टुरेण्टमा यिनीहरुको तत्काल जवाफ दिने शैली र मजाक गर्ने स्टाइल निकै रुचाइएको छ । राजधानीको दरबारमार्गस्थित नौलो रेष्टुरेण्ट दक्षिण एशियाकै पहिलो डिजिटल रोबोटिक रेष्टुरेण्ट बनेको हो ।
रेष्टुरेण्टमा अहिले कूल ५ रोबोट काम गर्छन् । ग्राहकको लागि यहाँ टेबलमै डिजिटल मेनु जडान गरिएको छ । यो मेनु पढेर ग्राहकले सजिलै सिधै किचनमा अर्डर दिन सक्छन् । खाना तयार हुनासाथ रोबोटले त्यसलाई लिएर टेबलमा पुग्छन् ।
रोबोट बनाउने कम्पनी पाइला टेक्नोलोजीलाई ६ जनाले मिलेर सुरु गरेका थिए । कम्पनीका सिइओ विनय राउतले इन्जिनियरिङको पढाइ भारत र बेलायतबाट गरेका हुन् । उनी पढाइ पूरा गरेपछि रोबोटिक टेक्नोलोजीबारे थप बुझ्न चीन र जापान गएका थिए । त्यसपछि उनको दिमागमा रेष्टुरेण्ट खोल्ने र त्यहाँ रोबोटलाई काम लगाउने सोच आयो । अब उनको लक्ष्य नेपालको प्रविधिलाई अन्तर्राष्टिङय बजारमा लैजानु हो ।