निर्मला पन्त हत्या प्रकरण : प्रहरीको अनुसन्धानमा व्यापक त्रुटि : आयोग

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २१ गते १५:०२

भीमदत्तनगर । राष्ट्रिय मानवअधिकार आयोगले कञ्चनपुरको भीमदत्त नगरपालिका-२ खोल्टीकी १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणमा प्रहरीको शुरुआती अनुसन्धान प्रक्रियामा व्यापक त्रुटि भएको ठहर गरेको छ।

भीमदत्तनगरमा आज आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता मोहना अन्सारीले जुन प्रक्रियाबाट प्रहरी/प्रशासनले अनुसन्धान गर्नुपर्ने हो त्यो नभएको आयोगको ठहर रहेको बताइन। “जिम्मेवार व्यक्तिबाट अनुसन्धानमा गम्भीरता देखिएन”, प्रवक्ता अन्सारीले भनिन्, “घटनाको प्रमाण सङ्कलनमा पनि त्रुटि देखिन्छ।”

घटनापछि आयोगको टोली कञ्चनपुरमै रहेर घटना र उत्पन्न स्थितिको अनुसन्धान र अनुगमनमा रहेको आयोगले जनाएको छ। आयोगको टोलीले आजै पीडित परिवारका सदस्य, घटनामा अनुसन्धानका लागि नियन्त्रणमा लिइएका व्यक्तिलगायतसित भेट गरेको प्रवक्ता अन्सारीले पत्रकार सम्मेलनमा जानकारी दिइन्।

आयोगले प्रहरीबाट भइरहेको अनुसन्धान प्रगतिको अवस्था, घटनाको स्थलगत अनुगमन एवं निरीक्षणका साथै उच्चस्तरीय छानबिन टोलीसित समेत छलफल गरेको छ। आयोगद्वारा जारी विज्ञप्तिमा घटनाका दोषीलाई कारवाहीको दायरामा ल्याउनुपर्नेमा शुरुआती अवस्थामा नै प्रहरीको अनुसन्धान प्रक्रियासङ्गत नभएको आयोगको प्रारम्भिक अनुसन्धानको निष्कर्ष रहेको जनाइएको छ।

त्यसैगरी आयोगको प्रदेश नं ७ को कार्यालयमा महिला हिंसासम्बन्धी गत आर्थिक वर्षमा २० उजुरी परेको र हाल उक्त उजुरीमाथि अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

आयोगले शुक्रबारदेखि नेपाल प्रहरीसितको सहकार्यमा ‘महिला हिंसा न्यूनीकरण एवं मानवअधिकार संरक्षणमा प्रहरीको जवाफदेहिता’ विषयमा राष्ट्रिय अभियानको प्रारम्भ गर्दैैछ । महिलाको न्यायमा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले प्रारम्भ गर्न लागिएको अभियानका क्रममा सबै प्रदेशसहित काठमाडौँमा समेत विभिन्न कार्यक्रम आयोजना हुनेछ ।

पत्रकार सम्मेलनम आयोग प्रदेश नं ७ का कार्यालय प्रमुख झङ्कर रावललगायतको सहभागिता थियो । सम्मेलनमा कञ्चनपुरका सञ्चारकर्मीले निर्मला हत्या प्रकरणमा आयोग गम्भीर हुनुपर्नेमा जोड दिएका थिए । पन्तको शव गत साउन १० गते बलात्कारपछि हत्या गरी उखुबारीमा फालिएको अवस्थामा भेटिएको थियो ।

उक्त घटनाको हाल उच्चस्तरीय छानबिन समिति, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले सूक्ष्म रुपमा अनुसन्धान गरिरहेको छ ।

२०७५ भदौ २१ गते १५:०२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर