प्रचण्डलाई पनि धोका दिँदै प्रधानमन्त्री केपी शर्मा ओली

आजको खबर   |    प्रकाशित : २०७५ असोज १९ गते २:३४

काठमाडौं । तत्कालिन माओवादी केन्द्र र एमाले मिलेर चुनाव लड्दा गठबन्धनले बहुमत ल्याएपछि दुई अध्यक्षले पालो पालो सरकार चलाउने सहमति भएको थियो।

बहुमत आयो। सहमतिअनुसार केपी ओली प्रधानमन्त्री बने। पार्टी पनि एकीकरण भयो र जन्मिएको नेकपा। तर, नेकपा जन्मिँदै गर्दा भने निकै लामो प्रशव पीडा भएको थियो। प्रचण्ड र ओलीबीच आलोपालो सरकार चलाउने सहमति भएपछि ‘वेथा’ले जन्माएको थियो नेकपा। यसको कुनै लिखित सम्झौता नभए पनि त्यति बेला प्रचण्डले नै यो सहमति भएको सार्वजनिक गरेका थिए।

प्रधानमन्त्री ओलीले भने यस्तो सम्झौताबारे कहिल्यै पनि स्पष्ट जवाफ दिएनन्। प्रधानमन्त्रीले यो विषयमा नबोल्नु स्वभाविक पनि थियो। यद्यपी उनले आफै ५ वर्ष प्रधानमन्त्री हुन्छु भनेर पनि भनेकाले त्यति बेला ओली र प्रचण्डबीच आलोपालो सरकार बनाउने सहमति भएको बुझिएको थियो।

तर, राष्ट्रसंघको महासभामा भाग लिएर बिहीबार स्वदेश फर्किएका प्रधानन्त्री ओलीले त्रिभुवन विमानस्थलबाटै देशवासी र प्रचण्डलाई एक महत्वपूर्ण सन्देश दिएका छन् ‘पाँच वर्ष यही सरकार चल्छ।’

प्रधानमन्त्री ओलीले भने, ‘यो सरकार पाँच वर्ष चल्छ। पाँच वर्षमा चुनाव गराउँछ र अझ बलियो भएर आउँछ’ उनले थपे, ‘एउटा कुनै हावा चल्यो र पात हावामा बग्यो भने त्यसका पछाडि कुद्ने राजनीति कुनै विषय, दृष्टिकोण, नीति, देशलाई दिशा दिने र जनताका समग्र यथार्थ समस्या सम्झिने राजनीति होइन।’

प्रधानमन्त्री ओलीको यो भनाईले प्रचण्डलाई झट्का लागेको हुनुपर्छ। बिहीबार अपराह्न ओलीबाट आएको यो अभियव्यक्तिको प्रचण्डबाट प्रक्रिया आउन केही समय लाग्नेछ। किनभने प्रचण्ड हाल मलेसियामा छन्। उनी त्यहाँबाट फर्केपछि पक्कै पनि यो विषयमा केही भन्नेछन्।

गत वर्ष माघमै गर्ने भनिएको पार्टी एकता शक्ति बाँडफाँडको विषयका कारण जेठसम्म पुगेको कसैबाट लुकेको छैन। त्यो बेला प्रचण्डलाई मनाउन नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले निकै दौडधुप गरेका थिए भने ओली र प्रचण्डबीच दर्जनौ पटक वार्ता भएको थियो।

दुई नेताबीच शक्ति बाँडफाँडमा कुरा मिलेपछिमात्र पार्टी एकीकरणले मुर्त रुप लिएको थियो। पार्टी एकीकरण भएर निर्वाचन आयोगबाटसमेत मान्यता पाइसेको छ। अब माओवादी केन्द्र र नेकपा एमाले अस्तित्वमा छैनन्। तर, नेकपा भित्र भने यसका दरिला खम्बा बाँकी नै छन्।

त्यसैले पनि प्रधानन्त्री ओलीले आफै ५ वर्ष सरकार चलाउने अभिव्यक्तिले पक्कै पनि नेकपा भित्र भुँइचालो ल्याउने निश्चित छ। खासगरी वरिष्ठ नेता माधव नेपाल पक्षका नेताहरुले आलोपालोको विषय पछिल्ला दिनहरुमा उठाएका छन्। उनीहरुले ओली अब २ वर्षमात्र प्रधानमन्त्री बन्ने बताइरहेका छन्।

हालै वरिष्ठ नेता नेपालले संसदमै सरकारको चर्को विरोध पनि गरे। प्रधानमन्त्री अमेरिकामा रहेका बेला नेपालले सरकारको आलोचना गरेको र भारतबाट फर्किँदा प्रचण्डले सरकारबारे दिएको अभिव्यक्तिको जवाफका रुपमा प्रधानमन्त्री ओलीले आफ्नो सरकारको आयुबारे भनेका हुनसक्ने अनुमान गरिएको छ।

आखिर जुन सन्र्दभमा आए पनि ओलीको अभिव्यक्तिले प्रचण्डको मनमा भने शंका उत्पन्न गराउने छ। ओलीले साँच्ची प्रचण्डलाई धोका दिनै लागेका हुन् त रु यो प्रश्न उठेको छ। यदि उनले धोका दिने सोचेकै हुन भने चौतर्फी आलोचना खेपिरहेको यो सरकारका आगामी दि थप सकसपूर्ण बन्नेछन्। किनभने नेपाल पक्ष अहिले नै ओलीप्रति आक्रमक बनेको छ। अब प्रचण्ड पनि ओलीप्रति आक्रमक बन्नेछन्। यस्तो अवस्थामा ओलीलाई सरकार र पार्टी दुबै सञ्चालन गर्न फलामको च्यूरा चपाए जस्तै हुनेछ।

वैधानिक रुपमा यो सरकारलाई ५ वर्षभन्दा पहिला हटाउन अप्ठ्यारो भने अवश्य छ। किनभने यो सरकारलाई प्रतिस्थापन गर्न नेकपा की ओली आफैले राजिनमा दिनुपर्छ। वा नेकपाकै सांसदले ओलीप्रति अविश्वासको मत संसदबाट पारित गराउनुपर्छ। ओली आफैले राजिनामा दिने सम्भावनामाथि भने अब शंका उत्पन्न भइसकेको छ। अविश्वासको मत ल्याउँदा ओली विरोधीको संख्या पुग्ने अवस्था तत्काललाई छैन।

किनभने अविश्वासको मत ल्याउनेलाई ओलीले कारबाही गर्ने अवस्था छ। यदि प्रचण्ड र नेपाल मिलेर पार्टी नै विभाजन गरे भनेमात्र यो सरकार प्रतिस्थापन हुन सक्छ। नत्र ओलीले भने जस्तै यो सरकार ५ वर्षे पूर्ण कार्यकाल पूरा गर्न सक्छ।

२०७५ असोज १९ गते २:३४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर