चित्रबहादुर केसी भन्छन्, ‘संघीयता खारेज नगरे मुलुक द्वन्द्वमा जान्छ’

आजको खबर   |    प्रकाशित : २०७५ असोज ३१ गते १३:१२

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता खारेज गर्न माग गरेका छन्। उनले भने, ‘यदि संघीयता खारेज नगरे मुलुक द्वन्द्वमा जान्छ र असफल हुन्छ।’

रिपोर्टस क्लब नेपालले बुधबार आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष केसीले नेपाल जस्तो सानो देशमा अर्थतन्त्र पनि कमजोर भएकाले संघीयता धान्न नसक्ने भन्दै खारेजीको माग गरेकाहुन्। प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङमाथि कटाक्ष गर्दै केसीले ‘रेडलाईट एरिया’खोलेर कर असुलेर संघीयता नचल्ने पनि बताए।

साक्षात्कारमा केसीले नेपाल जोगाउनकै लागि भएपनि संघीयता खारेज गर्नैपर्ने बताए। केन्द्र सरकार र प्रदेश सरकारबीचको सम्बन्ध राम्रो हुन नसकेको भन्दै उनले प्रदेश नम्बर २ ले केन्द्रको नीति बाहिर गएर विधेयकहरु बनाउँदा समग्र देश नै धरापमा पर्ने दावी गरे।

“२ नम्बर प्रदेशले संघीयताको आवरणमा एक मधेश एक प्रदेश बनाउन सक्छ कि सक्दैन ?” केसीले प्रश्न गरे। ६४ सालदेखि नै राष्ट्रिय जनमोर्चाले नेपालमा संघीयता सम्भव छैन भन्दै आएपनि ठूला दलहरुले संघीय प्रणाली ल्याएको भन्दै उनले अहिले जनताले पनि संघीयता नचाहिने बताउन थालेको जिकिर गरे।

३ तहको सरकार निर्माण भएपछि जनतामा करको भार थपिएकाले पनि जनता आजित भएको केसीको तर्क थियो। च्याङ्ग्रादेखि साग बेच्नेसम्मलाई करको भार थोपरिएको भन्दै केसीले आपत्ति प्रकट गरे। उनले भने, ‘अहिले च्यांग्रा बेच्नेलाई संघीयता के हो भनेर थाहा भैसकेको छ।’

अनावश्यक करकै कारण संघीयता धरापमा परेको उनको तर्क थियो। एउटा नेपाल चलाउन नै कठीन भएको अवस्थामा ७ वटा प्रदेश सातवटा देश जस्तो भएको भन्दै केसीले कुनै पनिहालतमा संघीयता सफलनहुने ठोकुवा गरे।

सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाउँदै केसीले महङ्गी र कालोबजारी रोक्न नसकेको सरकारले रेल र पानी जहाजको सपना बाँडेर अलमल्याएको पनि आरोप लगाए।

यातायात क्षेत्रको सिन्डिकेट, ३३ किलो सुन, निर्मला पन्त हत्या प्रकरण लगायतका विषयमा सरकार चुकेको केसीले बताए। सरकारले राम्रो काम गर्न सक्ने संकेत नदेखिएको भन्दै केसीले भने, ‘धानकाछाँट पराले देखेर चिनिन्छ।’

केसीले काठमाडौं महानगरपालिकाले पनि उल्लेख्य काम गर्न नसकेको आरोप लगाए। उनले महानगरमा जनप्रतिनिधि चुनिएर आएको डेढ वर्षसम्म कुनै पनि काम हुन नसकेको जिकिर गरे।

२०७५ असोज ३१ गते १३:१२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर