चितवनबाट हराएका सुदिप सापकोटा तेह्रथुमको होटलमा भेटिए

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर १ गते १४:२९

शिशिर सिंखडा

चितवन, भरतपुर । गत कार्तिक २६ गतेदेखि बेपत्ता भएका भनिएका एक युवक आज पूर्वी नेपालको तेह्रथुम स्थित एक होटलमा फेला परेका छन्। पूर्वी चितवनको कालिका नगरपालिका वडा नं. ६ बाग्लुङ्गेटोलका २४ वर्षीय सुदिप सापकोटा आज दिउँसो करिव ३ः३० बजे सो होटलमा फेला परेका हुन्। उनको साथमा एउटा कालो ब्याग समेत रहेको प्रहरीले जनाएको छ। उनी अहिले तेह्रथुम प्रहरीको नियन्त्रणमा रहेका छन्।

नारायणगढ बजारमा सामान खरीद गरी पुलचोकबाट कार्तिक २६ गते सोमबार करिव बेलुका ५ बजेको समयमा उनी म्युजिक चढी क्याम्पस गेटतर्फ आएका थिए। त्यहाबाट उनी हराएको परिवारजनले बताएको थियो। भारतको दिल्ली स्थित कलेजबाट कम्प्युटर इन्जिनियर पास गरेका भनिएका सुदिपको आगामी मंसिर ४ गते अष्ट्रेलिया जाने विद्यार्थी भिसा समेत लागि टिकट समेत लिइसकेको उनका बुबा गंगा प्रसाद सापकोटाले बताएका थिए।

गत सोमबारबाट हराएका सुदिपलाई प्रहरीले मोबाइलको आइएमइआइ नम्बरको आधारमा पत्ता लगाएको इलाका प्रहरी कार्यालय टाँडीका डिएसपी एवम् घटनाका अनुसन्धान अधिकृत दयानिधि ज्ञवालीले बताए। सुदिपले मोबाइलमा प्रयोग भएको नेपाल टेलिकम र एनसेलको सिम प्रयोग नगरी सोही मोबाइलबाट इन्टरनेट चलाएको देखिएको थियो। उनले ब्लु हेभन गेष्ट हाउसको नाममा रहेको वाइफाइबाट मोबाइल चलाएको थाहा पाएपछि प्रहरीले देशैभरका होटलहरुमा अनुसन्धान र खोजतलाश गरेको थियो।

उनले सुविसुको नेट चलाएको अनुसन्धानबाट देखिएको डिएसपी ज्ञवालीले बताए। सुदिपले आफ्नै ल्यापटपबाट सबै नक्कली डकुमेण्टहरु आफैले बनाएको भेटिएको छ। दुतावासमा पेश गरिएका भनिएका कागजपत्रहरु र भिसा समेत नक्कली भएको डिएसपी ज्ञवालीले बताए। यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको समेत उनले बताए। उनले आफ्नो ल्यापटप भने साथमा नलगी घरमा नै छाडेको पाइएको थियो।

घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चितवनले विशेष अनुसन्धान टोली गठन गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख (प्रहरी उपरीक्षक) शुशिल सिंह राठौरले जानकारी दिए। सो घटनाको प्रहरी नायव उपरीक्षक दयानिधि ज्ञवालीको कमाण्डमा आइटी विज्ञ र म्यानुअल विज्ञ सहितको विशेष टोली गठन गरिएको थियो, उनले भने। आइटी विज्ञहरुले उनको मोबाइल र इन्टरनेट प्रयोगको सम्बन्धमा अनुसन्धान गरेको थियो भने म्यानुअल टोलीले खोलानाला, जंगल क्षेत्रमा सर्च तथा अनुसन्धान गरेको उनले बताए। अन्य थप टोलीले सडक, होटल लगायतका विभिन्न स्थानमा अनुसन्धान एवम् खोजी कार्य गरेको थियो। अनुसन्धान टोलीको नेतृत्व गरेका प्रहरी नायव उपरीक्षक सहितको टोलीले अनुसन्धान छिटो र सकुशल रुपमा गरेको समेत एसपी राठौरले बताए।

जिल्लामा दैनिकजसो यस्ता घटनाहरु भएपनि सुदिप घटनामा जिल्लाको ७ सय १४ जना प्रहरी नै खटिएको थियो भने देशैभरका प्रहरीहरु एवम् सीमा क्षेत्रका प्रहरीहरुलाई समेत विशेष सतर्क रहन अनुरोध गरिएको थियो। हराएका भनिएका सुदिप भेटिएको खबर पाएपछि छोरालाई लिनको लागि बुबा गंगा प्रसाद सहित आफन्तहरु तेह्रथुम तर्फ गएको उनका बुबा गंगा प्रसाद सापकोटाले बताए।

२०७५ मंसिर १ गते १४:२९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर