स्थायी समितिको बैठक बोलाउने नेकपाको निर्णय

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर ६ गते १४:३६

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीको सांगठनिक एकीकरणको कामबारे आवश्यक निर्णय लिन स्थायी समिति बैठक बोलाउने निर्णय गरेको छ।

बिहीबार बसेको पार्टी सचिवालय बैठकले सांगठनिक एकीकरण र पार्टी केन्द्रिय सदस्यहरुको कामको बाँडफाँडका लागि आवश्यक निर्णय लिन स्थायी समिति बैठक बोलाउने निर्णय गरेको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा कार्य दलले तयार पारेको संगठन एकीकरण र पार्टी केन्द्रिय सदस्यको जिम्मेवारी बाँडफाँडसम्बन्धि प्रस्ताव पेश गरिएको थियो। सो प्रस्तावलाई अन्तिम रुप दिन भोली शुक्रबार पुनः सचिवालयको बैठक बोलाउने निर्णय पनि गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापा रहेको दुई सदस्यीय कार्य दलले सांगठनिक एकीकरण र पार्टी केन्द्रिय सदस्यहरुको जिम्मेवारी बाँडफाँडका लागि प्रस्ताव तयार पारेको थियो। सोही प्रस्ताव सचिवालय बैठकमा पेश गरिएको हो।

बैठकमा केन्द्रिय कार्य समितिको बैठक बोलाउन असन्तुष्ट केन्द्रिय सदस्यहरुले गरेको मागका विषयमा पनि छलफल गरिएको थियो। १८ जना केन्द्रिय सदस्यहरुले केन्द्रिय कार्य समिति बैठक बोलाउन माग गरेको विषयलाई पनि भोलीको सचिवालय बैठकमा ऐजन्डा बनाएर छलफल गर्ने निर्णय पनि गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

२०७५ मंसिर ६ गते १४:३६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर