सात महिनादेखि साउदीमा दुई नेपाली अलपत्र,उद्धारमा कसैले चासो दिएनन्

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर २६ गते ३:३३

निर्मला घिमिरे

काठमाडौं। वैदेशिक रोजगारको क्रममा विदेश गएका धेरै नेपाली कामदार अलपत्र पर्दै आएका छन्। रोजगारको लागि भनेर साहुको ऋण लिएर विदेशिएका नेपाली भनेजस्तो काम नपाएर, (काम पाएपनि अत्यन्त कठिन काम), खानेबस्ने टुंगो नहुने, तलब नपाइनेलगायत समस्याबाट पीडित हुुँदै आएका छन्।

कतिपय युवाले राम्रै काम पाएपनि कतिपय युवाहरुको विदेशमा पसिना बगाएर परिवारको सुख खोज्ने सपना अधुरै हुने गरेको छ। वैदेशिक रोजगारका लागि नेपाली कामदार पठाउने म्यानपावर कम्पनीले पनि आफ्नो म्यानपावरबाट पठाएको कामदार अलपत्र परेको अवस्थामा पनि उद्धारकालागि ध्यान दिँदैनन्।

वैदेशिक रोजगारमा गएका युवाहरु सहजीकरणका लागि कुटनीतिक नियोग तथा राजदूतावासले वैदेशिक रोजगारीका क्रममा कामदार अलपत्र पर्दा सक्रिय भएर आफ्नो जिम्मेवारी निर्वाह गर्न नसकेको गुनासो गर्छन्।

वैदेशिक रोजगारको क्रममा साउदी पुगेका कञ्चनपुर जिल्ला घर भएका राजकुमार गुरुङ राहदानी नं (०९५५२८२७) र मोरङका प्रदिप खरेल राहदानी नं (०८८०५१६६) सात महिनादेखि साउदीमा अलपत्र छन्। मेरिडियन म्यानपावर सर्भिस प्राइभेट लिमिटेड लाईसन नं ( ६९८र०६३र०६४) मार्फत साउदी पुगेका दुवैजना दुई वर्षको करार अवधिका लागि साउदी गएका थिए।

गुरुङ र खरेल दुवैजना साउदीको फ्यान अल क्वाफी कारपेन्टरी वर्कशप कम्पनीमा कार्यरत थिए। कारपेन्टरी कम्पनीमा इटहरीका प्रदिप खरेल सन् २०१६ मे १९ तारिखमा लेबर कामको लागि साउदी पुगेका हुन्। उनको करार अवधि सन् २०१८ मे १९ मै सक्कि सकेको छ।

त्यसै कम्पनीमा मेटल पेन्टरको काम गर्न कन्चनपुरका राजकुमार गुरुङ पनि २०७३ साल बैशाख २ गते साउदी गएका हुन्। उनको करार अवधि पनि २ वर्षको नै हो। साउदीमा नेपाली कामदारको करार अवधि दुई वर्षको नै रहँदै आएको छ। राजकुमारको करार अवधि २०७५ वैशाख २ गतेदेखि नै सकिए पनि उनी अझै त्यसै कम्पनीमा काम गर्न बाध्य छन्।

प्रदिप र राजकुमार दुवैको करार अवधि सकिएर पनि साउदीको कार्पेन्टी वर्कशपमा काम गर्न बाध्य छन्। उनीहरुले नेपाल आउन खोजेपनि कम्पनीले नेपाल पठाएको छैन। काम गरेपनि तलब समेत नपाएका उनीहरु निकै पीडामा छन्।

साउदीमा नै ड्राइभिङ काम गर्दै आएका नाम खुलाउन नचाहेका आफूलाई सामाजिक अभियान्ता समेत बताउने एक युवाले साउदीमा ७ महिना सम्म नेपाली युवाहरु अलपत्र पर्दा समेत साउदी स्थित नेपाली दूतावास रियादले ध्यान नदिएको गुनासो गरे।

ती युवाले डिसी नेपालसँग भने, ‘अलपत्र परेको जानकारी गराएको सात महिनासम्म पनि दूतावासले आफ्नो जिम्मेवारी पूरा गरेको छैन।’
राजदूतावासमा कार्यरत श्रमसहचारी अम्बिका अधिकारी समक्ष पीडितहरुले आफूहरुलाई उद्धार गर्नका लागि निवेदन समेत दिएका थिए। पीडितको गुनासो गुनासो मै सीमित छ।

अलपत्र परेका मोरङका प्रदिप खरेल नेपाल आउन चाहेर पनि आउन पाएका छैनन्। उनी भन्छन्, तलब दिएको छैन। राम्रोसँग खानसमेत दिएको छैन। तर त्यही कम्पनीका काम गर्न बाध्य हुनु परेको छ।’

पीडित खरेलका अनुसार उनी सँगै कम्पनीमा काम गर्ने अन्य १४÷१५ जना नेपाली युवाहरु पनि अलपत्र छन्। खरेलले भने, ‘यो भन्दा ४ महिना अगाडि काम गर्न साइटमा जाँदा प्रहरीले पक्राउ गरेर जेल पठायो। जेलमा एक महिना भन्दाबढी बस्नपर्यो।’

उनको करार अवधि सकिएकोले उनीसँग साउदीमा विदेशी कामदारको लागि उपलब्ध गराउने अकामा ( लेवर काम लगाएतका काम गर्नेलाई दिइने परिचय पत्र) को समय सक्किएकोले अवैधानिक कामदार भन्दै प्रहरीले पक्राउ गरेको थियो। साउदीमा अकामाको अवधि सकिएका कामदारलाई साउदी सरकारले अवैधानिक मान्दै आएको छ।

राजकुमार र प्रदिप साउदीमा अलपत्र परेपछि उनीहरुका आफन्तले समेत नेपाल स्थित वैदेशिक रोजगार विभागमा उनीहरुको उद्धारको लागि निवेदन दिएका थिए। प्रदिपको उद्धारको लागि उनकी श्रीमति रचना चापागाँईले गएको आश्विन १० गते वैदेशिक रोजगार विभाग बुद्धनगरमा निवेदन दिएकी थिइन्। त्यो निवेदन विभागमा २ महिनासम्म पनि विचाराधीन अवस्थामा रहेको छ।

त्यस्तै राजकुमारका आफन्त मणि लामाले गत भदौ १० गते राजकुमारको उद्धारका लागि विभागमा निवेदन दिएका थिए। उनले दिएको निवेदन पनि विभागमा विचाराधीन अवस्थामा रहेको छ। मणि लामाले डिसी नेपालसँग कुरा गर्दै भने, ‘विभागमा कुरा गर्दा २ महिना भित्रमा हामी जसरी पनि उद्धार गर्छौं भनेको थियो तर ३ महिना बितिसक्दा पनि अत्तोपत्तो छैन।’

साउदीमा प्रदिप र राजकुमारले जस्ता समस्या धेरै युवाले झेल्नुपरेका गुनासा आउने गरेका छन्। सम्बन्धित निकाय र कुटनितिक नियोगमा पीडितहरुले आफू अलपत्र परेको गुनासो गर्दा पनि नसुनेपछि नेपाली कामदार अलपत्र पर्ने र निर्दोष नेपाली युवाहरु जेलजीबन बिताउन बाध्य हुने गरेका गुनासाहरु धेरै आउने गरेका छन्।  डिसी नेपालबाट

२०७५ मंसिर २६ गते ३:३३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर