भयो बिरामी बनाउँदै हेलिकोप्टरबाट उद्धारका नाममा हुने लुटको पर्दाफास! कसले कति लुट्यो पुरा विवरण

आजको खबर   |    प्रकाशित : २०७५ पुष २ गते ५:२२

काठमाडाैं । पदयात्रा र पर्वतारोहणमा जाने पर्यटकलाई लेक लाग्न सक्छ, उनीहरू बिरामी हुन सक्छन् वा दुर्घटनामा पर्न सक्छन्, तर पर्यटकलाई योजनाबद्ध रूपमा औषधि खुवाएर बिरामी पारी उद्धारका नाममा पैसा असुल्ने गिरोह सक्रिय रहेको गुनासो बढेपछि पर्यटन मन्त्रालयले गत जेठमा सत्य–तथ्य विवरण पत्ता लगाई कारबाहीको सिफारिस गर्न समिति बनाएको थियो ।

पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा गठित समितिमा पर्यटन विभागका महानिर्देशक डुन्डुराज घिमिरे, राजस्व विभागका उपमहानिर्देशक यज्ञप्रसाद ढुंगेल, नेपाल प्रहरीका डिआइजी मनोज न्यौपाने, नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक सुवास झा सदस्य तथा पर्यटन मन्त्रालयका उपसचिव प्रकाश शर्मा ढकाल सदस्यसचिव थिए । उद्धारका नाममा भएका लुटको पर्दाफास गर्दै समितिले तयार पारेको प्रतिवेदन अाजकाे नयाँ पत्रिकाले छापेकाे ।

कसले कति कसरि लुट्यो हेर्नुहोस पुरा विवरण
-हेली एभरेस्ट : दुई हजार दुई सय ३० उद्धार, बिरामीको विवरण छैन सन् २०१५ देखि २०१८ मे ३० सम्म साढे तीन वर्षमा यो हेलिकोप्टरले दुई हजार दुई सय ३० उद्धार उडान गरेको छ । तर, बिरामी कुन अस्पताल लगियो भन्ने विवरण छैन । जब कि, पर्यटकका नामबाट रुटअनुसार ७६ हजारदेखि आठ लाखसम्म असुल गरिएको छ ।

-मनाङ एयर : एक हजार नौ सय १० उद्धार, प्रतिउडान नौ लाखसम्म असुल
मनाङ एयरले यो अवधिमा एक हजार नौ सय १० उद्धार उडान गरेको छ । सरकारी टोलीले नमुना परीक्षण गर्दा रुटअनुसार एक उद्धारको नौ लाख रुपैयाँसम्म संकलन गरिएको पाएको छ । केही बिरामीलाई स्वाकोन, नर्भिक, वयोधा अस्पतालमा लगेको जनाए पनि अधिकांश बिरामीलाई कहाँ लगियो भन्ने जानकारी दिएको छैन ।

-अल्टिच्युड एयर : तीन सय ८३ उद्धार, तर अस्पतालको ठेगान छैन
साढे तीन वर्षमा तीन सय ८३ उद्धार उडान गरेको यो हेलिकोप्टर कम्पनीले बिरामी कुन अस्पताल लगियो भन्ने जानकारी दिएको छैन । प्रतिउडान एक लाख ५० हजारदेखि पाँच लाख ६० हजारसम्म संकलन गरेको छ ।

सिम्रिक एयर : एक उडानबाट २४ लाख १६ हजारसम्म असुली
यो एयरलाइन्सले सो अवधिमा तीन सय ५१ उद्धार उडान गरी पर्यटकबाट एउटा रुटको ७६ हजारदेखि २४ लाख १६ हजारसम्म रकम उठाएको छ । तर, बिरामीलाई कुन अस्पताल लगियो भन्ने विवरण उल्लेख छैन ।

-एयर डाइनेस्टी : एक हजार तीन सय ४५ उद्धार, १० लाखसम्म असुली
सन् २०१५ देखि २०१८ मे ३० सम्म साढे तीन वर्षमा एक हजार तीन सय ४५ उद्धार उडान गरेको छ । प्रतिउडान एक लाख ५० हजारदेखि १० लाखसम्म लिएर केही बिरामीलाई ग्रान्डी, टिचिङ, मेडिसिटी, मणिपाल र वयोधा हस्पिटलमा लगिएको छ । तर, उद्धार गरेर ल्याइएका धेरै बिरामी कहाँ लगिएको भन्ने जानकारी दिएको छैन ।

-फिस्टेल एयर : पाँच सय ११ उद्धार, बिरामी स्वाकोन, नर्भिक र वयोधामा
सो अवधिमा फिस्टेल एयरले पाँच सय ११ उद्धार उडान गरेको छ । रुटअनुसार एक लाख ६० हजारदेखि ६ लाखसम्म लिएर उद्धार गरिएको बिरामीलाई स्वाकोन, नर्भिक, वयोधा अस्पतालमा लगिएको छ । तर, धेरै बिरामी कहाँ लगियो भन्ने जानकारी दिएको छैन ।

-माउन्टेन हेलिकोप्टर : दुई सय ९६ उद्धार, प्रतिउडान साढे सात लाखसम्म असुली
सन् २०१५ देखि २०१८ मे ३० सम्म माउन्टेन एयरले दुई सय ९६ उद्धार उडान गरेको छ । एउटा रुटको सात हजार पाँच सय डलर अर्थात् सात लाख ५० हजारसम्म असुलेको छ । यो हेलिकोप्टरले टिचिङ र गंगालाल मात्र होइन, ग्रान्डी, वयोधा, मेडिसिटी र न्युरो अस्पतालमा बिरामी ओसारेको छ ।

-प्रभु हेलिकोप्टर : एक सय ६२ उडान, प्रतिउडान तीन लाख ६० हजारसम्म असुली
सो अवधिमा प्रभु हेलिकोप्टरले एक सय ६२ उद्धार उडान गरी एक उडानको तीन लाख ६० हजारसम्म रकम लिएको छ । तर, बिरामीलाई कुन अस्पताल लगियो भन्ने जानकारी माग्दा पनि सरकारलाई दिएको छैन ।

-श्री एयरलाइन्सका २७ उडान, कैलाश हेलिकोप्टरका दुई महिनामै १९ उडान
सो अवधिमा श्री एयरलायन्सले २७ उद्धार उडान गरेको छ । बिरामीबाट एक लाख ८० हजारदेखि १५ लाखसम्म उठाएर सिबेक, ग्रान्डी र नर्भिक अस्पतालमा लगेको छ । सन् २०१८ अप्रिल र मेमा मात्रै कैलाश हेलिकोप्टरले १९ उद्धार उडान गरेको छ । एउटा रुटको दुई लाख ५० हजारदेखि १७ लाखसम्म रकम असुलेको छ । समाचार श्रोत :- नयाँ पत्रिका

२०७५ पुष २ गते ५:२२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर