वैदेशिक रोजगार : अब नेपालीका लागि बाध्यता होइन, रोजाइको यात्रा

आजको खबर   |    प्रकाशित : २०७५ पुष ३ गते ११:५९

काठमाडौं। वैदेशिक रोजगारी नेपालीका लागि रोजाइ नभएर बाध्यकारी रहँदै आएको छ। नेपालमै बसेर श्रम गर्ने चाहना भएर पनि कामको खोजीमा नेपाली कामदार विश्वका विभिन्न मुलुकमा जाने गरेका छन् । वैदेशिक रोजगारको क्रममा जाने कामदार हेपाइ, अपमान, गालीगलौजलगायतका समस्यामा पर्ने गरेका छन्।

वैदेशिक रोजगार मात्र नभएर विभिन्न व्यवसाय, भ्रमण वा शिक्षा हासिल गर्न जाने सबै मानिसले सम्मानपूर्ण जीवन जीउन पाएका छैनन्।
एक देशबाट अर्को देशमा काम वा विभिन्न शीलशीलामा पुग्ने गरेका सबै नागरिकले सम्मानजनक र मर्यादित जीवन जिउन पाउनु पर्छ भन्ने धारणालाई कायम राख्न संयुक्त राष्ट्र संघको महासभाले डिसेम्बर १८ लाई आप्रवासन दिवसका रुपमा मनाउने निर्णय गरेको थियो।

सोही निर्णय अनुरुप अन्तर्राष्ट्रिय आप्रवासन दिवस नेपाल लगायत विश्वका विभिन्न मुलुकमा १८ वर्षदेखि विभिन्न कार्यक्रम गरी मनाइँदै आएइको छ। वैदेशिक रोजगारमा दैनिक १ हजार भन्दाबढी नेपाली कामदार कामको खोजीमा विभिन्न मुलुकका लागि श्रम स्वीकृति लिएर जाने गरेका छन्। यसरी ठूलो संख्यामा विदेशीने नेपाली कामदारको वैदेशिक रोजगारको यात्रा सुरक्षित व्यबस्थित र मर्यादित बनाउँन निकै चुनौतीपूर्ण बन्दै गएको छ।

वैदेशिक रोजगारका क्रममा विभिन्न मुलुकमा पुग्ने गरेका नेपाली कामदारले निकै चुनौतीपूर्ण यात्राको सामना गर्नु परेको छ। एउटा काम भनेर अर्कै काममा पठाउने कारणले नेपाली कामदार अन्य मुलुकमा हेपिनुपर्ने, कष्टकर पीडा खेप्नुपर्ने समस्या छन्। तर अब यस्ता समस्या निराकरण गर्न सरकारले पहल गर्ने भएको छ।

श्रम मन्त्रालय, वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड, वैदेशिक रोजगार व्यवसाय संघ र वैदेशिक रोजगारका क्रममा समस्यामा परेका नेपाली कामदारको उद्धारको लागि स्थापित विभिन्न निजी संस्थाहरु, कुटनीतिक नियोगले समन्वय गर्दै सुरक्षित, व्यवस्थित र मर्यादित आप्रवासन यात्रा तय हुने भएको हो।

श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले वैदेशिक आप्रवासन दिवसको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै आप्रवासनलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन सरकारले पहल गरिरहेको बताए। मन्त्री विष्टले नेपालले कोलम्बो प्रोसेसलगायत जिसिएम महासभामा सम्मानजनक र शून्य लागतमा आप्रवासनको सुरुवात गर्नुपर्ने विषयलाई गम्भिरता पूर्वक उठाएको बताए।

श्रमिकमात्र नभएर अल्पविकशित मुलुकका ठूलाठूला पदमा आसिन व्यक्तिसमेत विदेश भ्रमणका क्रममा विकसित मुलुकमा जाँदा हेपिनुपर्ने समस्या रहेको मन्त्री विष्टले बताए। यस्ता समस्याको हल गर्न सरकारले पहल गरिरहेको मन्त्री विष्टको भनाइ थियो। विकसित वा अल्पविकसित सबै मुलुकका सबै नागरिकले सम्मानपूर्ण व्यवहार पाउनुपर्नेमा मन्त्री विष्टको जोड छ। अबको बाटो भनेको वैदेशिक रोजगार तथा आप्रवासनका क्षेत्रमा सम्मानजनक हुने मन्त्री विष्टको बुझाइ छ।

‘एउटा देशबाट अर्को देशमा जाँदा जुनसुकै देशका नागरिकले संसारभरका जुनसुकै देशमा पनि आत्मसम्मान र गौरवका साथ मर्यादित जीवन जिउन पाउने अवस्था सिर्जना हुन अब धेरै टाढा छैन,’ उनले भने। आप्रासन दिवसका अबसरमा आयोजित कार्यक्रममा बोल्दै श्रम सचिव महेश दाहालले वैदेशिक रोजगार तथा आप्रवासन संसार भरिकै महत्वपूर्ण विषय भएको दावी गरे।

‘वैदेशिक रोजगार रोकेर रोकिने विषय भने होइन,’ उनले भने, ‘जनताको अधिकारको विषय हो। तर नेपालमा बाध्यकारी वैदेशिक रोजगारको अबस्था छ। यो चाँडै अन्त्य हुन्छ । नेपाली कामदार बाध्यकारी नभएर रोजाइको सम्मानजनक वैदेशिक रोजागारको यात्रा गर्न पाउने व्यबस्था सरकारले गर्दैछ।’

सरकारले केही वर्ष अगाडिदेखि नै वैदेशिक रोजगार तथा आप्रवासनका क्षेत्रमा सुधारका लागि ल्याएको प्रयास सोचे अनुकुल प्रभावकारी हुन नसकेको बताउँदै वैदेशिक रोजगारका क्षेत्रमा सुधारका लागि वैदेशिक रोजगारको एउटा पाटो मात्र नभएर एउटा सिंगो चक्र नै सुधार गर्नु पर्ने सचिव दाहालले बताए।

वैदेशिक रोजगारलाई रोक्ने भन्दा पनि अबको सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगारलाई जोड दिनुपर्ने सचिव दाहालको भनाइ छ।
योजना आयोगका पूर्व सदस्य तथा श्रमविज्ञ डाः गणेश गुरुङले वैदेशिक रोजगारीका सम्बन्धमा तय भएका नीति नियमहरु कार्यान्वयनमा फितलो हुँदा वैदेशिक रोजगार नै चुनौतिपूर्ण बन्दै गएको बताए।

वैदेशिक रोजगारका लागि तर्जुमा भएका नीति नियमहरुको प्रभावकारी कार्यान्वयन र अनुगमनले नै अबको सुरक्षित व्यबस्थित र मर्यादित वैदेशिक रोजगारको यात्राको बाटो भएको श्रमविद् गुरुङको भनाइ छ।

वैदेशिक रोजगारका लागि गएका महिला कामदारको हकहितका रुपमा काम गर्दै आएको पौरखि संस्थाकी अध्यक्ष मन्जु गुरुङले वैदेशिक रोजगारमा महिला र पुरुषलाई समान व्यबहार गरिनुपर्ने बताउँदै विभिन्न खाडी मुलुकमा महिला कामदारलाई घरेलु कामदारका रुपमा जान रोक लगाएसँगै महिला कामदार भारत, चीन र श्रीलंका हुँदै अबैधानिक रुपमा जानेक्रम बढेको र महिला बेचबिखन तथा झन् हिंसामा पर्ने क्रम बढ्दै गएको बताइन्।
नेपालमा यसरी सुरुभयो आप्रासन
सन् १२६० देखि नै नेपालीहरु वैदेशिक रोजगारमा जानेक्रम सुरु भएको पाइन्छ। चीनको तिब्बतमा ७ सय ५९ वर्ष अगाडी अरनिको नेतृत्वमा ८० जना मुर्तिकारहरु गएपछि देखि नेपालीहरु रोजगारका लागि विभिन्न मुलुकमा पुग्ने चलनको सुरुवात भएको पाइन्छ।

नेपालीको चीन लगाएत भारतबाट सुरु भएको वैदेशिक रोजगारको यात्रा हालसम्म निरन्तर रुपमा बढ्दै गएको छ। विश्वमा बढ्दो सूचना प्रविधिको विकाससँगै रोजगारीका लागि मात्र नभएर विश्वका मानिसहरु भ्रमण, अध्ययन, बसाइसराई लगाएतका आप्रवासनका आयामहरु बढ्दै गएका छन्।
यो क्रम नेपालमा मात्र नभएर विश्वमा नै बढ्दै गएको पाइन्छ । आप्रवासन समस्या नभएर मानव अधिकारकै स्वरुप भएको विज्ञहरुको धारणा छ।
वैदेशिक रोजगारका क्रममा सुरुसुरुमा नेपाली भारत, चीन, भूटान, म्यानमार लगाएतका केही सीमित देशहरुमा मात्र जाने गरेको पाइन्छ। त्यो समयमा पशुपालन र कृषि लगाएतका क्षेत्रमा नेपाली कामदारहरु विदेशीने गरेको उल्लेख छ। भारतमा ब्रिटिस सेनाका रुपमा समेत नेपालीहरु जानेक्रम (सन् १९१४ देखि १९१६) सुगौली सन्धि पछि चलेको पाइन्छ । हालसम्म पनि नेपाली युवाहरु भारतमा ब्रिटिस सेनाका रुपमा जानेक्रम चलिरहेको छ ।

विस २०४६ सालदेखि रोजगारीका खोजीमा नेपाली युवा विश्वका १ सय ७२ राष्ट्रमा पुग्ने सरकारी तथ्यांक छ। वार्षिक साढे पाँचलाख नेपाली युवाहरु वैदेशिक रोजगारका लागि जाने गरेको सरकारी तथ्यांक छ । वैदेशिक रोजगारको लागि झण्डै ४० लाख भन्दाबढी नेपाली कामदारहरु वैदेशिक रोजगारीमा छन् ।

२०७५ पुष ३ गते ११:५९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर