काँग्रेस विवाद : अनावश्यक शंका नगर्न संस्थापन पक्षको आग्रह

आजको खबर   |    प्रकाशित : २०७६ असार २० गते ७:१०

काठमाडौं। नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीका रिक्त संरचनाको पदपूर्ति तदर्थ समितिमार्फत हुने आशंका गरिहेकै बेला संस्थापन पक्षले विधानअनुसार नै अघि बढ्ने बताएको छ। इतर समूहले रिक्त संरचनाको पदपूर्ति तदर्थ समितिमार्फत गरिए मान्य नहुने भन्दै असन्तुष्टि पोखिरहँदा संस्थापन पक्षले विधानले गरेको व्यवस्थाअनुसार नै पदपूर्ति गरिने प्रस्ट्याएको हो।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार ‘पार्टी संरचना निर्माणबारे अस्पष्टता र भ्रम निवाराणार्थ’ भन्दै जारी गरेको विज्ञप्तिमा विधानबमोजिम नै संरचनाहरू गठन गरिने उल्लेख छ।

‘नेपाली कांग्रेसको विधानको धारा ७२ को ४ ले पार्टी संगठनको अन्तरिम व्यवस्था बारेमा प्रस्ट व्यवस्था गरेको छ । नेपालको संविधान बमोजिमका नवीन संरचनाहरू पार्टीको विधानले निर्दिष्ट गरेको प्रस्ट व्यवस्थाअनुरूप नै गठन हुनेछन्,’ उनले विज्ञप्तिमार्फत भनेका छन्, ‘सोभन्दा बाहिर सभापतिले तदर्थ समिति गठन गर्न चाहेको भन्ने अभिव्यक्ति र समाचारहरू विल्कुलै निराधार यसकारण पनि छ कि नेपाली कांग्रेसको विधानमा पार्टीको नवीन संरचनाहरू गठनका लागि तदर्थ समितिको कुनै प्रावधान छैन।’

यसअघि रिक्त संरचनालाई संस्थापन पक्षले विधानविपरीत तदर्थ समितिमार्फत पूर्ति गर्न लागेको भन्दै सभापति शेरबहादुर देउवाविरुद्ध मोर्चाबन्दीमा रहेका नेताहरूले असन्तुष्टि जनाउँदै आएका थिए। गत मंगलबार गोंगबुमा बसेको संस्थापन इतर समूहको बैठकले रिक्त संरचनामा तदर्थ समिति मान्य नहुने निष्कर्ष निकाल्दै एकमतका साथ केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत हुने निर्णय गरेको थियो।

वैशाख २२ गते बस्ने कांग्रेस केन्द्रीय कार्यसमितिकोे बैठकले पार्टीको घरेलु सन्दर्भ र राष्ट्रिय राजनीतिका बारेमा जरुरी निर्णय गर्ने भन्दै प्रवक्ता शर्माले बैठकको पूर्वसन्ध्यामा विभिन्न माध्यमबाट सार्वजनिक भएका अस्पष्टता चिर्न विज्ञप्ति जारी गरिएको बताएका छन् । नेपालको संविधान र पार्टीको संशोधित विधान अनुरूपका पार्टी संरचनाहरू निर्माण गर्ने सम्बन्धमा बैठकले आवश्यक निर्णय लिने उनको भनाइ छ।

प्रवक्ता शर्माले पार्टीको संशोधित विधानको अन्तिम टुंगो भएपश्चात् केन्द्रीय समितिले विधानको कार्यान्वयनका लागि आवश्यक नियमावली संशोधन गर्न गठन गरेको मस्यौदा समितिले आगामी बैठकमा प्रतिवेदन प्रस्तुत गर्ने पनि जानकारी दिएका छन्। बैठकले नियमावली पारित गरेपछि पार्टीका सबै तहको संरचना निर्माण गर्न मार्ग प्रशस्त हुने विज्ञप्तिमा उल्लेख छ।

विधानले निर्दिष्ट गरेबमोजिम देशव्यापीरूपमा पार्टी संगठनको अन्तरिम व्यवस्था गर्दै कांग्रेसले दोस्रो चरणको राष्ट्रिय जागरण अभियानको सुरुवात गर्ने प्रवक्ता शर्माले जनाएका छन्। उनले कांग्रेसलाई समयानुकूल सबल र सुदृढ गर्दै अघि बढ्न केन्द्रीय कार्यसमितिको आगामी बैठकले पारदर्शी छलफल र बहसमार्फत आवश्यक निर्णय गर्ने पनि प्रस्ट पारेका छन्।

प्रवक्ता शर्माले वैशाख २२ गतेको केन्द्रीय कार्यसमिति बैठकमा नेपाल विद्यार्थी संघ (नेविसंघ) लगायतका भ्रातृ संगठनका बारेमा भने कुनै निर्णय नगरिने संकेत गरेका छन् । ‘केन्द्रीय समितिको बैठकलगत्तै नेपाल विद्यार्थी संघ लगायतका भ्रातृ संस्थाहरूबारे जरुरी निर्णय आवश्यक परामर्शपश्चात् हुनेछन्,’ विज्ञप्तिमा भनिएको छ।

२०७६ असार २० गते ७:१० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर